रविले आइतबार पाएको त्यो सूचना, जसलाई विश्वास गरेनन्, पुससम्मै समीकरण जाने कन्फिडेन्समा थिए

बिजमाण्डू
२०८१ असार १८ गते १२:१३ | Jul 2, 2024
रविले आइतबार पाएको त्यो सूचना, जसलाई विश्वास गरेनन्, पुससम्मै समीकरण जाने कन्फिडेन्समा थिए

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको तीन घण्टा लामो वार्तापछि सरकारको आयुका बारेमा विभिन्न अनुमानहरु सार्वजनिक भइरहेका थिए।

Tata
GBIME

प्रमुख सत्ता साझेदार दलका अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति देउवालाई भेटेर तीन घण्टा बिताउनु सामान्य विषय थिएन। तर, सत्ता साझेदारको रुपमा प्रमुख भूमिकामा रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमा भने छुट्टै कन्फिडेन्स देखिन्थ्यो।

उनी अहिलेको सत्ता समीकरण पुससम्म जाने जिकिर गर्दै बसेका थिए। स्रोतका अनुसार लामिछानेलाई आफ्ना सचिवालयका सदस्यहरुले समीकरण भत्किन लागेको जानकारी गराएका थिए। तर, त्यो सूचनालाई लामिछानेले हल्का रुपमा लिए।

स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र अर्थमन्त्री वर्षमान पुनले तत्कालै समीकरण नफेरिने दाबी प्रस्तुत गरेका थिए। आइतबार लामिछाने र पुनबीच लामै छलफल भएको थियो। त्यो छलफलका आधारमा पनि लामिछानेले पुससम्म सत्ता समीकरणमा कुनै फेरबदल नआउने जिकिर गरेको स्रोतले बतायो।

लामिछाने कन्फिडेन्ट हुनुमा प्रधानमन्त्री प्रचण्डले दिएका केही आडभरोसा थियो। त्यसमा पनि भुटानी शरणार्थी मुद्दामा राजनीतिक साइनो जोडिएका बेचन झा पक्राउले पनि लामिछाने सत्ता नफेरिने विश्वासमा थियो। प्रचण्डले आस र त्रास देखाएर गरिरहेको राजनीति लामै समयसम्म जाने अनुमान उनमा हाबी देखिएको थियो। त्यही भएर सोमबार संसदमा २५ वटा ठूला फाइल खोल्ने योजना सुनाइरहेका थिए।

संकटका बेलामा दुई पटकसम्म उपप्रधान तथा गृहमा पुर्‍याएका सारथी एमाले अध्यक्ष ओलीले सरकारविरुद्ध गरेको सर्जिकल स्ट्राइकको सुईंको समेत पाएनन्। सूचनाको हबमा बसेका लामिछाने सोमबारसम्म पनि बेखबरजस्तै देखिन्थे।