प्रचण्ड र ओलीले एकस्वरमा भने- तत्काल दुई पार्टीबीच एकता सम्भव छैन

बिजमाण्डू
२०८१ बैशाख १० गते १८:३३ | Apr 22, 2024
प्रचण्ड र ओलीले एकस्वरमा भने- तत्काल दुई पार्टीबीच एकता सम्भव छैन
एमालेले सोमबाबर गरेको कार्यक्रममा सहभागी नेता। तस्वीर : फेसबुक पेज बालकोट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल दुई पार्टीबीच एकता सम्भव नरहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा सोमबार गोदावरीमा गरेको कार्यक्रममा दाहाल र ओली दुवैले पार्टी एकताभन्दा सहकार्यमा जोड दिए।

दाहालले हौसिएर एकता गर्नेभन्दा राम्रोसँग सहकार्य गर्नुपर्ने बताए। सहकार्यले एकताको आधार तयार हुने उनको भनाइ छ।

पुष्पकमल दाहाल। तस्वीर : फेसबुक पेज बालकोट

‘हामी यसअघि अलि बढी हौसिएछौं कि। त्यसकारण अहिले हामीले सहकार्य सुरू गरेका छौं, राम्रो सहकार्य गरौं,’ उनले भने, ‘राम्रो सहकार्य हुँदा दलहरूबीच स्वतः एकताको आधार तयार हुन्छ। तर अहिले नै एकताको सम्भावना छैन।’

एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। तर त्यो एकता अढाइ वर्षभन्दा टिकेन।

एमाले अध्यक्ष ओलीले पनि यसअघि विभाजन हुनुको कारण स्पष्ट नभइ एकता सम्भव नरहेको बताए।

केपी शर्मा ओली। तस्वीर : फेसबुक पेज बालकोट

‘आन्दोलनमा उतारचढाव भइरहन्छ। दुईपल्ट अनावश्यक, अनुचित, हानिकारक विभाजन भए। जो उपयुक्त थिएन। कसको दोष थियो भन्नेतिर म जान चाहन्नँ। समय आएपछि समीक्षा गरौंला,’ उनले भने, ‘तत्काल एकता गरिहालौं भन्ने तर्क व्यक्तिगत तुष्टिको कुरा मात्रै हो। यसले आन्दोलनमा समस्या पैदा गर्न सक्छ। अहिले सहकार्यको माध्यमबाट निकट हुँदै जान्छौं।’ 

कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कम्युनिष्ट पार्टीहरु पटक पटक विभाजन हुनुको कारणबारे समीक्षा गर्नुपर्नेमा जोड दिइन्।

विद्यादेवी भण्डारी। तस्वीर : फेसबुक पेज बालकोट

‘नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हिरक जयन्ती मनाइरहँदा गहन समीक्षा गरिनुपर्छ भन्ने मलाई लागेको छ,’ उनले भनिन्, ‘कम्युनिस्ट आन्दोलनमा पटक–पटक देखिने गरेको फुट साँच्चै सिद्धान्त, विचार र राजनीतिक कारणले भएको हो कि पदीय आकांक्षाले भन्ने विषयमा समीक्षा गरी ठोस निष्कर्ष निकाल्न सकिएन भने भविष्यमा सफलता हासिल गर्न कठिनाई हुन्छ।’

कार्यक्रममा उनलाई एमालेले गणतन्त्र गौरव सम्मान प्रदान गरेको थियो। कार्यक्रममा कांग्रेस सभापति शेरबबहादुर देउवा, उपप्रधानमन्त्री रवि लामिछाने, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र झलनाथ खनाल लगायत नेता सहभागी थिए।