अर्थमन्त्री पौडेलले मागे सेयर बजार सुधारबारे नेप्सेको बोर्डमा अड्काइएका प्रस्ताव, अब अघि बढ्ला?



सुनिल कुँवर
२०८१ असोज ४ गते २०:४७ | Sep 20, 2024
अर्थमन्त्री पौडेलले मागे सेयर बजार सुधारबारे नेप्सेको बोर्डमा अड्काइएका प्रस्ताव, अब अघि बढ्ला?

काठमाडौं। नेपाल स्टक एक्सचनेन्ज (नेप्से) पुगेर सेयर बजार किन घट्यो? भन्दै जवाफ मागेको विषयलाई लिएर आलोचित भएपछि अर्थमन्त्री विष्णु पौडेलले नेप्सेको सञ्चालक समितिमा अड्किएका विषयमा चासो राखेका छन्।

Tata
GBIME
Zonsen

मन्त्री पौडेलले शुक्रबार निजी सचिवालयमार्फत नेप्से इन्डेक्स-३० सञ्चालन, कम्पनीको पहिलो कारोबारका लागि प्रदान गरिने ओपनिङ रेन्जमा पुनर्विचार गर्ने लगायत प्रस्ताव कुन अवस्थामा छन् भन्नेबारे जानकारी मागेका हुन्।

‘नेप्से इन्डेक्स-३०, कम्पनीको पहिलो कारोबारको ओपनिङ रेन्जमा पुनर्विचार गर्नेलगायत सञ्चालक समितिमा विचाराधीन विषयको स्टाटसबारे मन्त्रीले जानकारी माग्नु भएको छ,’ मन्त्रालय स्रोतले भन्यो।

यो पनि पढ्नुहोस्: नेप्से-३० सञ्चालनको प्रस्ताव ८ महिनादेखि अड्कियो, अध्यक्ष पौडेल नै विपक्षमा

नेप्से व्यवस्थापनले नेप्से इन्डेक्स-३० सञ्चालन, कम्पनीको आइपीओ निष्कासनपछि पहिलो कारोबारको ओपनिङ रेन्जमा पुनर्विचार गर्ने प्रस्ताव गत पुसमै सञ्चालक समितिमा पेस गरे पनि सञ्चालक समितिमा अनिर्णीत छ।

अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा नेप्सेको अध्यक्ष रहेका शोभाकान्त पौडेलले व्यवस्थापनले पेस गरेको प्रस्तावमा निर्णय गर्न मानेका छैनन्। मन्त्री पौडलले सोही विषयमा चासो राखेका हुन्।

यो पनि पढ्नुहोस्: आइपीओको ओपनिङ रेन्ज घटाउने प्रस्ताव ८ महिनादेखि अड्कियो, किन चाहँदैनन् अध्यक्ष पौडेल ?

मन्त्रीले सञ्चालक समितिमा रोकिएका प्रस्ताव मागेपछि नेप्सेका कर्मचारी आशावादी बनेका छन्। ‘मन्त्रीज्यूको सचिवालयले रोकिएका प्रस्ताव के के हुन्? र रोकिनुको कारण के हो भनेर विस्तृतमा पठाउन भनेको छ,’ नेप्से स्रोतले भन्यो, ‘मन्त्रीज्यू साँच्चै नै बजार घटेकामा चिन्तित हो भने रोकिएका प्रस्ताव अगाडि बढाउन लगाउनुपर्छ। हामी केही आशावादी भएका छौं। तर विवरण माग्नुलाई नै उपलब्धिका रुपमा भने हेर्न हुँदैन।’

त्यसो त बजार सुधारका लागि पेस गरिएका फाइल लामो समयदेखि अर्थ मन्त्रालयमै छन्। ९ महिनाअघि पेस गरिएको नेप्से पुनर्संरचनाको प्रस्तावमा निर्णय हुन सकेको छैन।

साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउने प्रतिवेदन, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार खुला गर्ने प्रतिवेदन एक वर्षदेखि मन्त्रालयमै छन्।

सरकारले बजेटमार्फत आफैंले घोषणा गरेको नीति कार्ययान्वयनका लागि कानुनी आधार बनाइएको छैन। कारोबारको सीमा तोकेर कम्पनीलाई सेयर बजारमा अनिवार्य सूचीकृत गराउने घोषणा कार्यान्वयन हुन सकेको छैन।

सेबोनमा ९ महिनादेखि पूर्णकालीन नेतृत्व नहुँदा सार्वजनिक निष्कासन मात्रै नभएर कानुनी सुधारका विषय भ्याकुममा छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट मार्जिन ल्याण्डिङ, डिलर सेवा विस्तार, इन्ट्रा डे कारोबार, अक्सन मार्केटको व्यवस्था, सामूहिक लगानी कोषको सञ्चालन, छुट्टै ओटीसी मार्केट लगायत सुधारका काम अघि बढेका छैनन्।

सेयर बजार निरन्तर ओरालो लागेपछि मन्त्री पौडेल बुधबार राजस्व सचिव दिनेश घिमिरे, सेबोनका कार्यवाहक अध्यक्ष महेश बरालसहित नेप्से पुगेका थिए।

पौडेलले सेयर बजारमा देखिएको भोलाटायल ट्रेन्डले आफू चिन्तित भएको भन्दै दैनिक ३० अर्ब पुगेको कारोबार अहिले ५ अर्बमा कसरी आयो? भनी प्रश्न गरेका थिए। आफूले गर्नुपर्ने काम नगरेर बजार घटेको विषयमा जवाफ खोज्दै हिंडेपछि सस्तो लोकप्रियताका लागि स्टन्टबाजी गरेको र कसैको प्रभावमा परेर बजार बढाउन लागेको भन्दै मन्त्री पौडेल आलोचित हुन पुगेका थिए।

यो पनि पढ्नुहोस्: सेयर बजार सुधारको फाइल थन्काएर स्टन्टबाजीमा अर्थमन्त्री, अर्थतन्त्र चलायमान बनाएको खोइ?

सत्ता समीकरण फेरिएपछि असार १७ यता निरन्तर उकालो लागेर नेप्से साउन ३१ गते ३००० विन्दुमा पुगेको थियो। त्यसदिन २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो।

नेप्से अहिले २५७६ अंकमा छ। कारोबार रकम ६ अर्बबाट तल झरेको छ। सेयर बजारमा डेढ महिनामा देखिएको उत्साहलाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले सरकारप्रति लगानीकर्ताले देखाएको भरोसाको प्रमाणका रुपमा व्याख्या गर्दै आएकामा भदौयता बजार निरन्तर घटेपछि पौडेलले बुधबार कारोबार समयमै नेप्से पुगेर गिरावटको कारणबारे जवाफ मागेका थिए।

मन्त्री पौडेलले सम्बद्ध निकायहरुलाई बजार सुधारका लागि लाग्न निर्देशन दिएको बताए। ‘सरकार सेयर बजारको दिगो, भरपर्दो र विश्वसनीय सुधारका लागि प्रतिबद्ध छ। बजारको विकासका लागि गर्नुपर्ने कामहरु पेस गर्न मैले नेप्सेमै पुगेर निर्देशन दिइसकेको छु। प्रत्येक दिन निर्देशन दिने कुरा भएन,’ उनले बिजमाण्डूसँग भने।