
काठमाडौं। पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको औसत आधार दर २.७ प्रतिशत विन्दुले घटेको छ। २०८०/०८१ को पुसमा औसत ९.४४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको आधार दर अहिले ६.७४ प्रतिशतमा झरेको हो।
आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएसँगै बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले लागत घटेर आधार दर तल आएको हो।
बैंकहरुले पछिल्लो डेढ वर्षयता निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। जसले गर्दा आधार दर घटेको हो।
अहिले तीनवटा वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा तल छ। स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ६ प्रतिशतभन्दा तल आएको हो।
स्ट्याण्डर्ड चार्टर्डको आधार दर ५.१३ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको ५.६४ प्रतिशत र एभरेष्ट बैंकको ५.८४ प्रतिशतमा झरेको छ।
पोहोर पुसमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको आधार दर ७.५६, राष्ट्रिय वाणिज्य बैंकको ८.२५ र एभरेष्ट बैंकको ८.८७ प्रतिशत थियो।
एनआईसी एशिया र हिमालयन बैंकको आधार दर ७.५२ प्रतिशत छ।
आधार दर घट्नु भनेको नै ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। तर कर्जाको माग अपेक्षाजनक रुपमा बढ्न सकेको छैन्।
६/७ प्रतिशत स्थिर ब्याजदरको स्किम ल्याउँदा समेत कर्जाको माग बढ्न नसकेको बैंकरहरु बताउँछन्। राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनालले ब्याजदर घटेपनि कर्जाको माग खासै बढ्न नसकेको बताए।
‘अपेक्षाजनक रुपमा कर्जाको माग बढ्न सकेको छैन। माग नबढेपछि ब्याजदर घट्ने नै भयो,’ उनले भने, ‘निक्षेपको ब्याजदर घट्दा त्यसको प्रभाव सिधै कर्जाको ब्याजदर पर्छ। लागत कम हुँदा आधार दर कम भइ कर्जा सस्तिएको हो।’
कुन बैंकको बेसरेट कति ?
वाणिज्य बैंक | २०८१/०८२ | २०८०/०८१ | फरक |
एनआईसी एसिया | ७.५२ | ९.६८ | -२.१६ |
प्रभु | ७.२६ | ९.४२ | -२.१६ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ६.५८ | ९.४१ | -२.८३ |
कुमारी | ७.१४ | १०.२८ | -३.१४ |
ग्लोबल आइएमई | ६.९५ | ९.६ | -२.६५ |
एभरेष्ट | ५.८४ | ८.८७ | -३.०३ |
हिमालयन | ७.३ | १०.५९ | -३.२९ |
एनएमबि | ६.९२ | ९.९५ | -३.०३ |
नेपाल | ६.१६ | ८.५५ | -२.३९ |
लक्ष्मी सनराइज | ७.१७ | ९.९९ | -२.८२ |
सिटिजन्स | ७.३ | ९.८१ | -२.५१ |
नबिल | ६.१६ | ८.५५ | -२.३९ |
प्राइम कमर्सियल | ७.१२ | १०.३८ | -३.२६ |
सानिमा | ६.७९ | ९.२९ | -२.५ |
कृषि विकास | ६.६ | ९.८२ | -३.२२ |
नेपाल एसबिआई | ७.१४ | ९.६६ | -२.५२ |
माछापुच्छ्रे | ७.१४ | ९.७८ | -२.६४ |
राष्ट्रिय वाणिज्य | ५.६४ | ८.२५ | -२.६१ |
सिद्धार्थ | ६.९३ | ९.२८ | -२.३५ |
स्टान्डर्ड चाटर्ड | ५.१३ | ७.५६ | -२.४३ |
औसत | ६.७४ | ९.४४ | -२.७ |