बैंकमा तपाईको ब्याजमाथि चलखेल त भएको छैन? झस्काउँछ ‘हिसाब बराबर’ले

बिजमाण्डू
२०८१ माघ १९ गते ०६:०९ | Feb 1, 2025
बैंकमा तपाईको ब्याजमाथि चलखेल त भएको छैन? झस्काउँछ ‘हिसाब बराबर’ले


बैंकमा रहेको तपाईँको बचतबाट आउने ब्याजमा कतिको चनाखो हुनुहुन्छ? बैंक स्टेटमेन्ट कति गहिरो गरी हेर्नुहुन्छ?

Tata
GBIME
NLIC

धेरैले बैंकहरुमाथि विश्वास गरेकै हुन्छन्। तपाई पनि त्यसरी नै विश्वास गर्नुहुन्छ भने झस्किनु हुनेछ फिल्म ‘हिसाब बराबर’ हेर्नुभयो भने।

त्यो झस्काइको आयतन त्यतिखेर बढ्दै जान्छ जब त्यो हेरफेर एक ग्राहकमा मात्र सीमित हुँदैन। बैंकको ग्राहक संख्या लाख हुँदै करोडमा पुग्छ भने त दुई-चार दिनको हिसाब किताबले करोड हुँदै अर्बौंसम्मको चलखेलमा पुर्‍याउँछ।

बलिउड फिल्म ‘हिसाब बराबर’ले बैंकमा रकम डिपोजिट गर्ने अनि त्यसको हिसाबबारे बेखबर रहने ‘प्यासिभ डिपोजिटर’लाई सबैभन्दा झस्क्याउँछ। ‘बैंकिङ फ्रड’ गर्नेले कसरी चलखेल गर्छन् भन्ने बुझाउँछ। अनि त्यसखाले घोटलाका कारण मर्जरमा जान लागेको बैंकको हविगत व्याख्या गर्छ। साथै आर्थिक घोटालाको फण्डामा राजनीतिक नेतृत्वको साँठगाँठ पनि देखाउँछ।

धेरै नेपालीले फिल्म ‘थ्री इडियट्स’बाट चिनेको बलिउड अभिनेता हुन् आर माधवन्। उनकै लिड रोल रहेको छ फिल्ममा – राधे मोहन शर्मा, एक सिनियर रेल्बे कर्मचारीका रुपमा। हिसाब किताब दुरुस्त राख्‍न खप्पिस उनी रेल्वेका टीटीले गर्ने त्रुटि छिट्टै पत्ता लगाउनमात्र सक्दैनन् बैंकका लम्बेचौडे स्टेटमेन्टलाई सजिलै स्क्यान गर्छन् र फेला पार्छन् कमजोरी। उनको नजर त्यहाँ पर्छ जहाँ हिसाब गडबड हुन्छ।

हिसाबमा पारङ्गत भएकाले नै राधेमोहनले फेला पार्छन् – उनको खातामा भएको २७ रुपैयाँको गडबडी। गायब भएको २७ रुपैयाँको खोजीपाउँ भन्दै खातावाला बैंक पुग्छन्।

एक वर्षमा बैंक खातामा २७ रुपैयाँ तलमाथि भएको हिसाब तपाईले खोज्नुहुन्छ त? हो, यही प्रश्नमा आउने अधिकांशको जवाफ- ‘जाबो त्यतिका लागि’ दु:ख कसले गर्छ?’ त्यति नै पैसा करोडौंको खाता भएको बैंकमा भइरहेको छ भने त्यसखाले ‘स्क्याम’को आकार कत्रो हुन्छ त?

फिल्म आफ्नो बैंक खातामा भएको सानो हिसाबी गडबडले निम्त्याएका परिस्थितिको वरपर घुमिरहन्छ। बलिउड फिल्मको एउटा चरित्र हो- ह्याप्पी इन्डिङ। यसमा पनि सुखद् अन्त्य नै हुन्छ। तर, त्यसरी फिल्म सकिँदा दर्शकलाई एउटा प्रश्न चाहिँ गर्न बाध्य बनाउँछ – कतै मेरो खातामा पनि यस्तै त भएको छैन?

हिसाब धेरैका लागि आफैँमा कठिन विषय हो। बैंकिङ कारोबारको हिसाबलाई नजरअन्दाज गरिरहने हो भने त्यसले वित्तीय असन्तुलनसँगै अपचलनलाई निम्तो दिइरहेको हुन्छ। त्यसविरुद्ध जागरुक गराउन खोजेको छ ‘हिसाब बराबर’ले। त्यतिमात्र होइन फिल्मले उपभोक्ता अधिकारको सन्दर्भलाई पनि उठाउँछ।

डिजिटल पेमेन्ट नहुने ठाउँमा आजका दिनमा पनि खुद्रा फिर्ता दिन पर्‍यो भने चकलेट भिडाउने चलन छ। वालेटमार्फत् हुने कारोबार बाहेक खुद्रा किनमेल हुने नेपालका अधिकांश ठाउँमा ‘रिटर्न’मा चलकेट सामान्य नै हो। चकलेटको मूल्य बिक्रेताको नाफासहित हुने भएकाले उपभोक्ता त्यहाँ पनि ठगिने नै हुन्। अब यसैलाई ठूलो परिमाणको रकम कारोबारसँग हिसाब निकाल्ने हो भने लाखौं र करोडौंको फिर्ता गर्नुपर्ने नगदमै छेडखानी भएको पाइन्छ।

बलिउड अभिनेता निल नितिन मुकेश बैंक संचालक मिक्की मेहताको भूमिकामा छन् फिल्ममा। सिंगो फिल्म राधेमोहन र मिक्कीको द्वन्द्वमा केन्द्रित छ। वित्तीय संस्थाका संचालकको राजनीतिक कनेक्सन र प्रहरीसँगको मिलेमतोले कथालाई बाँधेको छ। फिल्ममा कृति कुलारी लिड रोलमा छिन् प्रहरी अधिकृतको रुपमा।

निल नितिन र कृति दुवैको अभिन औसत् लाग्छ। आर माधवन भने जमेका छन्। अन्य कलाकारको भूमिका पनि औसत् नै छ। बैंकको स्क्याम विरुद्ध सोसल मिडियाको प्रयोग ज्यादै हलुका रुपमा प्रयोग भएको छ। निर्देशक अश्विन धिरले गम्भीर विषयको उठान गरे पनि फिल्मलाई ‘मास ओरेन्टेड’ बनाउन चाहिँ सकेका छैनन्।

समग्रमा, फिल्म ‘स्लो’ लाग्छ। ट्विस्ट र सस्पेन्स छैन। अगाडि के हुन्छ धेरैले अन्दाज गर्न सक्छन्। तर पनि ‘रुड’ विषयमा फिल्म बनाउने जोखिम आफैँमा हिम्मतिलो कदम बनेको छ। त्यसभन्दा पनि महत्त्वपूर्ण चाहिँ वित्तीय साक्षरताका लागि फिल्मले पुर्‍याउने योगदान उत्कृष्ट छ।