एनएसएल : शीर्ष स्थानको चितवनलाई आज गोलविहीन झापाको चुनौती

बिजमाण्डू
२०८१ चैत्र २४ गते १३:११ | Apr 6, 2025
एनएसएल : शीर्ष स्थानको चितवनलाई आज गोलविहीन झापाको चुनौती


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र झापा एफसी आमनेसामने हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे खेल सुरु हुनेछ।

Tata
GBIME

झापा र चितवनलाई जोड्ने कडी हुनेछन् : अञ्जन बिस्ट। अघिल्लो संस्करणमा झापाको मार्की र कप्तान रहेका अञ्जन यसपाला चितवनमा छन्। चितवनमा पनि उनी मार्की र कप्तानको जिम्मेवारीमा छन्।

चितवन लिगमा लगातार २ जित निकाल्दै तालिकाको शीर्ष स्थानमा छ। चितवनले आफ्नो पहिलो खेलमा पोखरा थण्डर्सलाई र दोस्रो खेलमा बुटवल लुम्बिनीमाथि साँघुरो जित निकालेको थियो। आजको खेलमा जित निकाल्न सके चितवन प्लेअफका लागि बलियो अवस्थामा पुग्नेछ।

अर्कोतर्फ झापाले जारी संस्करणमा २ खेल खेल्दा २ अंक बनाएको छ। उसले हालसम्म न गोल गरेको छ, न गोल ब्यहोरेको छ। पहिलो खेलमा बुटवल लुम्बिनी र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग झापाले गोलरहित बराबरी खेलेको थियो।

झापासँग लाकेन लिम्बू, रितिक खड्का जस्ता प्रभावशाली नेपाली खेलाडी र अहजी गेरो, आर्सिक लेजर जस्ता विदेशी खेलाडी छन्।

अर्कोतर्फ चितवनमा एनएसएलको अघिल्लो संस्करणबाटै प्रभावशाली बनेका टोरिक जेब्रिइन छन्। त्यस्तै, जोनाथन क्याम्पबेलले पनि प्रभावशाली प्रदर्शन गरिरहँदा अञ्जन बिस्ट, सुमित श्रेष्ठजस्ता प्रभावशाली छन्।

खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ। रंगशालामा गएर खेल हेर्न साधारणतर्फ ३ सय र भीआईपीतर्फ ६ सय रुपैयाँ शुल्क तोकिएको छ।