महामन्त्री ढकाललाई कारबाही गर्न रास्वपाले सोध्यो स्पष्टीकरण, विवादले संकटको डिलमा पार्टी

बिजमाण्डू
२०८१ असार १४ गते २३:४८ | Jun 28, 2024
महामन्त्री ढकाललाई कारबाही गर्न रास्वपाले सोध्यो स्पष्टीकरण, विवादले संकटको डिलमा पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ। उनलाई रास्वपा अनुशासन आयोगले स्पष्टीकरण सोधेको एक पदाधिकारीले बताए। ‘प्रतिवेदन उपयुक्त छैन भनेर स्पष्टीकरण सोधिएको हो। अहिले नै समीक्षा गर्ने बेला भएको छैन भन्ने छ,’ उनले भने। यस्तै ढकालले चित्त बुझ्दो जवाफ नदिए कारवाही गर्ने तयारी रास्वपाले गरेको छ।

Tata
GBIME

ढकालले एक महिना लगाएर विभिन्न ३८ जिल्लाको भ्रमणपछि बुधवार सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए। प्रतिवेदनपछि रास्वपामा विवाद उत्कर्षमा छ। रास्वपाको निर्मम समीक्षा गर्नुपर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नभइ काठमाडौं महानगरपालिका र धनगढी उपमहानगरका मेयर गोपी हमालसँग मिल्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। पार्टीमा गुटबन्दी भएको तथा आफूमाथि घृणित राजनीति भएको ढकालले बताएका थिए। उनले प्रतिवेदनकै कारण महामन्त्री पद जाने तथा पार्टीबाट हटाइनेसक्ने बताएका थिए।

२०८४ को निर्वाचनमा रास्वपा राष्ट्रिय पार्टी समेत नबन्ने प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले रास्वपा सभापति लामिछानेमाथि नै प्रश्न गरेर प्रतिवेदन बनाएका थिए। रास्वपामा शुद्धिकरण हुनुपर्ने र त्यो सभापतिकै तहबाट सुरु हुनुपर्ने माग उनको थियो। रास्वपा तत्कालीन विवेकशीलको हालतमा पुगिसकेको तथा तत्काल शल्यक्रिया नगरे विवेकशील साझाको हालतमा पुग्ने ढकालको ठम्याइ छ। सरकारमा रहेका रास्वपाका मन्त्रीहरुले सरकारमा रहनुपर्ने औचित्य पुष्टि गर्नुपर्ने तर्क पनि ढकालको छ।

ढकालले प्रतिवेदन सभापति लामिछानेलाई बुझाउनुअघि नै पार्टी विरुद्ध विभिन्न विषय बाहिर ल्याएको भन्दै लामिछाने पक्षका नेताहरु आक्रोशित छन्। उनीमाथि कारवाही हुनुपर्ने माग बुधवारदेखि नै सुरु भएको थियो। यद्यपी केहि नेताहरुले उनको प्रतिवेदनकै आधारमा कारवाही गर्न नहुने मत राखिरहेका छन्। खलेकुद मन्त्री समेत रहेका रास्वपा संसदीय दलका उप नेता विराजभक्त श्रेष्ठले छलफलको महामन्त्रीको प्रतिवेदन छलफलको विषय भए पनि कारवाही नहुने बताए। ‘मैले त समीक्षा हुनुपर्छ भनेर पहिले नै भनेको थिए। अहिले उहाँले पनि भन्नुभयो। उहाँको प्रतिवेदनबारे केन्द्रीय समितिमा छलफल हुन्छ। कारवाही हुने भन्ने हुदैंन,’ श्रेष्ठले भने।

रास्वपाले असार १९ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। त्यसअघि नै उनलाई स्पष्टीकरणको पत्र थमाइएको हो। शुक्रवार अपरान्ह सोधिएको स्पष्टिकरण ढकालको सचिवालयमा पुगिसकेको छ। ढकालले चित्त बुझ्दो जवाफ नदिए कारवाही गर्ने तयारी सभापति लामिछानेले गरेका छन्।

२०७९ को प्रतिनिधि सभाको निर्वाचनको समानुपातिक उम्मेदवार चयनदेखि विवाद चुलिएको रास्वपामा महामन्त्रीको प्रतिवेदनपछि हलचल आएको छ। नागरिकता विवादमै लामिछाने मुछिएका बेला पनि रास्वपाभित्र लामिछानेको आलोचना हुन थालेको थियो। सहकारीको रकम हिनामिनामा लामिछानेको नाम जोडिएपछि उनीमाथि कारवाही हुनुपर्ने माग पार्टीभित्र लामिछाने इतर नेताहरुले गरेका थिए। सहकारी प्रकरणले अप्ठेरोमा परिरहेका लामिछानेलाई ढकालको प्रतिवेदनले थप झस्काएको छ।

उक्त प्रतिवेदनको पक्ष/विपक्षमा रास्वपाका नेताहरु लागेका छन्। रास्वपा नेताहरुका अनुसार पार्टी संकट उन्मुख बनेको छ। ‘महसुस हुनेगरी काम गर्न नसकिरहेका बेलामा कहि कतै हामीले गल्ति गरेउ कि भन्ने त भएको छ। तर प्रतिवेदन महामन्त्रीले नै व्यक्तिगत हो भनिसक्नु भएको छ। यसलाई सभापतिले आवश्यक ठाने केन्द्रीय समितिमा छलफल हुन्छ नभए हुदैन,’ ढकालको प्रतिवेदन अघि बढाउने पक्षमा लामिछाने नरहेको भन्दै सांसद गणेश पराजुलीले भने। ढकालले भने आफ्नो प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका थिए।

रास्वपामा सभापति लामिछानेसँग सांसदहरु सोबिता गौतम, तोसिमा कार्की, विराज भक्त श्रेष्ठ, स्वर्णिम वाग्ले असन्तुष्ट रहदै आएका छन्। अरु बेलामा रास्वपा सभापति लामिछानेको विपक्षमा उभिने केन्द्रीय सदस्य गणेश कार्की महान्त्री ढकालको प्रतिवेदनको भने विपक्षमा उभिएका छन्। उनले पार्टीको जनमत कमजोर बन्नुको जिम्मा महान्त्रीले लिनुपर्ने तर्क गर्दै आएका छन्।

ढकाल लामिछाने निकट मानिने नेता हुन्। यसअघि उनको प्रस्तावलाई लामिछानेले अस्वीकार गर्न समेत अप्ठेरो हुने गरेको थियो। समानुपातिक सूचीको खस आर्यबाट आफूलाई सांसद हुन बन्चित गरेर ढकालले आफू निकटलाई सांसद बनाएको भन्दै कार्कीले आलोचना गर्दै आएका छन्। डोल प्रसाद अर्याल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली लगायतका नेताहरु लामिछानेको पक्षमा छन्। लामिछानेले सुरुदेखि नै अधिकांश सांसदलाई केन्द्रीय समितिमा नराखेर पार्टीका महत्वपूर्ण पदमा आफू इतरलाई स्थान दिएका थिएनन्। तर, केन्द्रीय कमिटीमा आफू निकटहरुलाई पनि थप्ने शर्त सहित उनले रास्वपाका सांसदहरुलाई पनि केन्द्रीय सदस्य बनाए भने विभिन्न जिम्मेवारी दिएका थिए।