गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैरसंवैधानिक क्रियाकलाप गरेको कांग्रेसको आरोप

बिजमाण्डू
२०८१ बैशाख ७ गते १६:२८ | Apr 19, 2024
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैरसंवैधानिक क्रियाकलाप गरेको कांग्रेसको आरोप

काठमाडौं। नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्तिलाई लिएर गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखमाथि गैरसंवैधानिक र घोर आपत्तिजनक क्रियाकलाप गरेको आरोप लगाएको छ।

Tata
GBIME
Nepal Life

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले शुक्रबार पत्रकार सम्मेलन गरी ती दुवै प्रदेशका प्रमुखले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका हुन्।

‘गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक र गैरसंवैधानिक भएको नेपाली कांग्रेसको ठहर छ,’ महतले भने।

गण्डकीमा सभामुखसमेतलाई गणना गरेर बहुमत दाबी गरी पेस गरिएको निवेदनका आधारमा प्रदेश प्रमुख डिल्लीराज भट्टले एमालेका खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री नियुक्त गरेका थिए।

यस्तै सुदूरपश्चिममा बहुमत सांसदसहित वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले पेस गरेको दाबीमा निष्कर्षमा पुग्न सकिएन भनेर प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न फेरि २ दिनको समय दिएका थिए। चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसले समर्थन गरेको थियो। तर त्यहाँ फेरि दिइएको समयमा दाबी पेस गरेका नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी बिहिबार मुख्यमन्त्री नियुक्त भएका छन्।

कांग्रेसले प्रदेश प्रमुखहरुले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संविधान उल्लंघन गरेको आरोप लगाएको छ। कांग्रेस प्रवक्ता महतले गण्डकीका प्रदेश प्रमुख भट्टमाथि संविधानका साथै सर्वोच्च अदालतको आदेशको समेत उल्लंघन गरेको आरोप लगाए।

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ। सर्वोच्चले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई मुद्दाको किनारा नलागेसम्म दीर्घकालीन महत्वका निर्णय नगर्न चैत २८ गते अन्तरिम आदेश दिएको थियो। अधिकारीको सिफारिसमा प्रदेश प्रमुख भट्टले प्रदेश सभाको अधिवेशन आह्‍वान गर्नुलाई कांग्रेसले सर्वोच्चको आदेशको उल्लंघन भनेको हो।

‘गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरेर प्रदेश प्रमुख र प्रदेश सरकारले संविधान र सर्वोच्च अदालतको आदेशको थप उल्लंघन गरेका छन्,’ महतले भने।