सेयर बजार सुधारको फाइल थन्काएर स्टन्टबाजीमा अर्थमन्त्री, अर्थतन्त्र चलायमान बनाएको खोइ?

सुनिल कुँवर
२०८१ असोज ३ गते १९:१९ | Sep 19, 2024
सेयर बजार सुधारको फाइल थन्काएर स्टन्टबाजीमा अर्थमन्त्री, अर्थतन्त्र चलायमान बनाएको खोइ?

काठमाडौं। सेयर बजार निरन्तर ओरालो लागेपछि अर्थमन्त्री विष्णु पौडेल बुधबार एकाएक नेप्सेको कार्यालय पुगे। राजस्व सचिव दिनेश घिमिरे, नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यवाहक अध्यक्ष महेश बरालसहित नेप्से पुगेका पौडेलले भने, ‘३००० अंक पुगिसकेको नेप्से अहिले २५८० को आसपासमा किन आयो? यसको जवाफ खोज्न आएको हुँ।’

Tata
GBIME

पौडेलले सेयर बजारमा देखिएको भोलाटायल ट्रेन्डले आफूलाई चिन्तित बनाएको मात्रै भनेन्, दैनिक ३० अर्ब पुगेको कारोबार अहिले ५ अर्बमा कसरी आयो? भनी प्रश्न गरे।

अर्थमन्त्री पौडेलले भने झैं सेयर बजारमा गिरावटको जवाफ नेप्सेले दिन सक्छ त? सक्दैन। किनभने सेयर बजारको उतारचढावमा नेप्सेको भूमिका नै हुँदैन। नेप्सेको काम बजार सञ्चालन गर्ने मात्र हो। यसको नियमन सेबोनले गर्छ।

बजार तल आउने र माथि जाने धेरै कारण हुन्छन्। कम्पनीको वित्तीय अवस्थादेखि सरकारले लिने नीतिले बजारको बाटो तय हुन्छ। सेयर बजारसम्बन्धी नीति बनाउने ठाउँमा अहिले पौडेल छन्।

यो पनि पढ्नुहोस्: ओली सरकारले अपनाएको सेयर राजनीति, बजार ओरालो लाग्न सुरु भएको कि बढ्छ?

नेप्सेको लाइन मिनिस्ट्री अर्थ मन्त्रालय हो। मन्त्रीले मातहतका कार्यालयको निरीक्षण गर्नु वा निर्देशन दिनु सामान्य हो। त्यो उनको जिम्मेवारीभित्रै पर्छ।

तर, पौडेलले बजारमा गिरावटलाई लिएर नेप्सेसँग जवाफ खोज्नु चाहिं असामान्य हो। नेप्सेमा पुगेर गरेको प्रश्नले अर्थमन्त्री पौडेल कतै बजारका खेलाडीको इशारामा त चलिरहेका होइनन् भन्ने प्रश्न उब्जिन पुगेको छ। अर्कातिर कतिपयले सेयर बजारमा धेरै लगानीकर्ता जोडिएकाले उनीहरुबीच सस्तो लोकप्रियता आर्जनका लागि स्टन्टबाजी गरेको भन्नेहरु पनि छन्।

जे भएपनि आफ्नाबारे प्रश्न गर्ने ठाउँ अर्थमन्त्री पौडेलले नै दिएका हुन्।

सेयर बजारमा सुधारका लागि उनले दुई महिनाको अवधिमा कुनै काम गरेका छन् त?

छैनन्। असार ३१ गतेदेखि अर्थ मन्तालयको नेतृत्व गरिरहेका पौडेलले त्यसयता बजार सुधारका लागि एउटा निर्णय पनि गरेका छैनन्। जबकि सेयर बजार सुधारका लागि पेस गरिएका फाइल लामो समयदेखि अर्थ मन्त्रालयमै थन्काइएका छन्। ९ महिनाअघि पेस गरिएको नेप्से पुनर्संरचनाको विषयमा पौडेल अनिर्णित छन्।

यसबाहेक साना तथा मझौला उद्यमको धितोपत्र कारोबारका लागि एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउने प्रतिवेदन, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार खुला गर्ने प्रतिवेदन एक वर्षदेखि मन्त्रालयमै छन्।

अर्थमन्त्री विष्णु पौडेल नेप्से र सेबोनका कर्मचारीसँग

सरकारले बजेटमार्फत आफैंले घोषणा गरेको नीति कार्ययान्वयनका लागि कानुनी आधार बनाइएको छैन। कारोबारको सीमा तोकेर कम्पनीलाई सेयर बजारमा अनिवार्य सूचीकृत गराउने घोषणा कार्यान्वयनका लागि सिन्को पनि भाँचिएको छैन।

सेबोनमा ९ महिनादेखि पूर्णकालीन नेतृत्व नहुँदा सार्वजनिक निष्कासन मात्रै नभएर कानुनी सुधारका विषय भ्याकुममा छन्।

मार्जिन ल्याण्डिङ, डिलर सेवा विस्तार, इन्ट्रा डे कारोबार, अक्सन मार्केटको व्यवस्था, सामूहिक लगानी कोषको सञ्चालन, छुट्टै ओटीसी मार्केट लगायत सुधारका काम अघि बढेका छैनन्।

त्यस्तै, नेप्से इन्डेक्स ३० सञ्चालन, कम्पनीको आइपीओ निष्कासनपछि पहिलो कारोबारको ओपनिङ रेन्जमा पुनर्विचार गर्ने नेप्सेको प्रस्तावमा अर्थ मन्त्रालयका प्रतिनिधिका रुपमा नेप्से अध्यक्ष रहेका शोभाकान्त पौडेलले निर्णय गर्न मानेका छैनन्।

यसबाहेक बजारमा घटेको मागका कारण बैंक तथा वित्तीय संस्थादेखि नेप्सेमा सूचीकृत अन्य कम्पनीले व्यापार बढाउन सकेका छैनन्। व्यापार खुम्चिएका कारण कम्पनीहरुको वासलात राम्रो छैन।

बजार चलायमान बनाउने मुख्य जिम्मेवारीमा रहेका पौडेलले दुई महिनाको अवधिमा माग सिर्जना गर्ने एउटै निर्णय गरेका छैनन्। उनी केवल सरकार व्यवसायीहरुका गुनासा सम्बोधन गर्न तयार छ भन्ने भाषण गर्ने भूमिकामा सीमित छन्।

नेप्सेका कर्मचारीले बुधबार पौडेलसामु बजारको सुधारका लागि गर्नुपर्ने कामबारे प्रस्तुति गरेर स्मरण गराए। तर, उनले जवाफ दिएनन्।

अर्थमन्त्री विष्णु पौडेल नेप्सेमा कर्मचारीको प्रस्तुति सुन्दै

नेप्से पुगेर १७ मिनेट बोलेका पौडेलको चिन्ता बजार घट्नुमा देखिन्थ्यो। ‘नेप्सेमा किन भोलाटायल भयो? यो प्रश्नको जवाफ खोज्न आएको हुँ। यो जवाफ नपाएसम्म सोधिरहन्छु,’ उनले भने, ‘यो प्रश्नको जवाफ म आफैंसँग खोज्छु। सचिवसँग खोज्छु। नेप्सेका कर्मचारीसँग खोज्छु।’

यो पनि पढ्नुहोस्: सेयर बजारमा निरन्तरको गिरावटले अर्थमन्त्री तनावमा, ‘३ हजारबाट किन २५०० मा आयाे? जवाफ चाहियो’

सेयर बजारमैत्री अर्थमन्त्री पौडेलको परिचयजस्तै बनेको छ। उनी अर्थमन्त्री हुँदा बजारले उचाइ लिएको इतिहास छ। यसपटक पनि पौडेलले सोही विरासत कायम राख्न चाहेका छन्।

सत्ता समीकरण फेरिएपछि नेप्से असार १७ यता निरन्तर उकालो लागेर साउन ३१ गते ३००० विन्दुमा पुगेको थियो। त्यसदिन २९ अर्ब ९५ करोड रुपैयाँको कीर्तिमानी कारोबार भएको थियो। सेयर बजारमा डेढ महिनामा देखिएको उत्साहलाई प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले सरकारप्रति लगानीकर्ताले देखाएको भरोसाको प्रमाणका रुपमा व्याख्या गर्दै आएका छन्।  

मन्त्री पौडेलले भदौ ७ गते एमाले निकट व्यवसायीहरुले गरेको कार्यक्रममा सेयर बजारको वृद्धिलाई देखाउँदै ‘अहिले अर्थतन्त्रका समग्र परिसूचकका बारेमा मैले चर्चा गर्नुपर्छ जस्तो लाग्दैन। यहाँहरु आफैंले हेरिरहनु भएको छ, बिहानदेखि साँझसम्म अर्थतन्त्र कहाँ पुग्यो भनेर’ भन्न भ्याए।

तर, उनले त्यसो भनेयता नेप्से निरन्तर ओरालो लागिरहेको छ। बजार उकालो लाग्ने वातावरण बनाउने जिम्मेवारीमा रहेका उनै पौडेल यतिखेर आफ्नो जिम्माको काम गर्नुको साटो स्टन्टबाजीस्वरुप जवाफ खोज्दै हिंडेका छन्।