अण्डाको मूल्य हालसम्मकै उच्च, बजार माग अनुसार उत्पादन वृद्धि भए मात्रै घट्न सक्ने

सरला सुवेदी
२०८१ असार १७ गते ०६:२२ | Jul 1, 2024
अण्डाको मूल्य हालसम्मकै उच्च, बजार माग अनुसार उत्पादन वृद्धि भए मात्रै घट्न सक्ने

काठमाडौं । अण्डाको मूल्य हालसम्मकै उच्च कायम भएको छ। बजार मागका अनुपातमा उत्पादन घटेका बेला अण्डाको मूल्य बढ्न थालेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ। 

Tata
GBIME

यतिबेला अण्डाको मूल्य क्रेटमा २० रुपैयाँ बढेको नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले बताए। ‘अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ,’ उनले भने।

संघले तोकेको  नयाँ मूल्य अनुसार एक्सएल अण्डा प्रतिक्रेट ५१० रुपैयाँ पुगेको छ। ठूलो अण्डा ४९५ रुपैयाँ र मिडियम ४६५ रुपैयाँ छ। गत सातासम्म एक्सएल अण्डा प्रतिक्रेट ५०० रुपैयाँ थियो। त्यस्तै अण्डा ठूलो ४८० र मिडियम ४६० रुपैयाँमा कारोबार भइरहेको थियो।

उक्त मूल्य अनुसार उपभोक्ताले प्रति क्रेट ५०० देखि  ५५० रुपैयाँ खरिद गरिरहेका थिए। अब उपभोक्ता खरिद मूल्य थप महँगो पर्ने भएको छ।

अध्यक्ष पोखरेलका अनुसार हाल वृद्धि भएको मूल्य किसानले पाउने मात्र हो। ‘उपभोक्ताका लागि मूल्यवृद्धि भएको होइन,’ उनको दाबी छ। तर, बजारमा भने उपभोक्ताले अण्डाको लागि बढी मूल्य तिरिरहेका छन्।

उनका अनुसार बजार मागका अनुपातमा अण्डाको उत्पादन बढेको छैन।

‘दुई-चार महिनादेखि  अण्डा उत्पादन घट्दै छ, बजार माग बढ्दै छ,’ उनले भने, ‘बजारको मागअनुसार आपूर्ति नहुँदा मूल्य बढ्नु अस्वाभाविक होइन,’ अण्डा उत्पादनमा लागत पनि बढेको भन्दै उनले बताए।

संघका अनुसार यतिबेला ५० लाख लेयर्स कुखुराबाट २५ लाख अण्डा उत्पादन भइरहेको छ। केही समयअघिसम्म ३० लाख गोटा अण्डा उत्पादन भइरहेकोमा अहिले उत्पादन घटेर २५ लाखको हाराहारीमा छ। उत्पादनले बजार पाएन भन्नुपर्ने अवस्था छैन। उत्पादन बढेपछि मूल्य घट्दै जाने संघको तर्क छ।

हालको मूल्यअनुसार किसानले बल्ल लागत पाउन थालेको अध्यक्ष पाोखरेलले बताए। अण्डा प्रति क्रेट मूल्य ४९५ रुपैयाँ पुगेपछि किसानले लागत अनुसारको मूल्य पाएको उनको दाबी छ। गत सातासम्म प्रतिक्रेट १५ रुपैयाँ किसानलाई घाटा थियो।

किन घट्यो उत्पादन ?

दानाको मूल्य बढ्दै गएपछि यसको असर कुखुरा उत्पादन र अण्डा उत्पादनमा परेको हो। अघिल्ला वर्षदेखि किसान तथा व्यवसायीहरुले लागत मूल्य नपाएपछि व्यवसाय नै छोड्न थालेका थिए। पोल्ट्री क्षेत्रमा त्यसको असर अझै कायम छ।

विभिन्न कारणले अण्डाको उत्पादन घट्दै गएको खिलुङ कालिका एग्रो फर्मका प्रबन्ध निर्देशक सोभाकन्त ढकालले बताए। पछिल्लो समय वर्डफ्लुका कारणले कुखुराको संख्या घटेको छ। यस्तै, गर्मीका कारण फार्ममा तापक्रम नमिलेर र कोभिड १९ ले व्यवसायमा समस्या भएपछि उत्पादन घट्दै गइरहेको उनको बुझाइ छ।

किसान तथा व्यवसायीहरुले बजारमा माग र खपतका अवस्था हेरेर उत्पादन गर्ने सोच बनाउने गरेका छन्। ठुला फार्महरु भन्दा साना फार्महरु लामो समयसम्म ‘सस्टेन’ हुन नसकेपछि बन्द भएका थिए। यस्ता विभिन्न कारण गर्दा अण्डा मासु लगायको उत्पादन घटेको ढकालको भनाई छ।

‘अहिले उत्पादन कम भएरै रेट बढ्दै गएको हो’। यतिबेला मूल्य धेरै भएपछि आगामी दिनमा उत्पादन बढ्न सक्छ,’ उनले भने।

उत्पादन बढे पनि आउने दिनमा मूल्य पनि ह्वात्तै घट्ने सम्भावना भने कम रहेको बताउँछन् अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेल।

‘उत्पादन ह्वात्तै नबढ्ने भएकाले आउने समयमा उत्पादन वृद्धि भइहाले पनि अण्डाको मूल्यमा त्यसको असर देखिन समय लाग्छ,’ उनले भने।