विश्वकप आयोजनाका सारथी क्यानडा र मेक्सिकोसँग ‘कर युद्ध’बारे ट्रम्प : प्रतियोगिता रोमाञ्चक हुनेछ

बिजमाण्डू
२०८२ बैशाख २ गते १४:३७ | Apr 15, 2025
विश्वकप आयोजनाका सारथी क्यानडा र मेक्सिकोसँग ‘कर युद्ध’बारे ट्रम्प : प्रतियोगिता रोमाञ्चक हुनेछ
Photo : AP


विश्वको सबैभन्दा ठूलो खेल इभन्टमा पर्छ फिफा विश्वकप। अबको संस्करणको विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा सन् २०२६ मा आयोजना हुँदैछ।

Tata
GBIME

तीन देशमा हुने यो प्रतियोगिता ऐतिहासिक हुने अनुमान गरिएको थियो। तर, नतिजा ठीक उल्टो भइरहेको छ। अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै यी देशबीच व्यापार युद्धको स्थिति छ।

अघिल्लो महिनायता ट्रम्पले यी दुवै देशविरुद्ध २५ प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका थिए। यद्यपि पछि ट्रम्पले कर लागूलाई केही समयका लागि रोक्ने घोषणा गरे।

त्यसअघि ‘गल्फ अफ मेक्सिको’ को नाम फेरेर ‘गल्फ अफ अमेरिका’ बनाउने एकतर्फी घोषणा गरेका ट्रम्पले क्यानडालाई ५१ औँ राज्य भनेर होच्याउँदै आएका छन्। यी देशबीच केही महिनायता एकअर्का विरुद्ध कडा शब्दमा वक्तव्यवाजी पनि चलिरहेको छ।

अमेरिकाले ट्यारिफको घोषणा गरेको केही दिनमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ट्रम्पलाई भेटेका थिए। त्यसपछिको पत्रकार सम्मेलनमा विश्वकप २०२६ को तयारीका लागि ‘टास्क फोर्स’ बनाउने घोषणा ट्रम्पले गरेका थिए।

आयोजक तीनदेशबीचको द्वन्दले विश्वकपको माहोलमा पार्ने असरबारे हल्का उत्तर दिएर ट्रम्प पन्छिए। ‘मलाई लाग्छ अहिलेको स्थितिले यसलाई अझ रोमाञ्चक बनाउनेछ। तनाव राम्रो कुरा हो,’ ट्रम्पले भने।

सन् २००२ मा दक्षिण कोरिया र जापानले विश्वकपको संयुक्त आयोजना गरेयता पहिलोपटक संयुक्त रुपमा ३ देशमा विश्वकप आयोजना हुँदैछ। यद्यपि, त्यो निर्णय हुँदा हालसम्मकै विवादास्पद विश्वकप बन्न सक्ने ‘प्रेडिक्सन’ गरिएको थियो।

यसमा पूर्वाधारलाई मुख्य एजेन्डा बनाइएको थियो। पछिल्लो पटक कतारले विश्वकप आयोजना गर्दा पनि उत्तिकै विवाद र आलोचना खेपेको थियो। तर, निर्धारित समयमै पूर्वाधार निर्माण गरेर कतारले विश्वकप सफलताका साथ आयोजना गरेरै छाड्यो।

२०२६ को विश्वकप भूगोलका हिसाबले मात्र ठूलो छैन, सहभागी टोलीको संख्याले पनि यो ठूलो छ। पहिलोपटक विश्वकपमा यसपटक ४८ टोली सहभागी हुँदैछन्। अर्थात, अघिल्लो संस्करणको भन्दा १६ टोली धेरै।

सन् २०१८ मा अमेरिका, मेक्सिको र क्यानडाले विश्वकप आयोजनाको जिम्मेवारी १३४ भोटले बिड गर्दा यी तीन देश एकठाउँमा थिए।

अहिले अवस्था फेरिएको छ। अहिलेको अवस्थाले आयोजक राष्ट्रहरुबीच नै ‘ट्रेड वार’को खतरा बलियो छ।

विश्वकपको आयोजना पहिले आयोजना गरेको कुनै पनि राष्ट्रको लागि ठूलो आर्थिक उन्नतिको बाटो हो। यसअघि विश्वकप आयोजना गरेका देशहरुमा आर्थिक ‘बुस्ट’ देखिँदै आएको छ। विश्वकप २०२६ ले ११ अर्ब डलर ल्याउने अनुमान गरिएको छ, जुन २०२२ को कतार विश्वकपभन्दा ४ अर्ब डलर बढी हो। २०२६ मा आउँदा नयाँ शुल्क र आर्थिक नीतिहरू लागू भए पूर्वाधार, पर्यटन, प्रतियोगिताको लागि प्रायोजनलगायतका धेरै कुराहरूमा असर गर्नेछ।