
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपा लगायतले गरिरहेको आन्दोलन वनमा स्याल कराएजस्तै भएको बताएका छन्।
उनले बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै वनमा चार वटा स्याल कराएर केही नभएजस्तै राप्रपा लगायतले गरिरहेको आन्दोलनले राजतन्त्र नफर्किने बताए।
‘रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ। तिनले कराएर केही हुँदैन। अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ,’ उनले भने, ‘स्वतन्त्र हुन नचाहेर रैती हुन पाऊँ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देखेपनि अब राजतन्त्र कहिल्यै फर्किंदैन।’