फ्रान्स र इजरायलका नागरिकको रोजाइमा मनाङ, बिदामा आन्तरिक पर्यटकले भरिभराउ

बिजमाण्डू
२०८१ बैशाख १० गते १२:५० | Apr 22, 2024
फ्रान्स र इजरायलका नागरिकको रोजाइमा मनाङ, बिदामा आन्तरिक पर्यटकले भरिभराउ

काठमाडौं । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दो छ। विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढेको हो।

Tata
GBIME
Nepal Life

वि सं २०८० मा २१ हजार ४९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ। वैशाखदेखि चैत मसान्तसम्ममा सो संख्यामा विदेशी पर्यटक भित्रिएका हुन्।

तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्यांकमा उल्लेख छ। मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए। उनका अनुसार फ्रान्सका एक वर्षमा दुई हजार ४८२ मनाङ भ्रमणमा आएका छन्।             

त्यस्तै, इजरायलका एक हजार ८२१ र जर्मनीका एक हजार ७५४ नागरिक मनाङ भ्रमणमा आएका छन्।            

उनले भने, ‘अन्य देशबाट पर्यटक आउने भए पनि यी देशका नागरिक बढी आउने गरेका छन्। संख्याको आधारमा यी धेरै हुन्। अमेरिका, चीन, रसिया, भारतका पर्यटक पनि आउने क्रम बढ्दै गएको तथ्यांक हामीमा दर्ता भएको छ।’      

नयाँ वर्ष २०८१ को पहिलो दिनमा मात्रै ११५ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले जानकारी दिए। उनका अनुसार नयाँ वर्षका दिनमा आन्तरिक पर्यटकको समेत उल्लेख्य आगमन भएको थियो।

आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रकृति पर्यटनविद भुपेन्द्र गुरुङले जानकारी दिए। उनले भने, ‘तीन-चार दिनको बिदा लगातार परेको अवस्थामा मनाङमा आन्तरिक पर्यटकले भरिभराउ हुन्छ।’

मनाङ पुग्ने आन्तरिक पर्यटकको भने अभिलेख राखिँदैन।           

यहाँ भित्रिने पर्यटक अधिकांश थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन्। आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए। केही दिन बिदा भएको बेलामा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका उनले बताए।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङको बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुवात हुन्छ। अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच जिल्ला जोडिएका छन्। काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्दछन्। पछिल्लो समय सडक सहज भएपछि सवारी साधनमा नै चामे, खाङ्सारसम्म सवारी साधनमा नै पुग्ने गरेको पाइन्छ। त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेको भेटिन्छ।