
काठमाडौं। कैलालीबाट काठमाडौं पढ्न आएका २२ वर्षीय माइकल डगौरा यतिखेर प्रहरी हिरासतमा छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)को टोलीले अनुसन्धान गर्दा खातामा अस्वाभाविक कारोबार भएको भेटिएपछि नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनको नाममा महँगो गाडी र काठमाडौंमा घर छ। भंगालमा साढे तीन करोडको घर, क्रेटा गाडी। घरभित्र प्रयोग हुने सरसामान पनि उस्तै महँगा। माइकलको घरबाट बरामद कम्युटर प्रहरीले प्रयोगशालामा प्रयोग गर्नेभन्दा आधुनिक र महँगो देखिएको छ।
उनको आम्दानीको स्रोत भने प्रहरीलाई पत्यार लागेन। भर्खर कम्प्युटर इन्जिनियरिङ पढ्दै गएका युवकले कसरी करोडौंको सम्पत्ति जोडे?
प्रहरीको अनुसन्धानमा उनी संगठितरुपमा ठगीमा संलग्न भएको देखियो। क्रिप्टो कारोबार गरेको पनि अनुसन्धानबाट खुल्यो। अहिलेसम्म उनीसँग जोडिएको समूहले तीन अर्ब रुपैयाँभन्दा बढीको करोबार भएको खुल्छ। जसको माष्टरमाइन्ड माइकल भएको प्रहरीको दाबी छ।
सीआइबीको टोलीले माइकलसहित विभिन्न जिल्लाबाट दुई भारतीयसहित सात युवाहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा कैलालीका अनिल विश्वकर्मा, काठमाडौंका पियूष श्रेष्ठ, दोलखाका अश्विनी चौलागाइँ, सत्यकुमार सहनी, भारतका रोशन कुमार र मुन्ना कुमार छन्।
कारोबारका क्रममा माइलको अन्य विदेशी नागरिकसँग पनि सम्पर्क भएको देखिएको प्रहरीको भनाइ छ। ‘क्रिप्टो र ठगीबाट अर्ब रुपैयाँको कारोबार गरेर बिलासी जीवन बिताएको देखिन्छ। संगठितरुपमा अन्तर्देशीय कारोबार भएको खुल्यो,’ व्यूरोका प्रवक्ता एसपी सुधीर कुमार शाहले भने।

प्रहरीका अनुसार पक्राउ परेका माइकल लगायत युवाहरुले संगठितरुपमा सामाजिक सञ्जालमा प्रचारप्रसार गरी ठगी गरेर आएको रकम विभिन्न मानिसको वालेटमार्फत कारोबार गर्ने गरेको देखिएको छ। वालेट प्रयोगकर्तालाई झुक्काएर पासवर्ड नम्बर मागी कारोबार गर्ने गरेको प्रहरीको दाबी छ।
उनीहरुले विभिन्न सामाजिक सञ्जालमा घरैमा बसेर धेरै रकम कमाउन सकिने विज्ञापनहरू दिने गरेका थिए। जागिरको खोजीमा रहेकाहरुलाई प्रलोभनमा पारी उनीहरूको नागरिकता र फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा बालेटमा खाता खोल्न लगाइ खाता आफूले प्रयोग गर्ने र प्रयोग गरेबापत निश्चित रकम दिने गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतले बताए।
ती अधिकृतका अनुसार यस्ता खातामा अनलाइन ठगीबाट आएको रकम जम्मा गर्नुका साथै क्रिप्टो खरिद बिक्री र हुन्डी कारोबारमा समेत प्रयोग गरेको देखिएको छ। नेपालमा क्रिप्टो कारोबार अवैध मानिन्छ।