टेस्लाको बिक्रीमा तीव्र गिरावट, अमेरिका र चीन लगायत विभिन्न देशमा घटायो मूल्य

बिजमाण्डू
२०८१ बैशाख १० गते ०८:५५ | Apr 22, 2024
टेस्लाको बिक्रीमा तीव्र गिरावट, अमेरिका र चीन लगायत विभिन्न देशमा घटायो मूल्य

टेस्लाले अमेरिका, चीन र जर्मनी लगायतका धेरै प्रमुख बजारहरूमा पुनः मूल्य घटाएको छ। कार बिक्रीमा गिरावट आएपछि अर्बपति इलोन मस्कको इलेक्ट्रिक कार कम्पनीले मूल्य समायोजन गरेको हो।

Tata
GBIME
Nepal Life

यो वर्षको पहिलो तीन महिनामा विश्‍वभर गाडीको डेलिभरीमा तीव्र गिरावट आएपछि कम्पनीले यस्तो कदम लिएको हो।

विद्युतीय सवारी (इभी) निर्माताहरूबीच मूल्य-युद्ध तीव्र हुँदै गएको छ। विशेष गरी चिनियाँ कम्पनीहरू कडा प्रतिस्पर्धामा उत्रिएका छन्।

टेस्लाले मंगलबार अमेरिकामा सेयर बजार बन्द भएपछि २०२४ को पहिलो त्रैमासिकको वित्तीय विवरणहरू सार्वजनिक गर्नेछ।

एक्स (ट्विटर)मा पोस्ट गर्दै मस्कले भनेका छन्, ‘माग र उत्पादनको सन्तुलन मिलाउन टेस्लाको मूल्यहरू बारम्बार परिवर्तन गर्नुपर्छ।’

चीनमा कम्पनीले परिमार्जित मोडेल ३ को प्रारम्भिक मूल्यमा १४ हजार युआन घटाएर २ लाख ३१ हजार ९०० युआनमा झारेको छ।

अमेरिकामा मोडल वाई, मोडल एक्स र मोडल एस गाडीको मूल्यमा शुक्रबार २ हजार डलर घटाइएको छ।

रोयटर्सका अनुसार युरोप, मध्य पूर्व र अफ्रिकाका अन्य धेरै देशहरूमा पनि मूल्य समायोजन भएको छ। टेस्लाले एक वर्ष पहिले नाफाको मार्जिन घटाएरै भएपनि आक्रामक रूपमा मूल्य कटौती गरेर ‘प्राइस-वार’ सुरु गरेको थियो।

चिनियाँ प्रतिद्वन्द्वी बीवाइडी र निओ लगायतले सस्तो मोडेलहरू ल्याउँदा टेस्ला आफ्नो पुरानो मोडेलहरूलाई परिमार्जन गर्न सुस्त देखिएको छ। चिनियाँ स्मार्टफोन निर्माता शाओमीले पनि गत महिना आफ्नो पहिलो इभी सार्वजनिक गरेको छ।

गत हप्ता टेस्लाले आफ्नो विश्वव्यापी कार्यबलको १० प्रतिशतभन्दा बढी कटौती गर्ने योजना घोषणा गर्‍यो।

शुक्रबार कम्पनीले सुरक्षा चुनौतीका कारण आफ्ना हजारौं नयाँ साइबरट्रकहरू फिर्ता बोलाएको छ। साइबरट्रकको एक्सेलेटर पेडलहरू भित्री ट्रिममा फसेर दुर्घटनाको सम्भावना बढ्ने देखिएपछि कम्पनीले गाडी फिर्ता बोलाएको हो।

यसबीच, टेस्लाको सेयर यस वर्षको सुरुदेखि ४० प्रतिशतभन्दा बढीले घटेको छ।