
काठमाडौं। गजुरीका अर्जुन अधिकारीलाई काठमाडौं आउजाउ गर्न केही समयअघिसम्म नौबिसे-नागढुंगा सडक प्रयोग गर्नुको विकल्प थिएन। घण्टौं जाममा परेर उनी थानकोटको उकालो हुँदै राजधानी प्रवेश गर्थे। बाटोको असुविधाले अधिकारी जस्तै धेरैले यो सडकखण्डमा सास्ती ब्यहोर्नु पर्थ्यो। कहिले यतै बास बस्नुपर्ने, खर्च पनि उत्तिकै। तर, अहिले समय फेरिएको छ।
अर्जुन ढुक्कसँग घरबाट निस्कन्छन् र काठमाडौं पुग्छन्। राजधानीमा काम सकाएर फेरि घर पुग्न पनि उनलाई हतारो हुँदैन। किनभने पहिलाभन्दा फरक भएको छ उनको बाइक मोडिने बाटो। अहिले उनी नौबिसे नभइ धार्के हुँदै काठमाडौं प्रवेश गर्छन्। उनी जस्तै सयौं यात्रुका लागि धार्के-सीतापाइला सडक नौबिसे-नागढुंगाको विकल्प बनेको छ।
‘पहिला काठमाडौं आउन नौबिसे-नागढुंगा सडकको विकल्प थिएन। जामको दु:ख उस्तै। अहिले सीतापाइला-धार्के हुँदै बाटो चलेपछि सहज भएको छ,’ गजुरीबाट अधिकांश समय काठमाडौं आवतजावत गरिरहने अर्जुनले भने।

उनले आफ्नो यात्रा अनुभूति सुनाइरहँदा उनी धार्केको फराकिलो बाटो छेउमा तरकारी किन्न व्यस्त थिए। बाटो बनेपछि जसरी यहाँबाट आउजाउ गर्नेको संख्या बढ्दो छ, स्थानीय उत्पादनको बजारीकरण पनि उत्तिकै फस्टाएको छ धार्केमा।
सीतापाइलादेखि धार्के पुग्ने बाटो अहिले धेरैको रोजाइमा पर्ने गरेको छ। सडकसँगै इँट्टाभट्टा र तरकारी फलेको जमिनले धेरैको ध्यान खिच्ने गरेको छ यो भेगमा। अनि छेउमा स्थानीयले तरकारीको हाट लगाएका छन् जहाँ दही चिउरा चाख्न पाइन्छ। यो सडकबाट यात्रा गर्नेहरू यहाँ नरोकिने कम नै भेटिन्छन्।
सीतापाइला-धार्के सडकले राजधानी आउजाउको विकल्प दिइरहँदा सडकमार्फत स्थानीय उत्पादनले कसरी बजार पाउँछ भन्ने उदाहरण पनि यो भेग बनेको छ।

यसरी प्रयोगमा आउन थाल्यो यो सडक
नौबिसे-नागढुंगा अहिले पनि काठमाडौं आउजाउ गर्ने प्रमुख मार्ग हो। तर यो सडक हुँदै चल्ने सवारीसाधनको बढ्दो चाप र सडक विस्तारका कारण यो सडकमा सास्ती र समस्या बढी भोग्नु परिरहेको छ। त्यसैले सीतापाइला-धार्के सडकलाई काठमाडौं आउजाउ गर्ने वैकल्पिक र सहज मार्गको रुपमा लिन थालिएको छ।
तर यो सडक यसरी चर्चामा आएको धेरै भने भएको छैन। भनिन्छ प्राकृतिक विपद्ले विनाशसँगै विकासका अवसर पनि ल्याउँछ। यो सडकखण्डलाई गत असोजमा गएको बाढीपहिरोका कारण निर्माणको अवसर खुलेको हो।

पहिरोका कारण नागढुंगा-नौबिसे सडक प्रयोगयोग्य भएन। जसोतसो ट्रयाक खुले पनि यहाँबाट हिँड्न धेरैले रुची देखाएनन्। दसैंको समय घर जान निकै कष्ट भोग्नुपर्ने भन्दै मुख्य राजमार्गको विकल्प मानिसहरूले खोजे। त्यही बेला धेरैको नजर पर्यो सीतापाइला-धार्के सडकखण्डमा।
अहिले दैनिक यो सडकमा २ सयभन्दा बढी गाडीहरू संचालन हुने गरेका छन्। अझ बाइकहरूको संख्या त ह्वात्तै बढेको स्थानीय बताउँछन्।
‘पहिला कहाँ यस्तो बाटो हुनु र? हिँड्ने गोरेटो बाटो थियो। यसरी यत्रो ठूलो सडक बन्ला भन्ने कल्पना पनि थिएन,’ धार्केका एक स्थानीयले भने, ‘अहिले त राजमार्गको विकल्प नै बन्यो।’

पहिले बजार खोज्नु पर्थ्यो, अहिले यहीँ बजार
सडक बनेपछि यहाँको स्थानीय उत्पादनको बजारीकरणमा ठूलो सहयो पुगेको छ। सडक छेउछाउका खेतमा उत्पादन हुने तरकारी बेच्न अब बजार खोज्दै हिँड्नुपर्ने बाध्यता छैन स्थानीयलाई। अहिले धुनिबेसी नगरपालिका छत्रेदेउराली, जीवनपुर, जुगेडी र नौबिसे लगायतका क्षेत्रका बासिन्दाले आफ्नै ठाउँलाई बजार बनाएका छन्।
सडक छेउमा तरकरी बिक्री गर्दै गरेका एक स्थानीय भन्छन्, ‘पहिले उत्पादन भएका तरकारीहरू बजार खोज्दै हिँड्नु पर्थ्यो। अहिले सडक छेउमा राखे पुग्छ। यो सडक हुँदै यात्रा गर्ने मानिसहरूले किनेर लैजान्छन्। हामीले काठमाडौं पुर्याउनै पर्दैन।’

उनका अनुसार काठमाडौंबाट गाडी लिएरै मानिस तरकारी किन्न त्यहीँ पुग्छन्। दिनको एक हजार किलोसम्म काउली सडक छेउमै राखेर बिक्री गरिरहेको ती किसानले दाबी गरे।
अर्जुन अधिकारीले पनि ६ किलोभन्दा बढी काउली किन्दै भने, ‘काठमाडौंमा कहाँ पाउनु र यहाँको जस्तो ताजा तरकारी?’
स्थानीयले आफ्नै मोलमा तरकारी बेच्न पाएका छन्। बजारमा पठाउने, ढुवानी खर्चबारे सोच्न उनीहरूलाई परेको छैन। यो सडक निर्माणसँगै तरकारीको बिक्रीले स्थानीयको जिजीविषामा परिवर्तन ल्याएको छ।

तरकारी व्यापारसँगै यहाँ फस्टाएको अर्को व्यवसाय हो इँट्टाभट्टा। धेरै स्थानीयले आफ्नो जमिन इँट्टा पोल्न ‘लिज’मा दिएका छन्। यसले पनि यहाँका मानिसको आम्दानी बढाउन सहयोग पुर्याएको छ।
सीतापाइलाबाट ४० मिनेटमा पुगिन्छ धार्के
पृथ्वी राजमार्गको सहायक सडकको रुपमा हेरिएको सातापाइला-धार्के यात्रा पूरा गर्न करिब ४० मिनेट लाग्छ। अहिले नागढुंगा- नौबिसे सडक विस्तारको क्रममा केही समस्या आएमा यही सडक प्रयोग गर्ने गरिएको छ। साना गाडीहरू त धार्के-सीतापाइला हुँदै काठमाडौं भित्रिन्छन्।
ठूला गाडी भने अहिले यहाँ संचालन हुँदैनन्। यद्यपि, बढ्दो सवारीका कारण यो सडकखण्डमा पनि चाप बढ्ने निश्चित छ। त्यसैले सरोकारवाला निकायले त्यसतर्फ बेलैमा ध्यान दिनुपर्ने स्थानीयको माग छ।


‘सडक राम्रो भयो। बजार नि फस्टायो। अब अहिलेदेखि नै ट्राफिक व्यवस्थापन गरेर सवारी चापबारे सोच्नुपर्छ। नत्र फेरि उताको (राजमार्ग)को जस्तो अवस्था आउँदैन भन्न सकिँदैनन,’ स्थानीय भन्छन्।
जेठसम्म सम्पन्न हुने
यो सडकलाई फराकिलो बनाउन सडक विभागले दुईवटा सडक डिभिजन कार्यालयलाई जिम्मेवारी दिएको छ। ठूलोखोलाबाट धार्केसम्मको सडक विस्तारको काम नुवाकोट सडक डिभिजनले हेरिरहेको छ। ठूलोखोलाबाट काठमाडौंको सीमाना रामकोटसम्मको काम काठमाडौं सडक डिभिजनले गरिरहेको छ। त्यसभन्दा यता काठमाडौंकै डिभिजनले काम गरेको थियो।

धार्केबाट ठूलोखोलासम्म सडक निर्माणको ठेक्का ढिलो गरी लागेका कारण समयमा काम सम्पन्न भएन। त्यसमा पनि ठूलोखोलानिर मात्रै अलि समस्या देखिन्छ। ठूलोखोलादेखि सीतापाइलासम्म भने निर्माणको काम पुरा हुन लागेको छ।
सडक डिभिजन नुवाकोटका इन्जिनियर अमृतप्रसाद यादवका अनुसार पहिले ठेक्का लागेका सबै काम अर्को डेढ महिनासम्म सम्पन्न हुन्छ। यो सडक निर्माण गत वर्ष नै सम्पन्न हुनुपर्ने थियो। तर काम गर्नका लागि निर्माण सामग्रीको अभावले समयमा काम सकिन गाह्रो भएको यादव बताउँछन्। भिमेश्वर ड्रिलिङ र सम्झना कन्स्ट्रक्सनले ठेक्का पाएर यहाँ काम गरिरहेका छन्।


ठूलोखोलादेखि धादिङपट्टिको सडकमा भने नयाँ ठेक्का लागेको छ। यहाँको काम भने जेठसम्म सम्पन्न गर्नेगरी सम्झौता गरिएको छ। ठूलोखोलादेखि धार्केसम्मको खण्डमा लगभग ९५ प्रतिशत सडक बनाउने काम सम्पन्न भइसकेको यादव बताउँछन्।
यसैगरी, ठूलोखोलादेखि सीतापाइलासम्मको सडक खण्ड निर्माणको काम गरिरहेको काठमाडौं सडक डिभिजनका इन्जिनियरका अनुसार यही वर्षसम्म सडक कालोपत्र सकिनेछ।

‘ठूलोखोलामा काठमाडौंपट्टिको ५७५ मिटरजति कालोपत्रे गर्ने काम बाँकी छ,’ उनले भने, ‘यो चैतसम्म कालोपत्रे गर्ने काम सम्पन्न हुन्छ। साथै कुनै कुनै मोडहरूमा पनि कालोपत्रे गर्नुपर्ने काम बाँकी छन्। त्यसको पनि काम छिट्टै हुन्छ।’