आरजु र बेचनसँगै आइजी हुँदै घुमेको कनेक्सन सत्ता परिवर्तनसम्म संयोग कि योजनाबद्ध?

बिजमाण्डू
२०८१ असार १८ गते २१:२८ | Jul 2, 2024
आरजु र बेचनसँगै आइजी हुँदै घुमेको कनेक्सन सत्ता परिवर्तनसम्म संयोग कि योजनाबद्ध?

काठमाडौं। सोमबार मध्यरात एकाएक नयाँ सरकार समीकरणको सम्झौता भएपछि यतिखेर तीन वटा कनेक्सन खोज्न थालिएको छ। सरकार परिवर्तनको कारण नै अहिले तीन विषयमा केन्द्रित रहेको छ। आरजु, आइजी र बेचन। त्यसो त नेकपा माओवादीका नेताहरू र गृहमन्त्री रवि लामिछानेले पनि सरकार परिवर्तनको कारण यतैतिर संकेत गरिरहेका छन्। भ्रष्टाचारका फाइल खोल्ने डर भएपछि रातारात सरकार फेरिएको उनीहरूको दाबी छ।

Tata
GBIME

गृहमन्त्री लामिछानेले सोमबार सार्वजनिक रूपमा नै भ्रष्टाचारको फाइल खोल्ने भएपछि सरकार एक रात पनि टिक्न नसकेको बताइसकेका छन्।

यी परिघटनामा फेरि तीनै तीन पात्र घुमिरहेका छन्। शुक्रबार एकाएक नक्कली भुटानी शरणार्थी प्रकरणका दुई आरोपी समातिए। समातिएका दुवै जना राजनीतिक संरक्षणमा फरार भएका व्यक्ति थिए। एक वर्षदेखि फरार रहेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र बेचन झा रहेका छन्। दुवै जना एकै समयमा समातिनु संयोग थियो वा योजनाबद्ध?

प्रतीक थापामाथि एक वर्षअघि नै अदालतमा मुद्दा दायर भइसकेको छ। तर बेचन भने अनुसन्धानका सिलसिलामा पक्राउ परेका हुन्। झामाथि अनुसन्धान जारी राख्ने र थप कनेक्सन देखिएका व्यक्तिलाई समात्ने प्रहरीको तयारी छ। बेचनसँगको सम्पर्कमा नेपाली कांग्रेसका नेताहरू देखिएका छन्। त्यस्तै कांग्रेस सांसद एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु पनि जोडिएकी छिन्। तर के कसरी जोडिए? सम्पर्क मात्र थियो वा सम्पर्कबाट अपराधमा सहयोग भन्ने खुलिसकेको छैन।

सहकारी ठगी प्रकरणमा नेपाली काँग्रेसले गृहमन्त्री माथि छानबिन गर्ने समिति गठन गर्नुपर्ने माग गर्दै संसद् अवरुद्ध गरेदेखि गृहमन्त्री लामिछाने कांग्रेसप्रति आक्रोशित छन्। त्यसैले उनी हर हालतमा काँग्रेसका नेतालाई दबाबमा राख्ने रणनीतिमा थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो चरणमा नै आरजुको नाम जोडिएर आयो। तर त्यतिखेर उनीमाथि अनुसन्धान भएन वा प्रहरीले अनुसन्धान गर्ने प्रमाण भेटाएन। सतहमा ठूलै हल्ला भए पनि आरजुमाथि कुनै एक्सन लिएन। त्यसमा सरकारमा नेपाली कांग्रेस भएकाले पनि प्रहरीले कारबाही नगरेको भन्ने आरोप पनि लागेको थियो।

‘हामीले हेरका हौं त्यतिखेर कुनै यथेष्ट प्रमाण थिएन। हल्ला र बोलेका भरमा नै समात्ने कुरा भएन। पछि प्रमाण भेटिए अनुसन्धान गर्ने ठाउँ थियो,’ अनुसन्धानमा खटिएका एक उच्च प्रहरी अधिकृतले भने।

तर रविले पछिल्लो समय आरजु केसलाई नै कांग्रेसमाथि दबाब राख्ने हतियार बनाएका थिए। त्यति मात्र होइन आरजु राणा टिकापुर जग्गा प्रकरणमा पनि मुछिन्। त्यसैको अनुसन्धानमा प्रहरीले आरजुमाथि अनुसन्धान गर्ने बाटो भने पाएको थियो। उच्च प्रहरी अधिकृत र प्रधानमन्त्री पुष्पकमल दाहालसँग रविले आरजुको अनुसन्धान र पक्राउबारे छलफल गरेका थिए।

एकाएक शुक्रबार बेचन समातिएपछि पुनः शरणार्थी प्रकरणले अर्को मोड लिने अपेक्षा गरिएको थियो।

बेचनलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले पक्राउ गरेको हो। उनलाई भारतबाट महेन्द्रनगर हुँदै काठमाडौं ल्याइएको थियो। अहिले विशेष ब्युरोको नेतृत्व डिआइजी डाक्टर मनोज केसीले गरिरहेका छन्। केसी तिनै प्रहरी अफिसर हुन् जसले भुटानी शरणार्थीमा पहिलो अनुसन्धान गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी हुँदा उनी अपरेसनमा नै खटिएका थिए। त्यसको केही महिनामा नै उनको सरुवा भयो। अहिले उनै प्रहरी अधिकृत केसीको टोलीले पक्राउ गर्नु यसमा पनि संयोग वा योजना?

बेचन समातिने समयमा नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर भने अमेरिकामा थिए। कार्यबाहक महानिरीक्षक जिम्मेवारी एआइजी दीपक थापाले सम्हालिरहेका छन्। हुन त अपराधी समातिँदा प्रहरी महानिरीक्षक हुनुपर्छ भन्ने छैन। तर शरणार्थी केस हाई प्रोफाइल व्यक्ति समातिँदा कतिपय केसमा आइजीले थाहा नै नभएका घटना पनि थिए। शरणार्थी प्रकरणको अनुसन्धान चल्दा काठमाडौं प्रहरी कार्यालयमा प्रमुख थिए एआइजी श्याम ज्ञवाली। आइजी बन्नबाट रोकिएपछि ज्ञवाली र आइजीमा राम्रो सम्बन्ध थिएन। ज्ञवालीले पनि समान्तर ‘आइजी’झैँ संगठन चलाइरहेका आरोप समेत नलागेको होइन।

शरणार्थी प्रकरणमा सहयोग गरेकाले कुँवरलाई महानिरीक्षक बनाइएको भन्ने आरोप पनि लाग्दै आएको छ। त्यसैले अहिले पनि कुँवर यस प्रकरणको अनुसन्धानलाई खासै सहयोग नगरेको उच्च प्रहरी अधिकृतको आरोप छ।

‘उहाँ देशभित्र हुँदा सूचना लिक हुने सम्भावना देखेर नै अहिले समातेको हुनुपर्छ। यो संयोग होइन योजना अनुसार नै बेचनलाई ल्याएको हो,’ एक उच्च प्रहरी अधिकृतले भने।

त्यसो त २०७६ मा अफताव आलम पक्राउ पर्दा पनि तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल देशबाहिर थिए। उनीसँग आइजीको प्रतिस्पर्धामा रहेका एआइजी पुष्कर कार्कीको टोलीले आलमलाई पक्राउ गरेको थियो। यस विषयमा पनि दुईबिच द्वन्द्व सृजना भएको थियो।

त्यसो त गृहमन्त्री रवि लामिछाने पनि आइजीसँग सन्तुष्ट छैनन्। यता प्रहरी महानिरीक्षक पनि मन्त्रीको व्यवहार देखेर आजित भएको हेडक्वार्टर स्रोतको दाबी छ। गृहमन्त्री लामिछानेलाई गृह प्रशासन नबुझ्ने र ‘फन्डा मन्त्री’ को संज्ञा दिने गरेका छन्। ६१ किलो सुन प्रकरणमा अनुसन्धानमा गर्ने प्रहरीलाई कारबाही गरेपछि गृहमन्त्री लामिछानेको काम कारबाहीमा थप प्रहरी रुष्ट बनेका छन्।

शरणार्थीमा जोडिएका बेचन पक्राउ, आइजी कुँवर देश बाहिर, आरजुमाथि अनुसन्धानको अंकुश र नयाँ सत्ता समीकरण अहिले संयोग कि योजनाबद्ध भन्ने प्रश्न बनिरहेको छ।