राष्ट्र बैंकलाई ‘फेक’ विवरण बुझाएर पेवेल र सजिलो पेमेन्टले जारी गर्थे ‘सेटलमेन्ट’भन्दा बढीको ई-मनी

सविन ढकाल
२०८१ असार १७ गते १९:०३ | Jul 1, 2024
राष्ट्र बैंकलाई ‘फेक’ विवरण बुझाएर पेवेल र सजिलो पेमेन्टले जारी गर्थे ‘सेटलमेन्ट’भन्दा बढीको ई-मनी
सुन तस्करीको रकम ट्रान्सफर गर्नेको नेक्ससबारे सीआइबीले बनाएको रिपोर्ट ।

काठमाडौं। सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ६१ किलो सुन प्रकरणमा थप अनुसन्धान गर्दा ३ हजार १९४ किलो सुन विदेशबाट नेपाल तस्करी भएको खुलेको छ। तस्करी भएको सुनको मूल्य ३० अर्ब ८२ करोड २२ लाख ९१ हजार २७२ रुपैयाँ भएको प्रहरीको दाबी छ।

Tata
GBIME

दोस्रो चरणको अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्न रहेको आरोपमा भारतीय र चिनियाँ नागरिकसमेत गरेर २० जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूको सुन ल्याउनेदेखि वितरण गर्नेसम्मको भूमिका देखिएको छ।

विदेशबाट विभिन्‍न इलेक्ट्रिक उपकरणभित्र राखेर ल्याइएको सुनको भुक्तानीमा दुईवटा वालेट कम्पनीहरू जोडिएका छन्। सजिलो पे र पेवेलबाट सुनको रकम भुक्तानी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।

२०८० वैशाख १२ गतेदेखि २०८१ जेठ २१ गतेसम्म पेवेल वालेटबाट ८६ अर्ब १७ करोड ११ लाख ५३ हजार २५३ रुपैयाँ बराबरको ई-मनी ‘क्रेडिट’ गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। जसमध्ये सबै भन्दा बढी ६१ अर्ब ५० करोड रुपैयाँ भौचर डिपोजिट भएको देखिएको छ।

त्यस्तै, २०७८ जेठ २ गतेदेखि २०८१ जेठ २१ गतेसम्म सजिलो पेबाट ३६ अर्ब ९४ करोड ३५ लाख ७५ हजार २४७ रुपैयाँ बराबरको ई-मनी लोड भएको देखिएको हो। जसमा १९ अर्ब ४६ करोड २५ लाख ७३ हजार ७८५ रुपैयाँ बराबरको भौचर अपलोड गरि ‘क्यास इन’ भएको देखिन्छ।

दुई कम्पनीले ‘सेटलमेन्ट’ अकाउन्ट बाहेक अन्य खाताबाट ई-मनी जारी गरेर कारोबार गरेको खुलेको हो।

सजिलो पेले सन् २०२४ अप्रिल १९ मा सेटलमेन्ट बैंकको खातमा १८ लाख ९० हजार ६५८ रुपैयाँ डिपोजिट गरेको देखिएको छ। सो कम्पनीले नेपाल राष्ट्र बैंकमा ई-मनीको विवरणमा १० लाख ९५ हजार ८५३ रुपैयाँ भएको खुलाउँछ। तर प्रहरीले सिल्क इनोभेसनबाट लिएको विवरणमा वास्तविक ई-मनीको रकम १० करोड १२ लाख १८ हजार ९५८ रहेको देखिन्छ।

यसरी विभिन्‍न मितिमा लाख रुपैयाँ डिपोजिट गरेर करोडमा ई-मनी जारी गरेको कम्पनीले देखाएको अनुसन्धानमा खुलेको हो। राष्ट्र बैंकमा उपलब्ध गराइको विवरण भने डिपोजिट रकमभित्र नै बसेर गरेको देखिएको छ।

यी दुई वालेट कम्पनीले राष्ट्र बैंकलाई समेत झुक्याएर ई-मनी लोड गरेको पाइएको छ। ई-मनी लोड गर्दा यस्ता वालेटले रकम डिपोजिट गर्नुपर्ने हुन्छ। पेवेलको कुमारी बैंकमा डिपोजिट खाता रहेको थियो। तर यी वालेटले डिपोजिट रकमभन्दा धेरै गुणा रकम ई-मनीमा जारी गर्ने गरेको देखिएको छ।

तर राष्ट्र बैंकलाई उपलब्ध गराउने तथ्यांकमा भने उनीहरूले ई-मनी डिपोजिट रकमभन्दा बढी नभएको कागजपत्र प्रस्तुत गर्ने गरेका थिए। प्रहरीले फेला पारेको तथ्यांकमा ९२ दिन मात्र ‘सेटलमेन्ट’ मनि भन्दा कम बसेर बाँकी सबै दिनमा बढी ई-मनि जारी गरेको खुलेको हो।

‘राष्ट्र बैंकलाई मात्र होइन। हामीलाई उपलब्ध गराइएको कागजपत्र समेत वास्तविकताभन्दा फरक देखिएको छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने।

प्रहरीले अनुसन्धानको क्रममा दुई वालेट कम्पनीका अध्यक्षसहित कर्मचारी र एजेन्ट गरेर ८ जनालाई पक्राउ गरेको छ। अस्ट्रेलिया, दुबई, दक्षिण कोरिया लगायत देशबाट रेमिटेन्स स्वरूप पठाएको रकम वैध प्रक्रियाबाट नेपाल नभित्र्याई रकम विदेशबाट नै अन्यन्त्र स्थानान्तरण गरि अवैध सुनको कारोबारबाट प्राप्त रकम नेपालमा रेमिटेन्सबाट प्राप्त गर्ने व्यक्तिलाई विभिन्‍न बैंक खातामा जम्मा गर्ने गरिएको देखिएको छ।

सजिलो र पेवेलले नेपाल राष्ट्र बैंकको स्वीकृति बिना नै एजेन्ट मार्फत नगद कारोबार गरेको देखिएको छ। पेवेलमा १ हजार ९५९ एजेन्ट रहेका थिए। जसमा १ हजार ५४७ जना मात्र एक्टिभ देखिएका छन्। त्यसमध्ये भौचर अपलोड गर्नेको संख्या ३९९ मात्र रहेको देखिन्छ।

भएका एजेन्टभन्दा ८ जना एजेन्टको १ अर्बभन्दा बढी क्रेडिट डिपोजिट रहेको छ। उनीहरूले सुन तस्करीको रकममा कारोबार गरेको देखिन्छ। कुल क्रेडिट रकममा १० करोडभन्दा कम भएका १ हजार ३६२ एजेन्टहरू रहेका छन्।

दुवै वालेटमा रकम बैंकबाट ट्रान्सफर भन्दा पनि सिधै भौचर नै डिपोजिट गरेर राख्ने गरेको देखिएको छ।

त्यस्तै, सुन तस्करीमा जोडिएका पिन्टु भन्‍ने अभिजित तानाजी मुलिकले संचालन गरेको सुन रिफाइनर पसलबाट पेवेल वालेटको विभिन्‍न बैंक खातामा पटक-पटक लाखौं रकम जम्मा गरेको देखिएको छ।

प्रहरीले सुन तस्करी प्रकरणमा पक्राउ गरेका सिद्धार्थ अशोक गाइकवाडले ५ करोड ६९ लाख ५६ हजार ९ रुपैयाँ डिपोजिट गरेको देखिएको छ। धिरज दिनेशको मोबाइलको फरेन्सिक रिपोर्ट हेर्दा पेवेलमा ५ करोड ४१ लाख ४० हजार जम्मा गरेको देखिएको हो। अन्य दुई जना प्रतिवादीले पनि १/१ करोड रुपैयाँ डिपोजिट गरेको खुलेको हो।