
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकालेको हो।
पहिलो हाफमा बुटवलले सेटपिसमा केही राम्रा अवसर बनाएको थियो। ४०औँ मिनेटमा एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलपोस्टमा ठोक्किएर बाहिरिँदा बुटवल खेलमा अग्रता लिने चुकेको थियो।
पहिलो हाफको इन्ज्युरी समयमा बुटवलका डिफेन्डर अघि बढिसकेको अवस्थामा चितवनका भिक्टर मनसारेले सेन्टरभन्दा केही अगाडि पास पाएका थिए। तर, बुटवलका गोलकिपर दीप कार्कीले अघि बढ्दै बल क्लियर गर्न सफल भए।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो।
दोस्रो हाफमा दुबै टोलीबाट केही मुभ भने बनाए। चितवनले अमल नाइटको स्थानमा विशाल श्रेष्ठलाई गोलकिपरमा पठाउँदा आक्रमणमा विदेशी खेलाडी राख्दै बुटवललाई दोस्रो हाफको अन्त्यतिर दबाब बढाएको थियो। तर, गोलका लागि भने संघर्ष गर्यो।
खेलमा १२ मिनेटको इन्ज्युरी समय दिइएको थियो जसमा पहिलो मिनेटमै चितवनले अग्रता बनायो। बुटवलका डिफेन्डरले क्लियर गर्न नसकेको बल पेनाल्टी क्षेत्रभन्दा बाहिर चितवनका टोरिक जेब्रिइनले पाएपछि सिधै गोल पोस्टमा प्रहार गरे। यसलाई बुटवलका गोलकिपर दीप कार्कीले जोगाउन सकेनन्।
जितसँगै २ खेलबाट ६ अंक बनाएको चितवन अंक तालिकाको शीर्ष स्थानमा छ। अर्कोतर्फ पहिलो खेलमा झापासँग गोलरहित बराबरी खेलेको बुटवलले दोस्रो खेलमा धनगढी एफसीसँग ४-१ गोलको हार ब्यहोरेको थियो। यो हारसँग तीन खेलबाट १ अंक बनाउँदै बुटवल तालिकाको छैटौं स्थानमा छ। प्लेअफ पुग्नका लागि अगाडिको खेलमा बुटवललाई थप दबाब बढेको छ।