एकीकृत भन्सार विन्दुमा व्यवस्थापक र एजेन्टबीच आरोपप्रत्यारोप, ‘अवाञ्छित शुल्क उठाइयो’

अनन्तराज न्यौपाने
२०८१ पुष २४ गते १७:५६ | Jan 8, 2025
एकीकृत भन्सार विन्दुमा व्यवस्थापक र एजेन्टबीच आरोपप्रत्यारोप, ‘अवाञ्छित शुल्क उठाइयो’

विराटनगर। विराटनगरको आईसीपी (एकीकृत भन्सार विन्दु)मा लजिस्टिक व्यवस्थापन, वेयर हाउस, लोडिङ–अनललोडिङ, पार्किङ लगायत कामको जिम्मा लिएको ट्रान्स नेपाल फ्रेट एन्ड सर्भिसेजले अवाञ्छित रूपमा शुल्क लिइरहेको आरोप लागेको छ।

Tata
GBIME
NLIC

ट्रान्स नेपालमाथि कहिले आफैँले ढुवानीका साधनको गल्ती नम्बर दर्ता गरेर, कहिले हुँदै नभएको नियम लगाएर र कहिले आफैँले काम ढिला गरिदिएर जरिवाना र शुल्क असुल्ने गरेको आरोप विराटनगर भन्सार एजेन्ट संघ र भन्सार एजेन्ट महासंघ नेपालले लगाएका हुन्।

आरोप नम्बर १

व्यवसायीले नेपाली नम्बरका ढुवानीका साधन भारततर्फ लगेर तिनमा सामान लोड गरेर भन्सार जाँचपासका लागि आईसीपीभित्र ल्याउन पाउने व्यवस्था छ।

यसरी नेपाली नम्बरका ढुवानीका साधन आईसीपीभित्र इन्ट्री गर्दा ट्रान्स नेपालका कर्मचारीले धेरैपटक भारतीय नम्बरका भनी उल्लेख गरिदिएका छन्। जस्तै ‘कोशी प्रदेश १ ख ३५०६’ नम्बरको ट्रकको इन्ट्री गर्नुछ भने ट्रकको नम्बर सही लेख्छन् तर विवरणमा ‘भारतीय नम्बर’ को भनी उल्लेख गरिदिन्छन्।

यता क्लियरिङ एजेन्टले प्रज्ञापनपत्र भर्दा नेपाली नम्बरको भनी उल्लेख गरेको हुन्छ र सोही अनुसार भन्सारको सिस्टममा अपलोड गरेको हुन्छ।

यसपछि जाँचपासको क्रममा भन्सार अधिकृतले अन्तिम स्वीकृति दिन खोज्दा सिस्टममा फरक विवरण देख्छन् र ढुवानीका साधनको विवरण सच्याएर ल्याउन भन्छन्। भन्सार अधिकृतले यसरी अन्तिम स्वीकृति दिनुलाई भन्सारको भाषामा ‘ग्रिन’ गर्नु भनिन्छ।

ट्रान्स नेपालले मालबाहकको नम्बर इन्ट्री गर्दा भारतीय र क्लियरिङ एजेन्टले नेपाली नम्बरको भनी उल्लेख गरेको हुन्छ। यसकारण भन्सारको सिस्टमले नै ढुवानीका साधनको ‘ओरिजिन’मा फरक परेको भन्दै ‘ग्रिन’ गर्न मान्दैन।

यसको निराकरणका लागि आईसीपीको भारततर्फको गेटमा इन्ट्री गर्न बसेका ट्रान्स नेपालका कर्मचारीसँग पुग्नुपर्छ र ढुवानी साधन नेपाली नम्बरको भनी सच्याइदिन अनुरोध गर्नुपर्छ। सच्याउँदा पार्किङ शुल्क बराबरको रकम तिर्नुपर्छ।

यसरी रकम तिर्दा ढुवानी साधन जति दिन आईसीपीमा बसेको छ, त्यति नै दिनको पार्किङ शुल्क लाग्छ।

यसपछि क्लियरिङ एजेन्ट फाराम (प्रज्ञापनपत्र) ग्रिन गराउन फेरि भन्सार अधिकृतको टेबुलमा पुग्छन्। भन्सार अधिकृतले ढुवानी साधनको फरक विवरण सच्चिइसकेको देखेपछि फाराम ग्रिन गरिदिन्छन् र जाँचपासको प्रक्रिया समाप्त हुन्छ।

सामान्यतया, ट्रान्स नेपालले आयात–निर्यातकर्तासित फाराम ग्रिन भइसकेपछि ढुवानीका साधनको पार्किङ शुल्क लिँदै आएको छ। यसअनुसार अब ट्रान्स नेपालले उक्त ग्रिन गरिएको फारामबाट फेरि पार्किङ शुल्क असुल गर्छ।

गेटमा खटिएका ट्रान्स नेपालका इन्ट्री गर्ने कर्मचारीको गल्तीमा व्यवसायीले दोहोरो शुल्क तिर्नुपर्छ। पहिले ढुवानी साधनको विवरण सच्याउँदा एक पटक तिरिसकेको हुन्छ, फाराम ग्रिन गरेपछि फेरि तिर्नुपर्छ।

भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव प्रविन जोशीले ट्रान्स नेपालका कर्मचारीको गल्तीका कारण आफूले धेरैपटक दोहोरो शुल्क तिरेको बताए।

‘गल्ती एकपटक वा दुईपटक हुनसक्छ। यसमा समस्या छैन तर सयौँ पटक एउटै गल्ती कसरी हुन्छ? यो ट्रान्स नेपालले गलत नियतले आफ्नो आम्दानी बढाउन गरेको बदमासी हो’, जोशीले भने।

उनले यसबारे आफूले पटकपटक कुरा उठाए पनि ट्रान्स नेपालका कर्मचारी हाम्रो नियम नै यही रहेको भन्दै पन्छिने गरेको भन्दै आक्रोश व्यक्त गरे।

जोशीका अनुसार ट्रान्स नेपालका कर्मचारीले भारतीय नम्बरका साधनको विवरण पनि गलत लेखिदिएर धेरै पटक दुःख दिएका छन्। यसले गर्दा व्यवसायी अनावश्यक रूपमा प्रक्रियागत झन्झटमा फसिरहेका छन् र दोहोरो शुल्क बुझाउन बाध्य भइरहेका छन्।

ट्रान्स नेपालका व्यवस्थापक लक्ष्मी सुब्बाले कम्पनीका तर्फबाट अहिलेसम्म कुनै पनि गल्ती नभएको र कम्पनीका कारणले कसैले दोहोरो शुल्क तिर्नु नपरेको जिकिर गरे।

उनले व्यवसायीका प्रतिनिधि र एजेन्टले नै प्रज्ञापनपत्रमा ढुवानीका साधनको गलत विवरण उल्लेख गर्ने गरेको बताए।

‘यसरी गलत विवरण भएको ढुवानी साधनलाई एम्प्टी एक्जिट (सामान खालि गरेर फर्किएको) भएको र नयाँ गाडी इन्ट्री भएको देखाउनु पर्छ। एम्प्टी एक्जिट गर्दा ट्रान्स नेपालको सिस्टमले पार्किङ शुल्क माग्छ। यो शुल्क नबुझाई एम्प्टी एक्जिट गर्न पाइँदैन। तर ट्रान्स नेपालले होइन व्यवसायीका प्रतिनिधि वा एजेन्टले गल्ती गरेर यस्तो अवस्था आइरहेको छ,’ सुब्बाले भने।

आरोप नम्बर २

कुनै आयातकर्ताले जाँचपासका लागि आईसीपीमा सामान ल्यायो तर भन्सारको सर्भर बिग्रिएर वा कुनै कारणले जाँचपास हुन सकेन। यसपछि आयातकर्ताले सामान आईसीपीको गोदाममा राख्यो र सामान ढुवानी गर्ने भारतीय नम्बरको ट्रक वा कन्टेनरलाई फिर्ता पठायो।

आयातकर्ताले भोलिपल्ट नेपाली नम्बरको मालवाहक ल्याएर सामान त्यसमा लोड गर्‍यो। तर यसपछि पनि कुनै कारणवश ४ दिनसम्म सामानको जाँचपास हुन सकेन र अन्तिममा पाचौँ दिन मात्र भयो। यसका कारण पाँच दिनसम्म आईसीपीमै गाडी होल्ड गरेर राख्नुपर्ने अवस्था आयो।

यसरी जाँचपास हुन नसक्नुका कारणमा कहिले व्यवसायीसँग नै राजस्व बुझाउने रकम नहुन सक्छ, कहिले व्यवसायी बाहिर गएको हुनसक्छ।

त्यस्तै, भीसीटीएसको सिस्टममा खराबी आयो भने पनि जाँचपास भइसकेको सामानको गाडी आईसीपीमै होल्ड गरेर राख्नुपर्ने हुन्छ। भीसीटीएस नभई सामान ढुवानी गर्न पाइँदैन।

जब सबै प्रक्रिया पूरा भइसक्छ र पाचौँ दिनमा गाडी आईसीपीबाट बाहिर निस्कन थाल्छ, त्यसबेला व्यवसायीले ट्रान्स नेपाललाई ५ दिनको गोदाम भाडा र पाँचै दिनको पार्किङ शुल्क बुझाउनुपर्छ। जबकि, सामान एक दिन मात्र गोदाममा राखेको हुन्छ।

एजेन्ट जोशीले ट्रान्स नेपालले यसरी अन्यायपूर्वक व्यवसायीसित गोदाम भाडाका नाममा नाजायज रकम असुल गरिरहेको आरोप लगाए।

ट्रान्स नेपालका व्यवस्थापक सुब्बाले भने आरोपमा सत्यता नभएको दाबी गरे।

‘नियमअनुसार व्यवसायीले भन्सारमा राजस्व बुझाई डकुमेन्ट जाँचपास गराएर ट्रान्स नेपालमा बुझाएपछि मात्र गोदामबाट सामान उठाउन पाउने हो। तर हामीले व्यावहारिकता हेरेर डकुमेन्टको जाँचपास भइरहेकै बेलामा पनि गोदामबाट निकालेर गाडीमा सामान लोड गर्न दिइरहेका छौं,’ उनले भने, ‘तर व्यवसायीले विभिन्न कारण डकुमेन्ट पास गराउन सक्दैनन् र हामीलाई डकुमेन्ट दिएका हुँदैनन्। यस्तो बेला हाम्रो सिस्टममा सामान गोदाममै भएको देखिन्छ। त्यसैले गाडीमा लोड भइसकेको सामानको पनि गोदाम भाडा लिनु परेको हो। व्यवसायीले समयमा डकुमेन्ट दिने हो भने यस्तो शुल्क तिर्नु पर्दैन।’

आरोप नम्बर ३

सामान लिएर नेपाल आएका भारतीय नम्बरका ढुवानी साधन दैनिक २ सयभन्दा बढीको संख्यामा आईसीपीबाट भारतीय भूमितर्फ फर्कने गर्छन्।

भारतीय नम्बरका गाडी एक्जिट हुँदा (फर्कंदा) आईसीपीको गेटमा दर्ता गराउनुपर्छ। दर्ता गराउँदा ट्रक वा कन्टेनरका चालक, सहचालकको सम्पूर्ण विवरण, तीनपुस्ते, ठेगाना, सवारीसाधनको ब्लुबुक नम्बर सबै लेख्नुपर्छ।

यसमा आईसीपीका कर्मचारीले एक गाडीको विवरण उल्लेख गर्न आधा घण्टासम्म लगाउँछन्। ट्रान्स नेपालले यस्तो इन्ट्री गर्ने ठाउँमा एक कर्मचारी मात्र खटाएको छ। ती एक्ला कर्मचारीले एक्जिट हुन खोज्ने सबै सवारी साधनको विवरण लेखेर एकैदिनमा इन्ट्री गर्न भ्याउँदैनन् र धेरै सवारीसाधनले भोलिपल्टसम्म कुर्नुपर्छ।

सामान खालि गरेर फिर्ता गएकाले मात्र नभई निर्यातका सामान बोकेर गएका गाडीले समेत गेटमा इन्ट्री हुन २ दिन पर्खनुपर्छ। यस्तो अवस्थामा ट्रान्स नेपालले २ दिनको पार्किङ शुल्क असुल्ने गर्छ।

‘यसरी ट्रान्स नेपालले अत्यन्त नाजायज तरिकाले शुल्क असुलिरहेको छ। यसका लागि हामीले बारम्बार कुरा गरे पनि कुनै सुधार छैन,’ विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्माले भने।

व्यवस्थापक सुब्बाले ट्रान्स नेपालले अहिलेसम्म एक्जिट हुने गाडी कहिल्यै नरोकेको बताए। उनले कसैलाई पत्यार लाग्दैन भने आएर इन्ट्री रजिस्टर हेर्न सक्ने बताए। ‘सबै गाडी एकैदिनमा एक्जिट भएका छन्। कसैलाई भोलिपल्टसम्म कुराउनु परेको छैन। हाम्रो खाता चेक गर्दा हुन्छ’, उनले भने।