ट्रम्पको समर्थनमा चुनावी मैदानमै उत्रिए इलन मस्क, ‘प्रजातन्त्र बचाउन सक्ने अरु उम्मेदवार छैनन्’



बिजमाण्डू
२०८१ असोज २० गते १४:०७ | Oct 6, 2024
ट्रम्पको समर्थनमा चुनावी मैदानमै उत्रिए इलन मस्क, ‘प्रजातन्त्र बचाउन सक्ने अरु उम्मेदवार छैनन्’
Photo: AP Photo/Alex Brandon

अर्बपति इलन मस्क अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी र्‍यालीमा पहिलो पटक सहभागी भएका छन्। एक्स (पहिले ट्विटर)मा सुरुवातदेखि नै ट्रम्पको समर्थन गरिरहेका मस्क शनिबार पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी सभामा सहभागी भएका हुन्।

Tata
GBIME
Nepal Life

स्पेसएक्स तथा टेस्लाका मालिक समेत रहेका मस्कले गत वर्ष एक्स (ट्विटर) पनि किनेका थिए। उनले एक्समा डेमोक्रेटहरूको चर्को आलोचना गर्ने गरेका छन्।

यसअघि जुलाईमा ट्रम्पको हत्या प्रयास भएकै स्थानमा शनिबार पुनः चुनावी सभाको आयोजना गरिएको थियो। सभालाई सम्बोधन गर्ने क्रममा मस्कले ट्रम्पलाई ‘अमेरिकामा प्रजातन्त्र बचाउन सक्ने एकमात्र उम्मेदवार’को संज्ञा दिएका थिए।

ट्रम्पको चुवानी प्रचारको स्लोगन ‘मेक अमेरिका ग्रेट अगेन’ भएको क्याप टोपी लगाएर सभामा सहभागी मस्कले आगामी निर्वाचनमा ट्रम्पले नजिते यो नै अन्तिम निर्वाचन हुने टिप्पणी समेत गरे।

इलन मस्क। तस्बिर : AP Photo/Evan Vucci

ट्रम्पले आफू आगामी निर्वाचनमा विजयी भए मस्कलाई गभर्नमेन्ट इफिसियन्सी कमिसनको नेतृत्व दिने बताउँदै आएका छन्।

यसअघि एक्समा ट्रम्प र मस्कले दुई घण्टा लामो कुराकानी गरेका थिए। जसमा पूर्वराष्ट्रपति ट्रम्पले जुलाईमा भएको हत्या प्रयास, गैरकानुनी आप्रवासन र आफ्नो सरकारी नियमहरूमा कटौती गर्ने योजनाबारे बहस गरेका थिए।

शनिबार ठूलो भीडको सामुन्‍ने मस्कले ट्रम्पलाई अभिव्यक्ति स्वतन्त्रताको च्याम्पियनको रूपमा चित्रण गरे। उनले डेमोक्र्याटहरूले ‘वाक् स्वतन्त्रता तथा हतियार बोक्ने अधिकार खोस्न चाहेको’ बताए। मस्कले क्यालिफोर्नियामा मतदाता परिचयपत्र आवश्यक पर्ने मापदण्ड हटाउन लागिएको प्रति पनि आलोचना गरे।