नेपाली चिया व्यापार धरापमा, समस्या समाधानमा सरकार कहिले हुने गम्भीर?

बिजमाण्डू
२०८१ माघ २३ गते १२:११ | Feb 5, 2025
नेपाली चिया व्यापार धरापमा, समस्या समाधानमा सरकार कहिले हुने गम्भीर?


नेपाली चिया भारत निर्यातमा व्यवसायीलाई सधैं समस्या छ। निर्यात कारोबारमा बेला बेला झमेला आइरहन्छ। नेपाली चियालाई लगाइने झमेला भारतीय सरकारका कारण होइन। दार्जिलिङ, डुवर्सलगायतका क्षेत्रका केही व्यापारीले झिकेको किचलोका कारण नेपाली चिया भारत निर्यातमा विभिन्न समस्या देखिंदै आएको छ। नेपालबाट चिया भारत जाँदा ती व्यापारीलाई असर कति पर्छ, पर्दैन थाहा भएन।

Tata
GBIME
NLIC

भारत आफैंमा विश्वकै दोस्रो ठूलो चिया उत्पादनकर्ता हो। पहिलोमा रहेको चीनले वार्षिक ३० लाख टनभन्दा बढी चिया उत्पादन गर्छ। भारतले वार्षिक १ अर्ब ४० करोडदेखि १ अर्ब ६० करोड केजीसम्म चिया उत्पादन गर्छ। त्यसपछि केन्या, श्रीलंकाले बढी चिया उत्पादन गर्छन्।

भारतको कुरा गर्दा सबैभन्दा धेरै चिया उत्पादन हुने उत्तरी भेगमा हो। असम, तल्लो असम, नागाल्यान्ड, मेघालय लगायतका क्षेत्रमा चिया उत्पादन भइरहेको छ। उत्तर भारतबाट मात्रै १ अर्ब २० करोड केजी चिया उत्पादन भइरहेको छ। भारतको दक्षिणी भेग, हिमाचल प्रदेशलगायत छिटपुट गरेर २५ करोड केजी चिया उत्पादन हुने गर्छ।

नेपालमा हामीले उत्पादन गर्ने चिया भनेको वर्षको २ करोड ८० लाख केजी मात्रै हो। यसमध्ये नेपालबाट निर्यात हुन्छ वार्षिक १ करोड ६० लाख किलो। बाँकी रहेको नेपालभित्रै खपत हुन्छ। भारतको आफ्नो उत्पादनको तुलनामा नेपालबाट ज्यादै थोरै मात्रामा चिया त्यता जान्छ। तर, पछिल्लो केही वर्षयता भारत सरकारले होइन, त्यहाँका व्यापारीहरुले नेपालबाटै थोरै मात्रामा गइरहेको चियाको पनि विरोध गरिरहेका छन्।

त्यहाँका चिया व्यापारीहरुले नेपालबाट जाने चिया ‘सबस्ट्यान्डर्ड’ अर्थात कम गुणस्तरीय भएको लाञ्छना लगाउँदै आयात रोक्नुपर्ने माग गरिरहेका छन्। भारतीय चिया उत्पादकहरुले केन्द्रिय मन्त्री पियूष गोयललाई चिठी लेख्दै नेपालको चिया कम गुणस्तरको हुने आरोप लगाउँदै आयात रोक्न आग्रह गरेका छन्। व्यापारीको लैलैमा सरकारी संस्था चिया बोर्ड पनि लागेको छ।

नेपालबाट जति मात्रामा चिया भारत जान्छ त्यो भारत सरकारको ‘सेन्ट्रल फुड ल्याबोरेटरी’ को परीक्षण पार गरेर मात्रै प्रवेश पाउँछ। पास भएन भने भारत पठाउन पाइँदैन। नेपालबाट एक किलो पनि परीक्षण पास नभइ भारत जाँदैन। चियाको विषयमा भारतको केन्द्र सरकारले अप्ठेरो पारेको मलाई लाग्दैन। चिया बोर्ड र त्यहाँका केही व्यापारीको कुरा सुनेको भए उहिल्यै भारतको केन्द्र सरकारले नेपालबाट चिया आयात गर्न बन्द गर्दिसक्थ्यो। नेपालबाट भारत निर्यात हुने चियामा कुनै कर लाग्दैन।

भारत र नेपालबीच भएको व्यापार सम्झौताअनुसार नेपालबाट भारत जाने चियामा ‘जिरो ड्यूटी’ छ। तर, हामीले भारतबाट आउने चियामा भने ४० प्रतिशत महसुल लगाएका छौं। नेपालले भारतीय चियालाई एकदमै निषेध गरेको छ। ४० प्रतिशत भन्सार महसुलसँगै १३ प्रतिशत भ्याट पनि लाग्छ। जबकि भारतले ५ प्रतिशत जीएसटी मात्रै लगाउँछ। ४० प्रतिशतबाहेक अर्को ८ प्रतिशतको फरक छ भारतबाट नेपाल आउने चियामा तर, उता जाँदा कुनै भन्सार शुल्क छैन जम्मा ५ प्रतिशत जीएसटी छ।

अर्को भनेको भारतमा २५० भारतीय रुपैयाँ पनि छैन सीटीसी चियाको दाम। उच्च गुणस्तरको चिया यो मूल्यमा पाइन्छ। तर, नेपाल सरकारले भने भारतीय चियाको भन्सार मूल्यांकन ७० भारतीय रुपैयाँ रहेकामा बढाउँदै लगेर ४०० भारु (६४० रुपैयाँ) पुर्‍याइसकेको छ। यो मूल्यांकन लगाउनुअघि भारतबाट ८ करोड रुपैयाँको चिया आउँथ्यो। अहिले १ करोड पनि छैन होला। भारतले यी कुराहरु थाहा पाउँदै गइसकेको छ।

यति महँगो मूल्यमा भारतबाट नेपाल चिया आउँदै आउँदैन। साढे २ सय भारु पनि नपर्ने चियाको मूल्यांकन ४०० भारु लगाइदिएको छ। यसको ल्यान्डिङ कस्ट नै १ हजार २७ रुपैयाँ पर्छ। मैले आफैं आयात गर्दा पनि यो समस्या भोगेको छु। सस्तो मूल्यमा बिड गरेको ल्याएको चिया जसको सक्कली बिल थियो त्यसलाई पनि जबर्जस्ती ४०० भारु बनाउन लगाएर मात्रै आयात गर्न दिइयो। त्यसपछि भारतबाटै चिया नै ल्याइन।

यदि हामीले गरेको हर्कत भारत सरकारलाई चित्त बुझेन भने त ‘काउन्टर भ्याल्यु ड्युटी’ लगाइदिने जोखिम छ। यस विषयमा भारत सरकारले केही कुराकानीसमेत सुरु गरिसकेको छ। यदि यस्तो भयो भने हामीले नेपालमा रोपेका सबै चिया उखेल्नुपर्छ। यस्तो जटिल स्थितिमा छौं हामी। नेपालले ४०० भारुको भन्सार मूल्याकंन लगाउनुअघि भारतबाट ३-४ लाख किलो चिया आउँथ्यो। हाम्रो गरिरहेको व्यवहारकै कारण नेपाली चियालाई भारतबाट खेदाउने प्रयास भइरहेका छन्। चिया उत्पादनमा देशभर प्रत्यक्ष अप्रत्यक्ष गरेर १ लाखभन्दा बढी रोजगारी छ। देशभर २२ हजार हेक्टरमा चिया खेती भइरहेको छ।

नेपालले पहाडी क्षेत्रकै सबैभन्दा राम्रो चिया उत्पादन गर्छ। तर, भारतीय व्यापारीहरुले भने नेपाली चिया विषादीले भरिएको र बाल श्रमिक प्रयोग गरिरहेको भन्दै गलत प्रचार गरिरहेका छन्। तर, भारत सरकारको आफ्नै प्रयोगशालाले अहिलेसम्म नेपालबाट गएको चिया गुणस्तरहीन छ भनेर प्रमाणित गरेको छैन। नेपालबाट युरोपलगायतका देशहरुमा चिया निर्यात भइरहेको छ। त्यहाँ पनि गुणस्तरमा कुनै प्रश्न उठेको छैन।

जबकि नेपालबाट गएकै चिया भारतबाट पुन: निर्यातसमेत भइरहेको छ।

न यहाँका उद्योगहरुले बालबालिकालाई काममा लगाएका छन्। चिया श्रमिकलाई भारतमा २५० भारु दिन्छन् ज्याला, नेपालमा हामीले ४०० भारु दिइरहेका छौं। कतिपय अवस्थामा भारतका चिया उद्योगभन्दा हाम्रा राम्रो छन्। नेपाली चियालाई बदनाम गराउन भारतका व्यापारीहरुले गलत प्रचार गरिरहेका छन्।

भारतको चिया बोर्डले नेपालबाट भारत निर्यात गरेका चिया व्यापारीहरुको गोदाममा छापा हानेर दु:ख दिइरहेको गुनासो आइरहेको छ। नेपाली चिया भारत नपसोस्, कसैले नकिनोस् भनेर अनेकन हर्कत भइरहेका छन्। नेपाल सरकारले यस विषयमा भारत सरकारसँग कुरा गर्न जरुरी छ। नेपाली चियामाथि अवरोध रोकिएको छैन।

(राकुरा चिया उद्योगका संस्थापक रामकुमार राठीसँगको कुराकानीमा आधारित)