
अमेरिकामा अवैध रुपमा बस्दै आएका आप्रवासीहरुलाई ‘डिपोर्ट’ गर्ने क्रम तीब्र गतिमा चलिरहेको छ। हालसम्म करिब ५ हजार जनालाई डिपोर्ट गरिएको छ।
राष्ट्रपतिका रुपमा सपथ लिएकै दिन डोनाल्ड ट्रम्पले मास डिपोर्टेसनका लागि स्वीकृति दिँदै कार्यकारी निर्णयमा हस्ताक्षर गरेका थिए। त्यसपछि होमल्यान्ड सेक्युरिटीले आप्रवासीमाथि धरपकड सुरु गरेको हो।
हाल ल्याटिन अमेरिकी देशका आप्रवासीलाई डिपोर्ट गरिँदैछ। छिट्टै अन्य देशका आप्रवासीलाई पनि फिर्ता पठाउने कार्य हुने जनाइएको छ।
हुनत: अमेरिकामा डिपोर्टेसन कुनै नौलो कुरा होइन। यसअघिका डेमोक्रेट राष्ट्रपतिहरुको कार्यकालमा पनि हजारौं मानिस डिपोर्ट भएका थिए।
तर, यसपटक भने सैन्य विमानबाटै आप्रवासीहरुलाई फिर्ता पठाइएको हो।
यसबीच ग्वाटेमालामा सयौं आप्रवासीलाई सैन्य विमानले छाडेको छ। ग्वाटेमालाको सरकारले आप्रवासीहरुलाई सम्मानका साथ व्यवहार गरिने जनाएको छ। ग्वाटेमालामा डिपोर्ट गरिएका आप्रवासीहरुलाई कफी र कुकिजले स्वागत गरिँदैछ। उनीहरुका लागि विमानस्थलबाट बाहिरि प्रक्रिया पनि सहज बनाइएको छ।
यसरी फर्किएका धेरै आप्रवासी फेरि अमेरिका फर्किने सपना देखिरहेका छन्। सैन्य विमानबाट ओर्लिएका सबैले मास्क लगाएका थिए। कोही भने आफ्नो अनुहार छोपिरहेको तस्विरहरु सार्वजनिक भएका छन्।
ग्वाटेमाला एयरफोर्स बेसमा अमेरिकी सैन्य विमानबाट आप्रवासीहरुलाई डिपोर्ट गरिँदै गर्दाका तस्विरहरु



