BIZMANDU
www.bizmandu.com

भैंसेपाटीको २६ करोडको जीबी राईको जग्गामा कसरी जोडिए बाजेको सेकुवाका संचालक चेतन भण्डारी?

२०८१ पुष ८

भैंसेपाटीको २६ करोडको जीबी राईको जग्गामा कसरी जोडिए बाजेको सेकुवाका संचालक चेतन भण्डारी?
भैंसेपाटीको २६ करोडको जीबी राईको जग्गामा कसरी जोडिए बाजेको सेकुवाका संचालक चेतन भण्डारी?


काठमाडौं। सहकारी ठगीमा जोडिएका जीबी राईको २७ करोडको जग्गा बाजेको सेकुवाका संचालक चेतन भण्डारीले किनेको भेटिएको छ। सहकारी ठगी प्रकरणअघि नै भैँसेपाटीमा भण्डारीले जीबीको जग्गा किनेका थिए।

Tata
GBIME
NLIC

प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्दा भण्डारीले जग्गा किनेको देखिएपछि उनीसँग पनि कागज गराएको थियो। भण्डारीले सो जग्गा किनेर आफू ठगिएको बयान दिएका थिए।

चेतन भण्डारी आबद्ध भएको कम्पनीमा जीबीका साझेदार कुमार रम्तेलको सेयर देखिएपछि भण्डारीलाई प्रहरीले सोधपुछ गरेको थियो।

ललितपुरको भैंसेपाटीमा करिब २६ करोडमा जग्गा किनेको र जुन प्रयोजनको लागि किनेको राईको कारणले नै काम अघि नबढेकाले आफू बैंकको ऋणदेखि जग्गा भोगचलन गर्न नपाएको अवस्थामा रहेको उनले बताएका छन्।

‘जग्गाको लागि लिएको ऋणको ब्याज हामीले हालिरहेका छौं। जग्गा हाल रोक्का छ। बैंकको ब्याज हालेन भने ब्ल्याक लिस्ट भई अन्य व्यापारिक ऋण समेतलाई अप्ठ्यारो पर्ने हुँदा जतिसक्दो चाँडो सरकारले छानबिन गरेर हाम्रो सम्पत्ति किनबेच गरी कानुनी झन्झटबाट छुटकारा पाउन अनुरोध गर्दछु,’ भण्डारीले प्रहरीसँग गरेको कागजमा उल्लेख छ।

कसरी जोडिए राईसँग भण्डारी?

चेनी क्यापिटल प्राइभेट लिमिटेडले ललितपुरको जग्गा खरिदका लागि जीबी राईलाई २५ करोड ९० लाख रुपैयाँ चेकमार्फत उपलब्ध गराएको देखिएको छ। प्रहरीलाई भण्डारीले विभिन्न मितिमा दिएको चेकको विवरण समेत उपलब्ध गराएका थिए।

जसमा सन् २०२२ अगस्टदेखि नोभेम्बर ८ तरिकसम्म माछापुच्छ्रे र हिमालयन बैंकबाट रकम हालेको देखिएको छ। चेनी क्यापिटल भण्डारी आबद्ध भएको कम्पनी हो।

कम्पनीमा रश्मिदेवी शाह, रक्षम इन्टरनेश्नल प्राइभेट लिमिटेड सेयर सदस्य हुने गरी खोलिएको थियो। रक्षम इन्टरनेश्नल प्राइभेट लिमिटेडका संचालक भने पवनकुमार शाह हुन्। रश्मिदेवी शाह भने उनकै श्रीमती हुन्।

चेतन उनै पवनकुमार साहमार्फत जग्गामा जोडिएका थिए। सुरुमा साहलाई २०७९ असारको पहिलो सातामा जग्गा किन्ने प्रस्ताव आएको थियो। सोही प्रस्ताव उनले चेतनलाई सुनाएका थिए।

केही समयअघि रानीपोखरीमा रहेको घर बेचेर बसेका भण्डारी जग्गा किन्ने सुरमा नै थिए। २०७९ जेठ ६ गते रानीपोखरी श्रीमती नीतिमा कार्कीको नाममा रहेको घर डाक्टर नेहा मल्ललाई ५ करोड ६२ लाखमा राजीनामा पास गरेका थिए।

उनी जग्गा कारोबारी समेत हुन्। तर बेचेको घरको भन्दा धेरै नै मूल्यवान् थियो ललितपुर भैंसेपार्टीको जग्गा। सुरुमा नै ३० करोड मूल्य राखिएको थियो। त्यसमा बाटो र थप प्लटिङपछि थप फाइदा हुने भएपछि भण्डारी र साह जग्गा किन्न सुरुमा लागेका थिए। यता सहकारी ठगी प्रकरण बाहिरिन थालेपछि जीबी पनि भएको सम्पत्ति बेचेर देश छोड्ने तरखरमा थिए।

साहले सुरुमा चेतनलाई ३ करोड निकाल्न, केही रकम आफैं हाल्ने र बाँकी ३० प्रतिशत प्लटिङ गर्नेले हाल्ने सुनाएका थिए। त्यसको केही दिनमा परिवारसहित फेरि चेतन भैंसेपाटी पुगे। जग्गा वास्तु अनुसार पनि राम्रो भएकाले घर बनाएर बाँकी प्लटिङ गरेर बिक्री गर्ने देखे।

भण्डारीले त्यही जग्गा बैंकमा राखेर ऋण लिएर जग्गा किन्ने योजना बनाए। साहलाई पनि त्यही अनुसार तयारी गरेका थिए।

२०७३ साउनमा खोलिएको इन्भेस्टमेन्ट कम्पनी चेनी क्यापिटल प्राइभेट लिमिटेडमार्फत उनले बैंकिङ कारोबार गर्न लागे। कम्पनीको ५० प्रतिशत सेयर बरु साह र उनको कम्पनी रक्षमलाई दिन तयार भए।

कम्पनीमा ५ करोडको पेडअप क्यापिटल हालेर बाँकी ऋण लिने जग्गा किन्ने निर्णय समेत भयो। जग्गा खरिदको लागि चेनी क्यापिटलबाट सोमलाल गिरीलाई अख्तियारी दिइयो।

भदौ महिनामा आधा जति जग्गा समेत कम्पनीको नाममा पास भयो। तर बैंकबाट सुरुमा भ्यालुएसन गर्दा २० करोड आउने भने पनि १४ करोड ४५ लाख रुपैयाँ मात्र आएको थियो। बाँकी रकम भने पवनकुमार साहले संचालन गरेका कम्पनी रतन इन्टरनेश्नल प्राइभेट लिमिटेड, शिवम् इन्टरनेश्नल प्राइभेट लिमिटेड, सत्यम एग्रो प्राइभेट लिमिटेड, श्री कृष्ण दाल उद्योग प्राइभेट लिमिटेडबाट ऋण लिएर हालेको थिए।

जग्गाको मूल्य भने २७ करोड ४० लाख रुपैयाँ कायम भएको थियो। तर पछि २५ करोड ९० लाख रुपैयाँमा रजिस्ट्रेसन पास भएको थियो। बाँकी रकम मिलाएर अरू जग्गा समेत पास भयो।

कुमार रम्तेललाई कसरी गयो ३० प्रतिशत सेयर?

कुमार रम्तेल सूर्यदर्शन सहकारी ठगीका अर्का प्रतिवादी हुन्। सहकारीका कोषाध्यक्ष पनि हुन्। हाल उनी पुर्पक्षका लागि थुनामा छन्।

जीबी राई जोडिएका प्रत्येक सहकारीमा रम्तेल जोडिएका छन्। चेतन भण्डारीको कम्पनीमा ३० प्रतिशत सेयर रम्तेलको देखिएपछि प्रहरीले अनुसन्धान गरेको थियो।

जग्गा किनेपछि प्लटिङ र बाटोको अन्य काम गर्ने सर्तमा ३० प्रतिशत सेयर ट्रान्सफर गरेको बताएका छन्। तर त्यसपछि पनि उनले काम नगरेको भण्डारीको दाबी रहेको छ। पेडअप क्यापिटलको ३० प्रतिशत अर्थात डेढ करोड लाग्ने शर्तमा रकम दिएको तर सहकारी ठगीमा आबद्ध व्यक्ति नभएको बताएका छन्।

जीबी राई र रम्तेलसँग यसअघि कुनै पनि चिनजान र कारोबार नभएको बताएका छन्।