१३ महिनापछि नयाँ साझेदारीका साथ नेपाली बजारमा हिरोको कम ब्याक, चार बाइक सार्वजनिक

बिजमाण्डू
२०८१ बैशाख ९ गते १७:३६ | Apr 21, 2024
१३ महिनापछि नयाँ साझेदारीका साथ नेपाली बजारमा हिरोको कम ब्याक, चार बाइक सार्वजनिक

काठमाडौं। चौधरी ग्रुपले दुई पाङ्ग्रे बजारमा हिरो ब्रान्डका साथ आजबाट ‘कम ब्याक’ गरेको छ। कम्पनीले आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच हिरो ब्रान्डका बाइक सार्वजनिक गरेर दुई पाङ्ग्रे बजारमा कम ब्याक गरेको हो।

Tata
GBIME
Nepal Life

सहकार्यको बारेमा धारणा राख्दै हिरो मोटोकर्पका ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो। यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्‍वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ। हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो।’

उनले अब फेरि हिरो नेपालमा नम्बर वन टु ह्‍विलर ब्रान्ड बन्‍ने दाबी गरे। यसको लागि हिरो मोटोकर्प र सीजीले बलियो रूपमा योजनाहरू बनाएको उनको भनाइ छ। पहिले भएका कमीकमजोरीहरू पनि सुधार गर्दै जाने उनको भनाइ छ।

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो। हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं। हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्‍वस्तरीय दक्षता हाम्रो संचालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ। अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ।’

गत २०२३ फेब्रुवरीदेखि पुरानो बिक्रेता ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ (एनजीएम)सँग हिरो मोटोकर्पले आधिकारिक बिक्रेता टर्मिनेट गरेपछि चौधरी ग्रुपले पाएको थियो। अब दुई पाङ्ग्रे बजारमा राज गरिरहेका अन्य शंकर ग्रुप, एमएडब्लु ग्रुप, विशाल ग्रुप, त्रिवेणी ग्रुप र ज्योति ग्रुपसँग चौधरी ग्रुपले प्रतिस्पर्धा गर्नेछ। त्यही अनुसार कम्पनीले विभिन्‍न रणनीतिक रुपमा ज्योति ग्रुपको भन्दा फरक गर्ने योजनासहित हिरोको बिक्री सुरु गरेको हो।

साढे १३ महिनापछि हिरोका बाइक तथा स्कुटरको आजबाट नेपाली बजारमा पुन: बिक्री सुरु भएको छ। गत २०२३ फेब्रुवरीदेखि पुरानो बिक्रेता एनजीएमसँग हिरो मोटोकर्पले आधिकारिक बिक्रेता टर्मिनेटेड गरेपछि हिरोका बाइक तथा स्कुटरहरू नेपाली बजारमा बिक्री हुन सकेका थिएनन्।

४ वटा मोडल सार्वजनिक, इभी पनि छिट्टै आउँदै

आजदेखि कम्पनीले ४ वटा मोडलका बाइकहरू बजारमा ल्याएको छ। जसमा हिरोको बाइक सुपर स्प्लेन्डर, स्प्लेन्डर र एक्सपल्स छन् भने स्कुटरमा जुम रहेको छ। जुन स्कुटर आजै पहिलो पटक नेपाली बजारमा सार्वजनिक गरिएको हो।

कम्पनीले अन्य नयाँ मोडलहरु पनि बजारमा ल्याउने योजना बनाएको छ। जसमा यसको नयाँ फ्लागसिप बाइक म्याभ्रिक ४४० पनि छिट्टै नेपाल ल्याउने कम्पनीले जनाएको छ।

यस्तै, यसको इभी स्कुटर पनि नेपाली बजारमा एक वर्षभित्र आउने कम्पनीले जनाएको छ। सञ्जय भानले अबको एक वर्षभित्र इभी स्कुटरसहित अन्य बाइकहरू पनि नेपाली बजारमा भित्र्याउने बताए।

कम्पनीले मूल्य सस्तो राख्नको लागि एसेम्बल प्लान्ट संचालनमा ल्याएअनुसार हिरोका बाइकहरूको मूल्य निर्धारण गरेको छ। जसअनुसार एक्सपल्स २०० ४भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ कायम गरिएको छ। यसअघि एक्सपल्स २०० ४भीको मूल्य ४ लाख ५२ हजार ५०० रुपैयाँ थियो। अहिले २ हजार ५०० रुपैयाँ मात्रै घटाएको छ।

यस्तै, सुपर स्प्लेन्डरको मूल्य २ लाख ४० हजार ९०० रुपैयाँ तोकिएको छ। पहिले यो बाइकको मूल्य २ लाख ६६ हजार रुपैयाँ थियो। यसको मूल्य २५ हजार रुपैयाँ घटेको छ।

स्प्लेन्डर प्लसको २ लाख ६ हजार ९०० तोकिएको छ। यसको मूल्य यसअघि १ लाख ९५ हजार ५०० रुपैयाँ थियो। थियो। हाल १२ हजार रुपैयाँ बढेर आएको छ।

यस्तै, जुम स्कुटरको मूल्य २ लाख ४९ हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म रहेको छ।

७५ हजार युनिट क्षमताको एसेम्बल प्लान्ट

कम्पनीले नवलपरासीमा आफ्नो एसेम्बल प्लान्ट पनि संचालनमा ल्याइसकेको छ। उक्त एसेम्बल प्लान्टमा नै हिरोका बाइक तथा स्कुटरहरू उत्पादन हुनेछन्।

कम्पनीले यो प्लान्टबाट अहिले वार्षिक ३० हजार युनिट बाइक तथा स्कुटर उत्पादन गर्ने योजना बनाएको छ। पछि यो प्लान्टबाट ७५ हजार वटा बाइक तथा स्कुटर उत्पादन गर्ने सक्ने गरि विस्तार गर्न सकिने कम्पनीको दाबी छ।

कम्पनीले ४ बिघा जग्गामा उक्त प्लान्ट निर्माण गरेको छ। यसबाट अहिले नेपालमा नै बाइक एसेम्बल गरिरहेका अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न हिरोलाई सहज हुनेछ। कम्पनीले यो प्लान्टमा १६५ जनालाई रोजगारी दिने योजना बनाएको छ।

सीजीले नेपाल भरी आगामी ३ महिनामा १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने योजना बनाएको छ। यसैगरी, कम्पनीले हिरोका बाइकहरू नेपालभरी पुर्‍याउने योजना बनाएको छ। स्पेयर पार्ट्स पनि अबदेखि बजारमा सहज रुपमा उपलब्ध हुने कम्पनीले जनाएको छ।