गभर्नरको आसन्न बहिर्गमनले सेयर बजारमा खुशियाली, ठूला लगानीकर्ताको प्रवेशले नेप्सेमा छलाङ

सुनिल कुँवर
२०८१ माघ २० गते १५:१७ | Feb 2, 2025
गभर्नरको आसन्न बहिर्गमनले सेयर बजारमा खुशियाली, ठूला लगानीकर्ताको प्रवेशले नेप्सेमा छलाङ


काठमाडौं। भदौयता बियरिस ट्रेन्डमा लागेको सेयर बजारमा आइतबार एकाएक हलचल देखिएको छ। नेप्से परिसूचक आइतबार ६९.८० अंकले बढेर दुई महिनाअघिको विन्दुमा पुगेको छ।

Tata
GBIME
NLIC

नेप्से यसअघि मंसिर २० मा २७३४ विन्दुमा थियो। कारोबार खुलेदेखि बुलिसदेखिएको नेप्से अन्तिममा २७२७.५८ विन्दु कायम भएको छ।

उन्नति सहकार्य लघुवित्त, ग्लोबल आइएमई लघुवित्त लगायत विभिन्न ९ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजार बढ्दा १२ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यो कारोबार रकम पाँच महिनायताकै धेरै हो। गत भदौ १८ गते १३ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।

असारमा कांग्रेस र एमालेको सत्ता समीकरणपछि उछलकुद देखिएको सेयर बजार साउन ३१ गते ३००० विन्दुमा पुग्यो। २९ अर्ब ९५ करोड रुपैयाँको सेयर किनबेचसहित नेप्सेले कारोबारमा रेकर्ड ब्रेक गर्‍यो। तर, सूचकले ३१९९ को रेकर्ड तोड्न सकेन।

सत्तामा नयाँ समीकरणपछि डेढ महिनामा ४६ प्रतिशतले उकालो लागेको बजार भदौपछि बियरिस ट्रेन्डमा लाग्यो।

सेयर बजारका लागि अनूकल मानिने सूचक तरलता बैंक तथा वित्तीय संस्थाहरुमा फालाफाल छ। ब्याजदर साढे तीन वर्षयताकै न्यून विन्दुमा आएको छ।

अनुकूल सूचकका बाबजुद लगानीकर्तामा कन्फिडेन्स नहुँदा बजार माथि जान नसकिरहेको पृष्ठभूमिमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बहिर्गमन नजिकिएको खुशीयाली आइतबार बजारमा देखिएको हो।

‘राष्ट्र बैंकका गभर्नरको कार्यकाल सकिने मिति अवधि नजिकिंदैछ। गभर्नर महाप्रसाद अधिकारी गएपछि सेयर बजारका लागि लचिलो नीति आउँछ भन्ने लगानीकर्तामा परेको छ,’ स्टक ब्रोकर्स एसोसियसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाले भने, ‘सरकारले ल्याएका अध्यादेशले लगानीको वातावरण बनाएको छ। यसले लगानीकर्ताको कन्फिडेन्स बढाउने काम गर्‍यो।’

सेयर बजार गभर्नर अधिकारीप्रति सकारात्मक छैन। उनले सेयर धितो कर्जाको जोखिम भार बढाउनेदेखि सीमा तोक्ने काम गरे। यस्तै बैंकहरुले सेयर बिक्री गर्न पाउने सीमामा पनि कडाइ गरे।

त्यही कारण ठूला लगानीकर्ताले उनको बहिर्गमन कुर्दै आएका छन्। चैत अन्तिममा अधिकारीको कार्यकाल सकिंदैछ। त्यसको एक महिनाअघि बिदा बस्ने चलन छ।

उनको बिदा बस्ने दिन नजिकिएपछि बजारमा ठूला लगानीकर्ता प्रवेश गर्न थालेका छन्। बैंकिङ प्रणालीमा रहेको अधिक तरलता सेयर बजारतिर जान थालेको छ।

‘ब्याजदर घट्दा हाइड्रोपावर र माइक्रोफाइनान्सलाई फाइदा भएको छ। माइक्रोफाइनान्सको रिपोर्ट राम्रो आउने देखिन्छ। उनीहरुको रिकभरि र प्रति सेयर आम्दानीमा पनि सुधार हुने देखिछ,’ प्रभु क्यापिटलका योजना प्रबन्धक सौगात पन्तले भने, ‘निर्जीवन बीमा कम्पनीहरुका लागि पहिलो त्रैमास अलि दाबी धेरै आउने भएकाले चुनौतिपूर्ण मानिन्छ। त्यसपछि दाबी कम आउँछ। लिक्विडिटी विस्तारै बजारतिर आइरहेको छ।’

आइतबार माइक्रोफाइनान्स उपसमूहको सूचक सर्वाधिक ४.९२ प्रतिशतले उकालो लागेको छ।

बजारले कांग्रेस र एमालेको कसिलो गठबन्धनलाई पनि हरियो झण्डा देखाएको छ। प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारको आयु सकिएको अभिव्यक्ति सार्वजनिक मञ्चहरुबाट दिइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओलीसँग नछुट्टिने जवाफ दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन २०८४ सम्म नै टिक्ने भन्दै सरकार ढल्ने सपना नदेख्न प्रचण्डलाई आग्रह गरेका छन्।

‘ढलेँ-ढलेँ भन्ने गीत बजारमा अलि प्रचारमा छ। त्यस्तै प्राय: राजनीतिक नेताहरूले गाएको सुन्छु। ढल्यो ढल्यो ढल्यो… आज ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, बेलुका ढल्यो, राति ढल्यो, ढल्यो, ढल्यो,’ ओलीले शुक्रबार संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रचण्डलाई लक्षित गर्दै भने, ‘यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरूमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन। गठबन्धन २०८४ को चुनासम्म कायम रहन्छ।’

देउवाले सरकारले हालै जारी गरेका अध्यादेशले देशको आर्थिक अवस्थामा सुधार ल्याउने बताउँदै भविष्यमा परिणाम देखिने बताए।

‘सरकारको मूल्यांकन गर्न ६ महिना पर्याप्त होइन। यो अवधिमा गरेका काम राम्रा छन्। यसले भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छ,’ उनले भने।

व्यावसायिक वातावरण बनाउन भन्दै सरकारले एकैपटक विभिन्न पाँचवटा अध्यादेश जारी गरेकामा निजी क्षेत्रले ‘मागेभन्दा धेरै पाएको’ भनेर प्रशंसा गरिरहेको छ।