युट्युब हेर्दै क्रिप्टो कारोबारमा, करोडौंको भर्चुअल मुद्रा प्रयोग गरेको आरोपमा खेतानविरुद्ध मुद्दा दर्ता

बिजमाण्डू
२०८१ बैशाख २० गते १०:५८ | May 2, 2024
युट्युब हेर्दै क्रिप्टो कारोबारमा, करोडौंको भर्चुअल मुद्रा प्रयोग गरेको आरोपमा खेतानविरुद्ध मुद्दा दर्ता

काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिका घर भएका २४ वर्षीय पियुष खेतानविरुद्ध भर्चुअल मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।

Tata
GBIME
Nepal Life

भर्चुअल मुद्रा प्रयोग गरेर १० करोड रुपैयाँको क्रिप्टो कारोबार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काठमाडौंले खेतानलाई वैशाख ३ गते पक्राउ गरेको थियो।

प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुलुकी अपराध संहिता २०७४ को दफा २६२ (क) अनुसार ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ कसुरमा मुद्दा दायर गरेको हो। उनी विरुद्ध १० करोड ४० लाख ७८ हजार रुपैयाँ विगो समेत मागदाबी गरिएको छ।

पियुसले दुईवटा एप्लिकेसन मार्फत क्रिप्टोकरेन्सी कारोबार गरेको देखिएको छ। उनले बयानका क्रममा आफूले भारतमा पढ्न बस्दा एक वर्षअघि क्रिप्टोको कारोबार गर्न सिकेको बताएका छन्।

युट्युबमा हेरेर थप कारोबार गर्न थालेको उनले प्रहरीलाई बताएका छन्। त्यस्तै, क्रिप्टोको रकम भारतीय नागरिकलाई लिने र दिने समेत गरेको उनले बताएका छन्।