अर्थमन्त्रीबाट हटेको डेढ महिनापछि महतले भने- ‘अर्थतन्त्र चलायमान हुनै सकेन’

बिजमाण्डू
२०८१ बैशाख १० गते १५:०७ | Apr 22, 2024
अर्थमन्त्रीबाट हटेको डेढ महिनापछि महतले भने- ‘अर्थतन्त्र चलायमान हुनै सकेन’

काठमाडौं। आफू अर्थमन्त्री हुँदा अर्थतन्त्र सुधार हुँदै गएको बताउने कांग्रेस नेता डा. प्रकाशशरण महतले मन्त्रीबाट हटेको डेढ महिनापछि अर्थतन्त्र चलायमान हुनै नसकेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले आफू अर्थमन्त्री हुँदा बाह्य सूचक र आर्थिक लयले सकारात्मक प्रभाव पारेको भएपनि पछिल्लो समय आर्थिक गतिविधि चलायमान हुन नसकेको बताएका हुन्।

उनले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन्। डा. महतले देशमा भएको गठबन्धन परिवर्तनका कारण अन्योल र अस्थिरता सृजना भएसँगै वर्तमान नेतृत्व सरकारको आयुसमेत छोटिंदै गएको प्रतिक्रिया दिएका हुन्।

उनले एमालेसँग मिलेर कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने विषयमा पछिल्लो समय छलफल नभएकोसमेत बताए।

‘नेताहरूले विभिन्न कुरा उठाउनुभएको छ, कसैले एमालेसँग मिलौं पनि भन्नुभएको छ। सबैको विचारहरू आइरहेका छन्। कसैले कांग्रेसको नेतृत्वमा बहुमत आउनेगरी आगामी चुनाव पर्खिनुपर्छ भन्ने कुरा पनि छ,’ उनले भने, ‘हामीले अहिल्यै वैकल्पिक सरकार बनाउने कुराको गृहकार्य गरेका छैनौं। अविश्वास र विरोधाभासका कारण यो सरकारको आयु आफैं छोटिंदैछ।’

उनले वर्तमान गठबन्धनमा रहेका दलबीच नै चर्को मतभेद र अविश्वास व्याप्त रहेको जिकिर गरे। अस्थिरताका कारण अन्तर्राष्ट्रियस्तरमै सरकारप्रति अविश्वास बढेको बताउँदै उनले पछिल्लो समय आर्थिक क्षेत्रमसेत चलायमान हुन नसकेको बताए।

सरकारले प्राथमिकताको क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि जथाभावी बजेटको दुरुपयोग गरिहेको उनको भनाइ छ। कांग्रेसले गृहमन्त्रीसमेत रहेका रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी ठगी विषयमा संसदीय छानबिन गर्न अडान राखिराखेको समेत उनले बताए।

‘सहकारी ठगीबाट बचतकर्ता मारमा परेको र स्वयं गृहमन्त्री सुरक्षा निकायको प्रमुख भएका कारण गैरकानुनीको विषय छर्लङै भइसकेको छ। जुन निकायको प्रमुख उहाँ हुनुहुन्छ, उहाँलाई नै छानबिन गर्ने कुरा नभएका कारण संसदीय छानबिन बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘हामीले आधार र तथ्यमा टेकेर यो कुराको उठान गरेका हौं, जनतामाझ स्पष्ट छ।’