मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता बन्याे विशाल ग्रुप, यस्तो थियो प्रतिस्पर्धा

शुक्र गिरी
२०८१ माघ १८ गते १६:५१ | Jan 31, 2025
मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता बन्याे विशाल ग्रुप, यस्तो थियो प्रतिस्पर्धा

काठमाडौं। लामो रस्साकस्सीपछि विशाल ग्रुप जर्मन लक्जरी कार निर्माता मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता बनेको छ।

Tata
GBIME
NLIC

मर्सिडिजको बिक्रेता बन्न अर्को व्यवसायिक घराना शंकर ग्रुप प्रतिस्पर्धामा थियो। शंकर ग्रुपलाई प्रतिस्पर्धामा पछि पार्दै विशाल ग्रुपले आधिकारिक बिक्रेता पाएको हो। मर्सिडिजको बिक्रेता बन्न यी दुई समूह तीन वर्षदेखि दौडमा थिए। उच्च घरानाहरुको रोजाइमा रहेकाले मर्सिडिजमा व्यावसायिक घरानाको आँखा परेको थियो।

मर्सिडिजको आधिकारिक बिक्रेता लिन शंकर ग्रुपले पुरानो बिक्रेता दीपक गौतम एण्ड कम्पनीसँग सेयर खरिदका लागि नेगोसिएसन समेत गरेको थियो।

स्रोतका अनुसार शंकर ग्रुपले सेयर खरिद लगायत प्रक्रिया अगाडि बढाउँदा बढाउँदै मर्सिडिजले बिक्रेता टर्मिनेटे गरेको थियो। दीपक गौतम एण्ड कम्पनीले मर्सिडिजको बिक्री वितरण राम्रोसँग नगरेकोले ठूलो आर्थिक नोक्सानी देखिएको थियो।

मुलुकका धनाढ्य व्यापारीको लगानी रहेको त्यो कम्पनी राम्रोसँग नहेरिएकाले ३० करोड रुपैयाँभन्दा बढी आउटस्ट्यान्डिङ देखिएको थियो।

गाडी खरिद बिक्रीको हिसाबकिताब राम्रोसँग नहुँदा नोक्सानी बढ्दै गएपछि नयाँ साझेदार भित्र्याउन खोजिएको थियो। त्यही आधारमा शंकर ग्रुप दीपक गौतम एण्ड कम्पनीमा भित्रिन खोजेको हो। स्रोतका अनुसार शंकर ग्रुपले मर्सिडिज बेन्जलाई सुरुमै १०० वटा गाडी बेच्ने प्लान समेत बुझाएको थियो।

शंकर ग्रुपले मर्सिडिज भित्र्याउनका लागि अर्को एक घरानासँग साझेदारीको प्रस्ताव गरेको थियो। तर, साथ पाएन। त्यसपछि शंकर समूह र विशाल समूह आधिकारिक बिक्रेताको दौडमा लागेका थिए।

शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले विशाल समूह मर्सिडिज बेन्जको आधिकारिक बिक्रेता नियुक्त भएको जानकारी दिए।

मर्सिडिज बेन्जका लक्जरी कार दुई दशक अघिदेखि नेपाली बजारमा आधिकारिक रुपमा बिक्री हुँदै आएका थिए। तर, ७ वर्षअघि दीपक गौतम एण्ड कम्पनीलाई आधिकारिक बिक्रेताबाट हटाइएको थियो।

कम्पनीले वर्ल्ड क्लास शोरुम र सर्भिस सेन्टर नभएको भन्दै उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नवीकरण गर्न अस्वीकार गरेको थियो। विशाल ग्रुपले अहिले मज्दा, एमजी लगायत ९ वटा गाडी ब्रान्ड नेपाली बजारमा बिक्री गरिरहेको छ।