राष्ट्रिय विकास परिषद्को बैठक जारी, १६औँ योजनाका लागि ९१ खर्ब ९६ अर्ब लाग्ने अनुमान

बिजमाण्डू
२०८१ बैशाख १३ गते १०:२२ | Apr 25, 2024
राष्ट्रिय विकास परिषद्को बैठक जारी, १६औँ योजनाका लागि ९१ खर्ब ९६ अर्ब लाग्ने अनुमान

काठमाडौं। राष्ट्रिय विकास परिषद्को बैठक काठमाडौंस्थित होटल याक एन्ड यतिमा जारी छ। बैठकमा १६औँ योजनाको मस्यौदामाथि छलफल भइरहेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले बैठकमा प्रस्तुति राख्दै आर्थिक सुचक अपेक्षा गरेअनुरुपको तहमा प्रगति हासिल हुन नसकेको बताए। उनले योजना कार्यान्वयन प्रभावकारी नभएको भन्दै १५ औँ योजनाको मुल विषय समृद्ध नेपाल रहेको बताए।

कोभिडका कारण समृद्ध नेपाल अभियान सफल हुन नसकेको उनको भनाइ थियो। उनले योजना कार्यान्वयनका समस्याहरू पनि औँल्याए।

‘संरचनागत समस्या छन्, उपभोग र आयात बढी भयो, आन्तरिक रोजगारी कम छ। शिक्षा उत्पादनसँग जोडिएन, सामाजिक सुरक्षामा खर्च धेरै भयो,’ उनले भने।

तीन तहका सरकारमा पूर्वाधारको विकास बढ्दै गएको उनले बताए। उनले कुल जनसंख्यामा युवा जनशक्तिको अनुपात बढी रहेको बताए।

१६ औँ योजनाका लागि ९१ खर्ब ९६ अर्ब रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ। लागू हुने समयमा ११४ खर्ब रुपैयाँ हुने अनुमान छ।

कार्यक्रममा सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने तय भएको थियो। तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भने उपस्थित भएनन्।

यो बैठकले दिएको सुझाव समेटेर नेपालको ५ वर्षे योजना अर्थात १६औं योजना फाइनल हुनेछ।