कतारका अमिर आएपछि आवागमन प्रभावित हुने, उनी आवतजावत गर्दा अन्य सवारी पूर्णरुपमा बन्द

बिजमाण्डू
२०८१ बैशाख ११ गते ०८:२८ | Apr 23, 2024
कतारका अमिर आएपछि आवागमन प्रभावित हुने, उनी आवतजावत गर्दा अन्य सवारी पूर्णरुपमा बन्द
फाइल फोटो।

काठमाडौं। मंगलबार ४ बजेपछि कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणमा आउँदै छन्। सरकारले मंगलबारका लागि सार्वजनिक बिदा समेत दिएको छ।

Tata
GBIME
Nepal Life

राजा थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल जाने कार्यतालिका छ। थानी आफ्नो निजी जेटमा नेपाल आउँदैछन्।

आज विमानस्थलको अन्य उडान आधा घण्टाका लागि बन्द गरिएको छ। तर उनी आइपुग्ने समय भने सार्वजनिक गरिएको छैन। सुरक्षाको दृष्टिकोणले गोप्य राखिएको उच्च प्रहरी अधिकृतले जानकारी दिए।

त्यस्तै, काठमाडौं उपत्यकाभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ। राजकीय भ्रमण भएकाले राजा थानी विमानस्थलबाट होटलसम्म जाँदा वा राष्ट्रपति, प्रधानमन्त्री, शीर्ष नेताहरूको भेटघाटमा जाँदा आम सवारी साधनलाई हिँडडुलमा रोक लगाइने भएको छ।

‘सरकारले बिदा नै दिएको छ। त्यसमा राजकीय भ्रमण भएकाले केही समय सडकमा आम मानिसको सवारीलाई रोक लगाइने तयारी छ,’ एक प्रहरीले सुनाए।

राजा थानी आवतजावत गर्ने बाटो पूर्णरुपमा आम मानिसको लागि बन्द गरिने छ। सर्वसाधरणको सवारी साधनलाई करिडोरको बाटोतिर डाइभर्सन हुने गरि व्यवस्था मिलाइएको छ।

‘सवारी डाइभर्सन गरिएको छ,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डीआइजी पोषराज पोखरेलले भने।

मंगलबार र बुधबारको राजकीय भ्रमणको ट्राफिक व्यवस्थापनको लागि सडकमा एक हजार हाराहारीमा ट्राफिक प्रहरी परिचालन गरिनेछ। त्यस्तै, काठमाडौं उपत्यका प्रहरीले पनि सोमबारदेखि नै सुरक्षा तथा सूचना संकलनको लागि प्रहरी परिचालन गरेको छ।