
काठमाडौं। नेपाली क्रिकेट टोलीलाई कुवेतले १ सय ८६ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। चार देशीय टी-२० सिरिज अन्तर्गत हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा सुरुवाती ब्याटिङमा उत्रिएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रन बनाएको हो।
खेलमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
सुरुवाती ब्याटिङमा उत्रिएको कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक ४१ रन बनाउँदा मिट भास्वरले ३५, बिलाल ताहिरले ३२, रविजा सन्दरुवनले २६ तथा कप्तान मोहम्मद अस्लमले १७ रन बनाए।
बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले समान १ विकेट लिए।
आजको खेलमा दुबै टोली लगातार दोस्रो जितको खोजीमा छन्। नेपालले आफ्नो पहिलो खेलमा कतारमाथि ८ विकेटको प्रभावशाली जित निकालेको थियो। अर्कोतर्फ कुवेतले घरेलु टोली हङकङलाई ४ विकेटले हराएर प्रभावशाली सुरुवात गरेको थियो।
नेपाल जवाफी ब्याटिङमा उत्रिँदैछ।