आनाको ५० लाख पर्ने जग्गा भैंसेपाटीमा ७ लाखमै कारोबार, जीबी राईको २४ रोपनी शंकास्पद ढंगले चेनीमा

सविन ढकाल
२०८१ पुष ९ गते १२:१६ | Dec 24, 2024
आनाको ५० लाख पर्ने जग्गा भैंसेपाटीमा ७ लाखमै कारोबार, जीबी राईको २४ रोपनी शंकास्पद ढंगले चेनीमा

काठमाडौं। ललितपुरको भैंसेपाटी क्षेत्र आवासका हिसाबले ‘भीआइपी लोकसन’ पर्छ। पछिल्लो समय घरजग्गाको मूल्य सबैभन्दा बढी आकासिएको क्षेत्र नै यही हो।

Tata
GBIME
NLIC

भैंसेपाटी क्षेत्रमा तपाइँ जग्गा खोज्न हिँड्नु भयो भने आनाको ५० लाख रुपैयाँभन्दा तल कल्पनै नगरे हुन्छ।

त्यहाँ सरकारी मूल्यांकन नै २१ लाखसम्म छ। भनेपछि चलनचल्तीको दर ५० लाखमाथि नै हुने भयो। तर, २०७९ साउन ३ गतेदेखि ललितपुरको भैसेपाटीमा रहेको करिब २४ रोपनी जग्गा २६ करोड रुपैयाँमा नै किनबेच भएको छ।

एकछिनलाई सरकारी दरलाई नै किनबेचको आधार मूल्य मानौं। २४ रोपनी जग्गा भनेको ३८४ आना हो। सरकारी दर २१ लाख रुपैयाँमा किनबेच हुँदा यसको मूल्य ८० करोड ६४ लाख रुपैयाँ हुन आउँछ।

अढाइ वर्षअघि घरजग्गाको भाउ त्यतिधेरै ‘डिस्ट्रेस’ पनि थिएन। यस्तो अवस्थामा त्यही ठाउँमा करिब ७ लाख रुपैयाँ आनामा नै जग्गा किनबेच भयो भन्दा तपाइँ पत्याउनुहुन्छ?

त्यसबेला जग्गा किन्ने कम्पनी अरु कोही नभएर चेनी क्यापिटल थियो। चेनी क्यापिटल त्यही कम्पनी हो, जुन रवि लामिछाने, जीबी राई मुछिएको सहकारी ठगीसँग सम्बन्धित छ। चेनीका सञ्चालक हुन् चर्चित रेष्टुरन्ट ‘बाजेको सेकुवा’ का चेतन भण्डारी। यसमा पवनकुमार साह पनि छन्।

चेनी क्यापिटल खरिद गरेको जग्गा ललितपुर महानगरपालिका सैबु ‘१ ख’ का विभिन्न ११ वटा प्लटहरूमा छन्। 

सहकारी ठगीसँग जोडिएका जीबी राईको सूर्यदर्शन सहकारीका संचालक कुमार रम्तेललाई ३० प्रतिशत सेयर दिएर यो जग्गा चेनीले किनेको छ। राई आर्थिक संकटमा परेपछि यो जग्गा बेच्ने योजना अघि बढेको थियो।

आर्थिक संकटको दलदलमा फसेपछि जीबी भारत गएर लुक्ने र यहाँ आउने गरिरहन्थे। उनले भैंसेपाटीको त्यही जग्गा बेचेर संकटमा बच्न खोजेका थिए। उनले त्यो बेलामा क्यासरिच भएका केही व्यवसायीसँग जग्गा किन्न प्रस्ताव लिएर पुगेका थिए।

स्रोतका अनुसार प्रसादी एकेडेमीका विक्रम राई, केही घरजग्गा व्यापारीसम्म जीबी आफैं पुगेर जग्गा किनिदिन प्रस्ताव गरेका थिए। सरकारी दरमा ८० करोड र चलनचल्तीको दर ५० लाख रुपैयाँ आना मान्दा एक अर्ब ९२ करोड  रुपैयाँको जग्गालाई जीबीले केही कममा सल्टाएर संकटबाट निस्किन चाहेका थिए।

उनीहरुले जग्गा किन्न अस्वीकार गरे। त्यसपछि चेनी क्यापिटल संचालकका पवनकुमार साहकहाँ त्यो प्रस्ताव पुग्यो। बिटुमिनको कारोबार गरिरहेका साहले त्यो प्रस्तावलाई सहर्ष स्वीकार गरे।

जीबीले आफ्नो निकटवर्तीसँग गरेको प्रस्ताव घुमिफिरी साहसम्म आइपुगेको थियो। स्रोतका अनुसार जग्गा बिक्रीका लागि प्रस्ताव ल्याउने साहकै निकट साथी थिए। त्यही साथीको प्रस्तावअनुसार साहले चेनीमार्फत २४ रोपनी जग्गा किनेका थिए। यो जग्गा खरिदबिक्रीको मूल्य र तिरेको पैसा शंकास्पद नै देखिन्छ। त्यो जग्गा बेचेपछि जीबीले पैसा पाए/नपाएको स्पष्ट छैन।

यो जग्गा खरिदबिक्रीमा प्रयोग भएको रकमको बारेमा प्रहरीको अनुसन्धानले केही बोलेको छैन।

चेनी क्यापिटलले जीबीसँग जोडिएको जग्गा खरिद गरेपछि सञ्चालक अनुसन्धानको घेरामा परेका छन्। त्यसमा पनि सूर्यदर्शन सहकारी ठगीदेखि सम्पत्ति शुद्धीकरणमा आरोपी कुमार रम्तेलको ३० प्रतिशत सेयरदेखिएपछि थप शंकाको घेरा साँघुरिएको थियो। स्रोतका अनुसार रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेपछि रम्तेललाई कम्पनीको ३० प्रतिशत सेयर दिइएको थियो।

कास्की प्रहरीले सूर्यदर्शन सहकारी ठगीमा जोडेर सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्दा प्रतिवादीहरूको कनेक्सन चेनी क्यापिटलका सञ्चालकसम्म पुगेको हो। त्यसो त सूर्यदर्शन सहकारीको पूरक अनुसन्धानको लागि जाहेरी दरखास्तमा नै चेनी क्यापिटलमा सहकारी ठगीको रकम भएको भन्दै फिर्ता पाउन दर्खास्त परेको थियो।

आइतबार अदालतमा बुझाएको अभियोग पत्रमा चेनी कम्पनी लगायत अन्य कानुन बमोजिम थप प्रमाण खुलेर आएको खण्डमा थप अनुसन्धान हुने भनिएको छ।

‘हामीले चेनी कम्पनी र यसका सञ्चालकलाई क्लोजमा हेरेका थियौं। अहिले पनि अनुसन्धानको बाटो खुल्ला राखेर अभियोगपत्र बुझाएको हो,’अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

२०७३ साउनमा खोलिएको इन्भेस्टमेन्ट कम्पनी चेनीको यसअघि खासै कारोबार भएको देखिँदैन।

जग्गामा बाटो पुर्‍याउने सर्तमा चेनी क्यापिटलले खरिद गरेको दाबी गरेको छ। तर, रम्तेलले विभिन्न बहानामा बाटो पुर्‍याएनन्। डेढ करोडको सेयर दिएको खण्डमा बाटो ल्याउने बताएको भण्डारी समूहको दाबी रहेको छ। यसलाई आधार बनाएर हेर्दा पनि जग्गा बाटो लग्दा धेरै खर्च आउने देखिँदैन।

आखिर अर्ब माथिको जग्गा कसरी २५ करोडमा नै बिक्री भयो त?  प्रहरीले सुरुमा यसलाई नै आधार बनाएर अनुसन्धान गरेको थियो। तर, त्यसबारे विस्तृत रुपमा केही खुलाएको छैन।

आइतबार जिल्ला अदालत कास्कीमा बुझाएको अभियोजनपत्र यसरी जग्गा बिक्री गरेर प्रतिवादी (कुमार रम्तेल र जीबी राई)ले मिलोमत्तोमा जग्गा लुकाउन छिपाउन चेनी क्यापिटलको सेयर लिएको उल्लेख गरिएको छ।

‘प्रतिवादीको मिलेमतोमा चेनी क्यापिटल प्राइभेट लिमिटेडमा कुमार रम्तेलको नाममा २०७९ फागुन ३० गते १ करोड ५० लाख सेयर कायम भएको देखिँदा प्रतिवादीहरूको एक आपसमा मिलेमतो गरी जग्गा लुकाउन छिपाउनको लागि चेनी क्यापिटलमा सेयर लिएको देखिन्छ।’

यो पनि पढ्नुहोस् भैंसेपाटीको २६ करोडको जीबी राईको जग्गामा कसरी जोडिए बाजेको सेकुवाका संचालक चेतन भण्डारी?

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेलको नाममा ३० प्रतिशत सेयर चेनी क्यापिटलको नाममा गएको छ। प्रहरीले चेनी क्यापिटलका सञ्चालकहरू चेतन भण्डारी र पवनकुमार साहको कागजी बयान गरेको थियो। भण्डारी र साहको अघिल्ला पृष्ठभूमिलाई हेरेर रम्तेल जोडिएपछि झन् नजिकबाट अनुसन्धान गरेको थियो।

२०७९ साउन ३ गते १४ करोड ९० लाख रुपैयाँमा १२ रोपनीभन्दा बढी जग्गा चेनी कम्पनीको नाममा स्वामित्व हस्तान्तरण गरिएको थियो। सैबु १ ख को कित्ता नम्बर ३६७ को २ रोपनी १५ आना, कित्ता नम्बर १५८ को ३ रोपनी २ आना, ११६ को १२ आना, कित्ता नम्बर १२० को ८ आना, कित्ता नम्बर ३६९ को ३ रोपनी ६ आना र कित्ता नम्बर १५६ को १ रोपनी ८ आना जग्गा चेनी क्यापिटलको नाममा आएको देखिन्छ।

पहिलो जग्गा खरिद भएको करिब डेढ महिनापछि भदौ २२ गते थप ५ वटा प्लट कित्ता जग्गा चेनी कम्पनीको नाममा आएको छ। जसको लागि कम्पनीको तर्फबाट १२ करोड ५० लाख रुपैयाँ तिरेको देखिएको छ। सोही ठेगानाका कित्ता नम्बर ११८,१३०, १३४, १३५, १३६ क्रमशः १ आना तीन दाम, १ रोपनी ८ आना, ४ रोपनी ५ आना, १ रोपनी १२ आना र ५ रोपनी ४ आना जग्गा जीबी राईबाट चेनी क्यापिटल आएको देखिन्छ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका तर्फबाट कुमार रम्तेल र प्रसन्नमान मानन्धरबीच ललितपुर १ (ख) कित्ता नं. ११८ समेतको जग्गा चेनी क्यापिटलको नाममा हस्तान्तरण गर्ने सम्बन्धमा भएको सम्झौताको रोहवरमा गितेन्द्र बाबु राई र नवीन अछामीसमेत बसी लिखत कैलाशकुमार दर्लामीले प्रमाणित गरेका थिए।

अदालतमा दायर अभियोग पत्रमा यसरी चेनी कम्पनीले खरिद गरेको जग्गा समेत जीबी सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुँदा ( कुमार रम्तेलको ३० प्रतिशत शेयरको) जफत प्रयोजनमा राखिएको छ।