नेप्से-३० सञ्चालनको प्रस्ताव ८ महिनादेखि अड्कियो, अध्यक्ष पौडेल नै विपक्षमा



सुनिल कुँवर
२०८१ साउन २७ गते ०६:५२ | Aug 11, 2024
नेप्से-३० सञ्चालनको प्रस्ताव ८ महिनादेखि अड्कियो, अध्यक्ष पौडेल नै विपक्षमा

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकांक (इन्डेक्स)-३० सञ्चालनमा ल्याउने प्रस्ताव सञ्चालक समितिमै अड्किएको छ।

Tata
GBIME
Zonsen

नेप्से नेतृत्वले नचाहेका कारण नेप्से इन्डेक्स-३० सञ्चालनको प्रस्ताव ८ महिनादेखि अड्किएको हो। नेप्सेले आर्थिक वर्ष २०८०/८१ भित्र इन्डेक्स-३० सञ्चालनमा ल्याइसक्ने गरी कार्ययोजना बनाएको थियो।

तर, नेप्सेका अध्यक्षले नचाहेका कारण प्रस्ताव सञ्चालक समितिमै अनिर्णित बनेको हो। नेप्सेको अध्यक्षमा अहिले सहसचिव शोभाकान्त पौडेल छन्।

उनले नेप्से इन्डेक्स-३० सञ्चालनमा ल्याउन चाहेका छैनन्। इन्डेक्स-३० सञ्चालनका लागि नेप्सेले गत वर्ष भदौमै नेप्से सूचकांक सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आन्तरिक कार्यविधि बनाएको थियो।

कार्यविधिका आधारमा इन्डेक्स व्यवस्थापन समिति गठन गरिएको थियो। समितिले कात्तिकमै नेप्से इन्डेक्स-३० सञ्चालन गर्न २०७९/८० असार मसान्तसम्म सूचीकृत कम्पनीहरुको अद्यावधिक विवरण तथा कार्यविधि अनुसार ३० कम्पनीलाई नेप्से-३० मा समावेश गरेर सूचकांक गणना गर्ने र प्रकाशन गर्न स्वीकृतिका लागि प्रस्ताव सञ्चालक समितिमा पेस गर्ने निर्णय गरेको थियो।

समितिको निर्णय अनुसार नेप्से व्यवस्थापनले प्रस्ताव मंसिरमा सञ्चालक समितिमा लग्यो। तर, त्यसयता बसेको सञ्चालक समितिले नेप्से सूचकांक-३० सञ्चालनबारे निर्णय गरेको छैन। प्रस्ताव सञ्चालक समितिमा अड्किएको छ।

नेप्से व्यवस्थापनले वित्तीय अवस्था अब्बल भएका ३० कम्पनीलाई इन्डेक्स-३० समावेश गर्न चाहेको छ। वित्तीय अवस्था राम्रो भएका कम्पनीलाई इन्डेक्स-३० मा समावेश गर्दा लगानी गर्नका लागि छनोट गर्न लगानीकर्तालाई सहज हुने जानकारहरु बताउँछन्।

तर सञ्चालक समिति अध्यक्षले नचाहेका कारण इन्डेक्स-३० को प्रक्रिया अघि बढ्न नसकेको नेप्सेका कर्मचारीको भनाइ छ। केही कम्पनीको सूची प्रकाशन गर्दा विवादमा पर्ने जोखिम देखेपछि पौडेल इन्डेक्स-३० सञ्चालन गर्न हच्किएको स्रोतले बतायो।

नेप्से इन्डेक्स ३० कार्यान्वयनमा ल्याउन प्रस्ताव गरिए पनि सञ्चालक समितिमै अड्किएको नेप्से व्यवस्थापनको भनाइ छ।

‘नेप्से इन्डेक्स-३० गत वर्ष नै कार्यान्वयनमा आइसक्नुपर्ने थियो। हामीले ढिला नगरौं भन्दा बोर्डबाट अगाडि बढ्न सकेन। अध्यक्षज्यूले विवादमा परिन्छ भनेर निर्णय गर्न मानिरहनुभएको छैन,’ नेप्सेका एक कर्मचारीले भने, ‘बोर्डमै रोकिएका कारण छलफलमै छ भन्नुपर्ला।’

हाल नेप्सेमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर नेप्से इन्डेक्स र संस्थापक सेयर सेन्सेटिभ इन्डेक्समा गणना भएर कारोबार भइरहेको छ।

अध्यक्ष पौडेलले सेयर बजारको आकार सानो भएका कारण नेप्से इन्डेक्स-३० सञ्चालनको विषयमा नै पुनर्विचार गर्न आवश्यक रहेको बताए। ‘नेपालमा पुँजी बजारको आकार नै सानो छ। यसमा नेप्से-३० ल्याएर प्रभावकारी हुन्छ जस्तो लाग्दैन। अहिलेको प्रस्तावमाथि पुनर्विचार गर्नुपर्छ भन्ने छ। बोर्डले त्यसमा छलफल गर्दैछ,’ उनले भने।

सञ्चालक समितिमा अड्किएको इन्डेक्स-३० को प्रस्ताव मात्र होइन, आइपीओ निष्कासनपछि पहिलो कारोबारका लागि प्रदान गर्ने ओपनिङ रेन्ज पुनर्विचार गर्ने प्रस्तावमा पनि निर्णय हुन सकेको छैन।

नेप्से व्यवस्थापनले यो प्रस्ताव पनि सञ्चालक समितिम गत मंसिरमै लगेको थियो। पहिलो कारोबारका लागि नेटवर्थको तीन गुणासम्म मूल्य प्रदान गर्दा खराब वित्तीय विवरण भएका कम्पनीमा लगानीकर्ता ठगिने जोखिम रहेको निष्कर्षसहित नेप्से व्यवस्थापनले ओपनिङ रेन्ज घटाउन चाहेकामा पौडेलले यसमा पनि निर्णय गर्न मानिरहेका छैनन्।