
काठमाडौं। पूर्वाधार विकासलाई सरकारले तीव्रता दिन सकेको छैन। अधिकांश विकास आयोजना कछुवाको गतिमा छन्। सम्झौता अनुसारको म्यादमा काम सकिएका उदाहरण खासै छैनन्। त्यहीकारण जनतामा अहिलेको राजनीतिक नेतृत्वलाई लिएर देशमा केही हुँदैन भन्ने भाष्य छ।
विकास आयोजना बन्दै नबनेका भने होइनन्। मुग्लिन-पोखरा सडक स्तरोन्नतिले अहिले रफ्तार लिएको छ। यो सडक खण्डको अधिकांश भाग कालोपत्रे भएको छ।
यस्तै नारायणगढ-बुटवल सडक स्तरोन्नतिमा पनि पछिल्लो समय निर्माण कम्पनीले फटाफट काम गरिरहेको छ। पूर्वाधार विकासमा नागढुंगा-नौबिसे सुरुङ मार्ग नयाँ किरणका रुपमा देखा पर्दैछ।
देशकै पहिलो नागढुंगा-नौबिसे सुरुङ मार्ग अहिले निर्माणको अन्तिम चरणमा छ। स्थानीयको पटक पटकको अवरोधका बावजुद् सुरुङ मार्गको काम अन्तिममा पुगेको हो।
आयोजनाका इन्जिनियर सन्जय पन्थीले कुनै अवरोध नभए सुरुङ मार्ग दशैं अगाडि सञ्चालनमा ल्याउने ल्याउने तयारी रहेको बताए।
‘काममा अवरोध नभएमा सुरुङ मार्ग दशैं अगाडि संचालनमा आउनेछ,’ उनले भने, ‘अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणलगायत काम अन्तिम चरणमा छन्।’

जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङ मार्ग निर्माण गरिरहेको हो। मुख्य सुरुङ २.६८८ किलोमिटर र आपतकालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ।
नेपालसँग यसअघि सुरुङ मार्ग बनाएको अनुभव थिएन। त्यसैले पनि नागढुंगा-नौबिसे सुरुङ मार्गलाई निक्कै महत्व दिइएको छ। यसको निर्माण र सञ्चालनले देशका अन्य भागमा पनि आवश्यकता अनुसार सुरुङ मार्ग निर्माणका लागि आधार तयार हुनेछ।
नागढुंगा-नौबिसे सुरुङ मार्ग सञ्चालनमा आएपछि काठमाडौंको लाइफलाइनको रुपमा रहेको सडकको यात्रा सहज हुनेछ।
नौबिसे-नागढुङ्गाको घुमाउरो र लामो सडकको तुलनामा छोटो र सिधा सुरुङ मार्गले इन्धन खपत घट्नेछ। सवारी साधनको मर्मत खर्च कम हुनेछ। समय पनि बचत हुनेछ। सुरुङ मार्गले समग्रमा अर्थतन्त्रमा सहयोग पुग्नेछ।

सुरुङ मार्ग संचालनका लागि आवश्यक कार्यविधिको मस्यौदा यसअघि नै तयार गरिसकिएको छ। मस्यौदालाई मन्त्रिपरिषद्ले अन्तिम रुप दिन बाँकी छ।
स्थानीयले अवरोध नगरेको भए सम्भवत: यतिखेर सुरुङ मार्ग सञ्चालनमा आइसकेको हुने थियो। काठमाडौं र धादिङका स्थानीयले मुआब्जादेखि खानेपानी आयोजना लगायत विभिन्न माग राखेर सुरुङ मार्ग निर्माणमा ६ पटक अवरोध गरिसकेका छन्। पछिल्लो पटक चैतमा महिना दिन जस्तो नै काम हुन दिइएन। जसका कारण सुरुङ मार्ग सञ्चालनको मिति धकेलिंदै आएको हो।
नागढुंगा-नौबिसे सुरुङ मार्गको काम अन्तिम चरणमा पुग्दा अर्को सुरुङ बनाउने काम धमाधम भइरहेको छ।

बुटवल पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबामा सुरुङ मार्ग छिचोल्ने काम माघमा सम्पन्न भएकामा अहिले कंक्रिटको काम भइरहेको छ।
यो सुरुङ मार्ग पनि २०८२ भित्र संचालनमा ल्याउने तयारी छ। सिद्धबाबामा सुरुङ मार्ग सञ्चालनमा आएपछि सिद्धार्थ राजमार्गको परिदृश्य फेरिनेछ।
फ्लाईओभर पनि अन्तिममा
नेपालमा सुरुङ मार्गसँगै फ्लाईओभर पनि पहिलो पटक बनाइएको छ। नागढुंगा-नौबिसे सुरुङ मार्ग अन्तर्गत बलम्बुमा निर्माणाधीन फ्लाईओभर दशैंसम्म संचालनमा ल्याउने तयारी छ।

फ्लाईओभरको ९६ प्रतिशत काम सम्पन्न भइसकेको इन्जिनियर पन्थीले जानकारी दिए।
‘सुरुङ मार्ग संचालनका लागि फ्लाईओभर पनि आवश्यक पर्छ। त्यसैले फ्लाईओभरको काम पनि सँगसँगै अगाडि बढाइएको छ। अब ४ प्रतिशत काम बाँकी छ। एप्रोच रोड धमाधम बन्दैछन्,’ उनले भने।

ललितपुरको ग्वार्कोमा फ्लाईओभरकै झल्को दिने ओभर पास निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यस्तै बुटवल- गोरुसिंगे-चन्द्रौटा सडक फ्लाईओभर पनि बनाउने गरी स्तरोन्नति गर्न थालिएको छ।