काठमाडौं। ट्याक्सी-वे विस्तारका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पाँच महिना अगाडि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने सूचना जारी गर्यो।
सूचना जारीपछि क्यानले अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीलाई छलफलमा बोलाएर यसबारे जानकारी गरायो।
पूर्वजानकारी गराउँदा गराउँदै पनि कतार एयरवेजले क्यानसँग बार्गेनिङ गर्न थाल्यो। सामान्य अवस्थामा दैनिक ४ वटा उडान गर्दै आएको कतारले बार्गेनिङ अस्त्रका रुपमा हिमालय एयरलाइन्सलाई अघि सार्यो।
त्रिभुवन विमानस्थलमा आफ्नो उडान कटौती हुने भएपछि कतार एयरवेज दोहामा हिमालय एयरलाइन्सको सेवा बन्द गराउने तयारीमा लाग्यो। हिमालय एयरलाइन्सको काठमाडौं-दोहा उडान बन्द गर्ने तयारीस्वरुप कतार एयरवेजले कतारको नागरिक उड्डयन प्राधिकरणसँग छलफल चलायो।
यसको जानकारी क्यानमा आइपुग्यो। ‘कतार एयरवेजले टीआईएमा आफूले गर्दै आएको उडान कटौती हुने भएपछि नोभेम्बर ८ पछि हिमालय एयरलाइन्सको उडान नै रद्द गर्ने षड्यन्त्र रचेको रहेछ,’ क्यानका एक कर्मचारीले भने।
आफूले ट्याक्सी-वे विस्तार गर्नुपरेको बाध्यताले उडान संख्या घटाउनु परेको स्थितिमा कतार एयरवेजले बदलाभाव देखाउन खोजेको क्यानलाई चित्त बुझ्ने कुरा भएन। क्यानका महानिर्देशक प्रदीप अधिकारीले कतार एयरवेजलाई नेपालमा उडान गर्न नदिने चेतावनी दिए।
‘हामीले बाध्य भएर उडान कटौतीको निर्णय गरेका हौं। तर, कतार एयरवेजले उडान कटौती भएको झोकमा हिमालय एयरलाइन्सको दोहा उडान रोकेर बदला लिन खोजेपछि महानिर्देशकज्यूले यो कुनै पनि हालतमा सह्य हुँदैन भन्नुहयो। उहाँले कतार एयरवेजलाई नेपालमा एउटा पनि उडान गर्न नदिने चेतावनी दिएपछि कतार एयरवेज हच्कियो,’ क्यानका ती कर्मचारीले भने।
क्यानको चेतावनीपछि दोहामा हिमालय एयरलाइन्सको जहाज रोक्ने तयारीबाट कतार एयरवेज पछि हट्यो। हिमालय एयरलाइन्सको एउटा उडान बन्द गराउँदा आफ्नो नेपालतर्फको व्यापार ठप्प हुने भएपछि कतार एयरवेज पछि हट्न बाध्य भएको क्यानका ती कर्मचारीले बताए।
हिमालय एयरलाइन्सले दोहामा दैनिक एउटा उडान गर्दै आएको छ। तर, कतार एयरवेजले दोहा-काठमाडौं तीनवटा उडान गर्ने गरेको छ। कात्तिक २३ देखि उसको एउटा उडान कटौतीमा परेकामा क्यानले मंगलबारदेखि दोहा-भैरहवा-काठमाडौं-दोहा उडान गर्न दिन लागेको छ।
यस विषयमा कतार एयरवेजका प्रतिनिधिले प्रतिक्रिया दिन मानेनन्।