यू-१९ विश्वकप छनोटमा यूएईमाथि नेपालको जित, यायिनको शतक वर्षाले खेर

बिजमाण्डू
२०८१ चैत्र ३१ गते १८:२७ | Apr 13, 2025
यू-१९ विश्वकप छनोटमा यूएईमाथि नेपालको जित, यायिनको शतक वर्षाले खेर


काठमाडौं। यू-१९ विश्वकप छनोटको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले मुस्किल जित निकालेको छ। पाँच देश सहभागी छनोट अन्तर्गत नेपालले आइतबार यूएईलाई डीएलएस मेथडबाट ५ रनले हराएको हो।

Tata
GBIME

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ औँ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १६५ रन बनाएपछि वर्षाका कारण बाँकी खेल हुन नसक्दा नेपाल डीएलएस मेथडका आधारमा विजयी भएको हो।

तल्लो मुलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्ता दिएको थियो।

आउट फिल्ड भिजेका कारण निर्धारित समयमा खेल सुरु हुन सकेन। मैदानको केही भागमा पानी जमेकाले खेल सुरु हुन ढिला भएको थियो। माथिल्लो मैदानमा भने ओमन र अफगानिस्तानबीचको खेल निर्धारित समयमै सुरु भएको थियो।

२ घण्टा ढिला गरी सुरु भएको खेल ४० ओभरमा छोट्याइएको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २०० रन बनायो।

नेपालका लागि कप्तान नरेन भट्टले सर्वाधिक ६७, दिल्साद अलीले ३४, शाहिल पटेलले ३२ र निरजकुमार यादवले १८ रन बनाए।

बलिङतर्फ उद्दिस सुरीले सर्वाधिक ३, युग शर्माले २ तथा अलिसास्गर सुमस र करण धिमनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको यूएईका लागि यायिन किरण राईले अविजित १०४ रनको इनिङ्स खेले। त्यस्तै, मोहम्मद रायन खानले ३४ र करणले १५ रन बनाए।

अर्को खेलमा अफगानिस्तानले ओमनलाई ८ विकेटले हराएको थियो।