काठमाडौं। लगानी बोर्डले अगाडि सारेका आयोजनामा लगानी गर्न लगानीकर्ताहरू अनिच्छुक देखिएका छन्। बोर्डले १२ वटा आयोजनामा लगानीका लागि आशयपत्र मागेकामा २ वटाका लागि मात्र आवेदन परेको छ।
२ आयोजनामा पनि एक/एक वटा मात्र आवेदन परेको हो। ४ वटा आयोजनामा आवेदन बुझाउने म्याद सकिन एक साता बाँकी छ। बोर्डले लगानी सम्मेलनमा सोकेसमा राखिएका आयोजनामा लगानीका लागि आशयपत्र मागेको थियो।
लगानी सम्मेलन सुरु भएकै दिन गत वैशाख १६ गते ३० दिनको समय दिएर आशयपत्र मागेको थियो। तोकिएको मितिमा आवेदन नपरेपछि बोर्डले ३० दिन म्याद थपेको थियो। थपिएको म्याद मंगलबार सकिएको छ।
जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज र बबरमहल प्रशासनिक प्लाजा निर्माण आयोजनामा मात्र लगानीकर्ताले रुची देखाएका छन्।
‘यी दुई आयोजनामा मात्रै आवेदन परेको छ। दुवै आयोजनाका लागि एक/एक कम्पनीले आवेदन दिएका छन्,’ बोर्ड स्रोतले भन्यो, ‘अन्य ६ वटा परियोजनामा भने लगानीकर्ता इच्छुक देखिएनन्।’
आवेदन परेका दुई आयोजनाको कुल लागत १२ अर्ब ५५ करोड रुपैयाँ छ। बोर्डले गरेको अध्ययन अनुसार जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज आयोजनामा २ अर्ब ३५ करोड र बबरमहल प्रशासनिक प्लाजामा १० अर्ब २० करोड रुपैयाँ खर्च हुनेछ।
जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज आयोजना निर्माणका लागि सोल्टी होटेल ग्रुप अन्तर्गतको सोल्टी सिबक्रिम प्रालिले आवेदन दिएको छ। सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले आफूहरू इच्छुक भएकाले आवेदन दिएको बताए।
‘यसमा अहिले सबै कुरा खुलाइएको छैन। हामी यो परियोजना निर्माण गर्न इच्छुक छौं भन्ने सुनिश्चितताका लागि आवेदन दिएका हौं,’ उनले भने, ‘यसमा सरकारले लगानीको मोडालिटी तयार पारेपछि मात्रै हामीले बनाउने/नबनाउने निश्चित हुन्छ।’
यस परियोजना अन्तर्गत जनकपुरमा सुविधासम्पन्न होटल, सांस्कृतिक गाउँ विकास र सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य छ। भारतीय पर्यटकलाई लक्षित गरी यो आयोजना अगाडि सारिएको हो। यो आयोजना सम्पन्नपछि भारतीय पर्यटकको नेपाल आगमन बढ्ने बोर्डको विश्वास छ।
बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि गन्सु-एसएस-ल्यान्डमार्क इच्छुक देखिएको छ। यो परियोजना विकासका लागि सहरी विकास मन्त्रालयले प्रस्ताव गरेको हो। ३० हजार २१ वर्गमिटरमा फैलिने प्लाजामा विभिन्न सरकारी कार्यालय राख्ने लक्ष्य छ।
आवेदन नपरेका आयोजना
बोर्डले पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन एक्सप्रेस वे, धुलिखेल मेडिसिटी, सुदूरपश्चिम पब्लिक यातायात, दैजी औद्योगिक पार्क र गौतम बुद्ध म्याटरनिटी अस्पताल निर्माणका लागि पनि आशयपत्र माग गरेकामा कसैको पनि आवेदन परेन।
पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परियोजना लगानी सम्मेलनमा सोकेसमा राखिएको थियो। यो परियोजनाको अनुमानित लागत ३ अर्ब ७२ करोड रुपैयाँ छ।
यो परियोजना अन्तर्गत पोखरा विमानस्थलबाट १८ किलोमिटरको दूरीमा २०० कोठाको पाँचतारे होटल, रेष्टुरेन्ट, ३ हजार मानिस अटाउने सम्मेलन हल, म्युजियम र बाल उद्यान संचालन गर्ने लक्ष्य छ।
सडक परियोजनामा हालसम्मकै ठूलो आयोजना चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन एक्सप्रेस वेमा पनि लगानीकर्ता इच्छुक देखिएनन्। काठमाडौं-चितवनको दूरी १ घन्टामा छोट्याउने ठानिएको आयोजनाको अनुमानित लागत २ खर्ब २१ अर्ब रुपैयाँ छ।
११ अर्ब रुपैयाँ अनुमान गरिएको धुलिखेल मेडिसिटी परियोजना लगानीकर्तालाई आकर्षित गर्न असफल भएको छ।
६८ वटा डिजेल र १०४ वटा विद्युतीय बस संचालन गर्ने तथा ४७ स्थानमा बस बिसौनी बनाउने तथा ठाउँ-ठाउँमा पेट्रोलपम्प र चार्जिङ स्टेसन राख्ने भनिएको सुदूरपश्चिम पब्लिक यातायात आयोजनाले समेत लगानीकर्ताको मन तान्न सकेन। यो आयोजनामा ३१ अर्ब १३ करोड रुपैयाँ खर्च हुने अनुमान छ।
यस्तै, दैजी औद्योगिक पार्क परियोजनाका लागि पनि कसैको आवेदन नपरेको बोर्डले जनाएको छ। १०० वटा औद्योगिक प्लट, ठूला सवारीसाधन पार्किङ क्षेत्र, प्रशासनिक ब्लक, हेलिप्याड, पेट्रोलपम्प, तौल स्टेसन, पानी आपूर्ति र फायर फाइटिङ सिस्टमसहितको औद्योगिक पार्क बनाउन ८ अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएकामा कसैले पनि चासो नदिएका हुन्।
‘मेडिकल टुरिज्म’को अवधारणा अन्तर्गत गौतम बुद्ध म्याटरनिटी अस्पताल निर्माणको योजना अगाडि सारिएकामा निर्माणमा कुनै कम्पनीले रुची देखाएनन्। यसको अनुमानित लागत करिब ४ अर्ब रुपैयाँ हो।
बाँकी ४ परियोजना
बोर्डले थप ४ आयोजना अगाडि बढाउनका लागि आशयपत्र मागेको छ। २८१.०४ मेगावाट क्षमताको नौमुरे मल्टिपर्पोज आयोजना, ६५० मेगावाट क्षमताको कालीगण्डकी-२ जलाशययुक्त जलविद्युत् आयोजना, १२१६ मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् परियोजना र ३३७.१ मेगावाट क्षमताको भारभुङ जलाशययुक्त जलविद्युत् आयोजनाका लागि आवेदन बुझाउने म्याद जुलाइ १२ सम्म छ।
नौमुरे मल्टिपर्पोज आयोजनाको लागत ९२ अर्ब, कालीगण्डकी-२ जलाशययुक्त आयोजनाको १ खर्ब ७४ अर्ब ७३ करोड, खिम्ती ठोसे शिवालय जलाशययुक्त आयोजनाको २ खर्ब ८९ अर्ब ७७ करोड र भारभुङ जलाशययुक्त आयोजनाको अनुमानित लागत ८० अर्ब १२ करोड रुपैयाँ छ।










