पूर्वअर्थमन्त्री खतिवडाको प्रश्‍न- सुखी नेपाली, समृद्ध नेपाल लेख्न किन छुटाइएको होला?

बिजमाण्डू
२०८१ बैशाख १३ गते ११:३३ | Apr 25, 2024
पूर्वअर्थमन्त्री खतिवडाको प्रश्‍न- सुखी नेपाली, समृद्ध नेपाल लेख्न किन छुटाइएको होला?
डा. युवराज खतिवडा

काठमाडौं। सत्तारुढ नेकपा एमालेले १६औं योजनाको मस्यौदामा सुखी नेपाली, समृद्ध नेपालको नारा छुटाइएको भन्दै असन्तुष्टि जनाएको छ।

Tata
GBIME
Nepal Life

१६औं योजनाको मस्यौदालाई अन्तिम रुप दिन बसेको राष्ट्रिय विकास परिषद्को बैठकमा एमालेका तर्फबाट पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले असन्तुष्टि जनाएका हुन्।

‘१६औं योजनामा सबैलाई अपनत्व दिनुपर्छ। म सरकार पक्ष भएकोले धेरै बोल्न मिलेन। छापिएको कुरामा धेरै हेरफेर हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘सुखी नेपाली, समृद्ध नेपाल लेख्न किन छुटाइएको होला? यो हाम्रै कार्यक्रम हो। समाजवादउन्मुख राज्य भनेर लेख्न किन कन्जुस्याइँ? यो लेखेन भने बजेटमा हामीले पनि आलोचना गर्नुपर्ने हुन्छ।’

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सरकारले सुखी नेपाली, समृद्ध नेपालको नारा अगाडि सारेको थियो। खतिवडाले योजनाको उद्देश्यलाई लिएर पनि प्रश्न उठाए। ‘उद्देश्य अमूर्त भयो। यसलाई सोचमा सारौं,’ उनले भने।

राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै डा. युवराज खतिवडा

उनले भ्रष्टाचार नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्न नहुने बताए। ‘भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता राख्दा गलत सन्देश जान्छ। एक नम्बरमा राख्दा देशको मूल मुद्दा नै यही रहेछ भन्ने सन्देश जान्छ,’ उनले भने।

उनले योजना कार्यान्वयन गर्न निजी क्षेत्रको स्रोत ठूलो चाहिने भएकाले प्रत्येक ६ महिनामा निजी क्षेत्रसँग बसेर योजनाको रिभ्यु गर्नुपर्ने आवश्यकता पनि औंल्याए।