
काठमाडौं। नेपाली क्रिकेट टोली हङकङ सिरिजमा च्याम्पियन बन्न चुकेको छ। चारदेशीय टी-२० सिरिज अन्तर्गत फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै कुवेत च्याम्पियन बनेको छ।
हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा भएको खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर कुवेतलाई पहिले ब्याटिङको निम्ता दिएका थिए।
कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। रविजा सन्दरुवनले सर्वाधिक ६३ रन, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३ र मित भवसारले १६ रन बनाए।
बलिङतर्फ सोमपाल कामी र नन्दन यादवले समान २ तथा करण केसी र कुशल भुर्तेलले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालको सुरुवात राम्रो हुन सकेन। ४.५ ओभरमा २८-५ को खराब अवस्थामा पुगिसकेको नेपालको पारी बसीरले उकासे। उनले ८० रन बनाए। यस्तै नन्दन यादवले ३७ र आशिफ शेखले २१ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको रन नै जोड्न सकेनन्। नेपाल १९.३ ओभरमा १७१ रनमा अलआउट हुन पुग्यो।
कुवेतका अनुदीप चेन्थामाराले सर्वाधिक ३, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान २ तथा मोहम्मद सफिक र मोहम्मद अस्लमले समान १ विकेट लिए।
सिरिजमा नेपाल र कुवेत शीर्ष दुईमा रहँदै फाइनल पुगेका थिए।
लिग चरणमा नेपालले कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो।
अर्कातर्फ कुवेतले हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले हराएको थियो।
आइतबार सम्पन्न अर्को खेलमा हङकङलाई हराउँदै कतार तेस्रो भएको छ।