ट्रम्पको उदयपछि सबैको नजर इलन मस्कमा, सरकारी खर्च कटौतीको नेतृत्व गर्लान् संसारकै धनाढ्यले?

बिजमाण्डू
२०८१ कात्तिक २२ गते १२:०३ | Nov 7, 2024
ट्रम्पको उदयपछि सबैको नजर इलन मस्कमा, सरकारी खर्च कटौतीको नेतृत्व गर्लान् संसारकै धनाढ्यले?
Photo : Elon Musk/X

काठमाडौं । ‘तपाईहरुलाई म भन्न चाहन्छु कि हामीसँग नयाँ स्टार छन्.. नयाँ स्टार जन्मिएका छन्, इलन,’ बुधबार दोस्रोपटक ह्वाइट हाउस जाने पक्का भएपछि आयोजित सभालाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले विश्वकै धनाढ्य इलन मस्कको प्रशंसा गरे।

Tata
GBIME
NLIC

सन् २०१६ को निर्वाचनभन्दा शक्तिशाली भएर विश्वकै शक्तिशाली मानिने पदमा पुग्दा ट्रम्प त्यतिमै रोकिएनन्। करिब २५ मिनेट सम्बोधन गरेका ट्रम्पले करिब ४ मिनेट मस्कका लागि खर्चिए। आफ्नो चुनावी अभियानमा दिल खोलेर लागेका मस्कलाई उनले ‘विशेष व्यक्ति’ भने।

‘मस्क सुपर जिनियस छन्। हामीले उनीहरुको जिनियसनेस रक्षा गर्नुपर्छ। हामीसँग त्यस्तो व्यक्ति धेरै छैनन्,’ ट्रम्पले भने।

ट्रम्पले यसो भनिरहँदा समर्थकहरु चर्को आवाजमा नारा लगाइरहेका थिए, जितको खुसीमा। अर्को तर्फभने ट्रम्प प्रशासनमा मस्क कुनै भूमिकामा होलान् नहोलान् भन्ने छुट्टै बहस चलिरह्यो।

अहिले अमेरिकामा ट्रम्पको पुन: उदयमा विश्वको जति नजर छ, त्यति नै चासो इलन मस्कप्रति छ। एक त उनी २ खर्ब ५० अर्ब अमेरिकी डलर भन्दा बढी नेट वर्थ रहेको संसारकै धनी व्यक्ति। अर्को तर्फ मस्कको स्पेस एक्स, टेस्ला, एक्स (पहिला) जस्ता विश्वप्रसिद्ध ब्रान्डहरु छन्। उनै मस्क के ट्रम्प प्रशासनमा मन्त्री बन्लान् वा कुनै सरकारी पदमा बस्लान् ?

ट्रम्प भन्छन् : उनी ( इलन मस्क) क्याबिनेटमा बस्न चाहँदैनन्। उनी खर्च कटौतीको इन्चार्ज बन्न चाहन्छन्। हामी नयाँ पद सिर्जना गर्छौं – सेक्रेटरी अफ कस्ट कटिङ।

ट्रम्प परिवारसँग इलन मस्क। Photo : Kai Trump/X

विश्वको अर्थ बजार अहिले मस्क र ट्रम्पको सम्बन्धलाई नियालिरहेको छ।

‘सेक्रेटरी अफ कस्ट कटिङ’

वासिङटन पोस्टका अनुसार इलन मस्क अमेरिकी बजेटमा करिब दुई ट्रिलियन अमेरिकी डलर रकम कटौती गर्न चाहिरहेका छन्। अमेरिकी प्रशासनमा खर्च कटौतीलाई उनले निकै समयदेखि उठाएका छन्। त्यसका लागि उनले ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ गठन हुनुपर्ने सुझाव राखेका थिए। यद्यपि, उनले भनेको जसरी कटौती तत्काल सम्भवन भने छैन।

मस्कले अगस्टमै ट्रम्पसँगको छलफलका क्रममा करदाताको रकम राम्रो तरिकाले खर्च भएको सुनिश्चित गर्न सो डिपार्टमेन्ट गठन गरेर अध्ययन गर्नुपर्ने बताएका थिए। सो कुराकानी मस्कले एक्स (ट्वीटर)मा प्रत्यक्ष प्रसारण गरेका थिए।

त्यसपछि सेप्टेम्बरमा ट्रम्पले आफू पुन: निर्वाचित भए संघीय सरकारको वित्तीय र कार्यसम्पादन लेखा परीक्षण गर्ने घोषणा गरेका थिए। त्यसका लागि उनले एक सरकारी संयन्त्र गठन गर्ने बताएका थिए।

ट्रम्पले सुरुमा इलन मस्कले गरेका प्रस्ताव नै ‘इन्डोर्स’ गर्दै त्यो संयन्त्रको नेतृत्व संसारकै धनी मस्कले गर्ने बताएका थिए।

ट्रम्पले अमेरिकी एजेन्सीहरुको लेखा परीक्षण र खर्च कटौती गर्नका अध्ययन गर्न मस्कलाई जिम्मेवारी दिन सक्ने वासिङ्टन पोस्टको रिपोर्टपछि लेखे – ‘अब पर्खन सकिँदैन’, ‘त्यहाँ धेरै खराब अवस्था छ’ भनेका थिए।

यसले पनि मस्क कुनै न कुनै रुपमा खर्च कटौतीका लागि आतुर भएको विश्लेषण त्यही बेला गरिएको थियो।

चुनाव प्रचारकै क्रममा ट्रम्पले फक्स न्यूजलाई अन्तर्वार्ता दिँदै मस्क ‘ग्रेट बिजनेस गाय’ भनेका थिए।

चुनाव प्रचारकै क्रममा ट्रम्पलाई सोधियो – के जनवरीमा तपाई ह्वाइट हाउस जानु भयो भने मस्क मन्त्रिपरिषद्‍मा हुन्छन् ?

ट्रम्पको जवाफ थियो – उनी ( इलन मस्क) क्याबिनेटमा बस्न चाहँदैनन्। उनी खर्च कटौतीको इन्चार्ज बन्न चाहन्छन्। हामी नयाँ पद सिर्जना गर्छौं – सेक्रेटरी अफ कस्ट कटिङ।

डोनाल्ड ट्रम्पले यो ख्यालख्यालै भनेका हुन् या साँच्चिकै, यो थाहा पाउन सन् २०२५ को सपथग्रहणसम्म कुर्नुपर्ने हुन्छ।

ट्रम्प-मस्क सम्बन्ध

संसारकै धनाढ्य मस्क र व्यापारी हुँदै अमेरिकी राष्ट्रपति रहिसकेका ट्रम्पको चिनजान निकै पुरानो भने होइन।

वासिङ्टन पोस्टका अनुसार ट्रम्प र मस्कबीच पहिलो निजी भेट गत वर्ष भएको थियो। त्यसक्रममा उनीहरुबीच ‘ट्रुथ सोसल प्लेटफर्म’ खरिद गर्ने बारे छलफल भएको थियो। मस्कले ट्वीटर खरिद गर्न अघि ट्रम्पको ट्वीटर अकाउन्ट ‘सस्पेन्ड’ गरिएको थियो। त्यसपछि ट्रम्प आफैंले ‘ट्रुथ सोसल प्लेटफर्म’ ल्याएका थिए। मस्क आएपछि ट्रम्पको अकाउन्ट फेरि संचालनमा ल्याइएको थियो।

यस्तै, न्यूयोर्क टाइम्सका अनुसार मार्चमा फेरि उनीहरुबीच भेट भएको थियो। त्यसपछि जुलाईमा मस्कले ट्रम्पलाई राष्ट्रपति उम्मेदवारका रुपमा समर्थन गर्ने घोषणा गरेका थिए। त्यही महिनादेखि मस्कले ट्रम्पलाई चुनावी अभियानमा सहयोग गर्न सुरु गरे।

प्रो ट्रम्प अमेरिका प्याक स्थापना गर्न मस्कले ठूलै धनराशि सहयोग गरे। राष्ट्रपति चुनावका लागि मात्रै सो प्याकमा १६९ लाख डलरभन्दा बढी खर्च गरेको छ। मस्कले सो प्याकका लागि ११८.६ लाख डलर सहयोग गरेका छन्।

एक्समा खुलेर ट्रम्पको समर्थनमा देखिएका मस्क अक्टोबरमा पहिलोपटक ट्रम्पसँगै देखिए चुनावी र्‍यालीमा। पेनसिल्भेनियाको बटलरमा आयोजित र्‍यालीमा पहिलो पटक व्यक्तिगत रूपमा मस्क पूर्व राष्ट्रपति ट्रम्पलाई समर्थन गर्न उपस्थित भएका थिए।

ठूलो भीडको सामुन्‍ने मस्कले ट्रम्पलाई अभिव्यक्ति स्वतन्त्रताको ‘च्याम्पियन’को रूपमा चित्रण गरे। उनले डेमोक्र्याटहरूले ‘वाक स्वतन्त्रता तथा हतियार बोक्ने अधिकार खोस्न चाहेको’ बताएका थिए।

ट्रम्पको ‘कमब्याक’ पछि मस्कले सार्वजनिक पद ग्रहण गरे भने कसरी ‘कनफ्लिक्ट अफ इन्ट्रेस्ट’लाई मिलाउँछन् त्यो हेर्न अझै केही महिना कुर्नुैपर्ने देखिन्छ।

Photo : AP

पेनसिल्भेनियामै आयोजित सभामा मस्कले हरेक दिन (चुनावको दिनसम्म) एक जनालाई १० लाख अमेरिकी डलर दिन सुरु गरे। अमेरिका प्याकमा समर्थन गर्नेलाई उनले सो उपहार दिन सुरु गरे। सो अभियानको विरुद्ध मुद्दा परे पनि अदालतले मस्कको पक्षमै फैसला सुनाएको थियो।

चुनावको मतगणना जारी रहँदा मस्कको एक्समा सक्रियता चाखलाग्दो थियो। उनी मतगणनाका क्रममा ट्रम्पसँगै थिए। उनको एक्स अकाउन्टमा ट्वीटको लहर नै थियो।

आफ्नो विशाल व्यवसायिक साम्राज्यलाई चटक्कै छाडेर मस्क सार्वजनिक पदमा जाने सम्भावना कम रहेको विश्लेषक बताउँछन्। यद्यपि, टेस्ला, स्पेसएक्स र एक्सजस्ता कम्पनीहरुका लागि उनको ‘इन्ट्रेस्ट’ ट्रम्पले सत्ता सम्हालेपछि प्रष्ट देखिने अनुमान भने गरिएको छ।

मस्कको धेरै चर्चा चलिरहँदा उनले एक्समा भिडियो राखेका छन् जसमा उनले भनेका छन् – ‘मलाई पैसा दिन्छु भन, मलाई शक्ति दिन्छु भन, मलाई मतलब छैन।’

मस्कले आफ्नो प्राथमिकतामा संघीय एजेन्सीहरुको नीतिहरु परिवर्तनलाई राखेका छन्। विशेष गरेर स्पेस एक्स र टेस्लाप्रति बाइडेन प्रशासनले गरेको काम कारबाही उनलाई चित्त बुझेको थिएन। ट्रम्पले सत्ता सम्हाले के चाहिँ प्रष्ट छ भने मस्क स्वचालित ड्राइभिङ प्रविधि स्वीकृतिका लागि लाग्नेछन्। यस्तै, अमेरिकाको ‘स्पेस पोलिसी’मा पनि मस्कको नजर हुनेछ।

आजमात्रै मस्कले एक्समा अमेरिकी झण्डालाई सलाम गरेर लेखेका छन् – ‘अमेरिकामा फेरि बिहान भयो।’ यसले उनको बढ्दो महत्त्वाकांक्षालाई दर्साउँछ पनि।

अत: ट्रम्पको ‘कमब्याक’ पछि मस्कले सार्वजनिक पद ग्रहण गरे भने कसरी ‘कनफ्लिक्ट अफ इन्ट्रेस्ट’लाई मिलाउँछन् त्यो हेर्न अझै केही महिना कुर्नुैपर्ने देखिन्छ।