गृहमन्त्री रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग

बिजमाण्डू
२०८१ बैशाख ७ गते १६:०७ | Apr 19, 2024
गृहमन्त्री रवि लामिछाने जोडिएको सुप्रिम सहकारी ठगी प्रकरणमा ६ जनासँग धरौटी माग

काठमाडौं। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले ६ जनासँग धरौटी माग गरेको छ। न्यायाधीश दीपक उप्रेतीको इजलासले थुन्छेक बहसपछि ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

Tata
GBIME
Nepal Life

गत सोमबार २८ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसँग अदालतले ४ लाख रुपैयाँ धरौटी माग गरेको छ। सबैभन्दा धेरै आरोपी दुर्गा चापागाईंसँग १८ लाख रुपैयाँ धरौटी माग गरिएको छ।

त्यस्तै, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार रुपैयाँ, नवीन अछामीसँग १० लाख रुपैयाँ, तिता थापा मगरसँग २ लाख रुपैयाँ र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरिएको छ। उनीहरू धरौटी रकम बुझाएपछि रिहा हुने छन्। तर दीपेश पुनको हकमा भने ६१ किलो सुनमा समेत सीआइबीले अनुसन्धान गरिरहेकाले रुपन्देहीबाट काठमाडौं पठाइने छ।

आरोपी ओमप्रकास गुरुङलाई भने थुनामा पठाउने आदेश भएको छ।

आरोपीमध्ये एक गोर्खा मिडिया प्रालि (ग्यालेक्सी टिभी) का अध्यक्ष गितेन्द्र बाबु राई (जीबी) समेत रहेका छन्। जीबी सहकारीका पूर्व अध्यक्ष पनि हुन्।

उनलाई पक्राउ पुर्जी जारी गरि समात्न अदालतले आदेश दिएको छ। राईविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। त्यस्तै प्रहरीले राईलाई खोजी गर्ने रेड नोटिस समेत जारी गरेको छ।

सुप्रिम सहकारीसँगै सूर्यदर्शन सहकारीमा जोडिएर थुनामा रहेकालाई झिकाउन आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।

सुप्रिम सहकारीबाट गृहमन्त्री रवि लामिछानेले २ करोड रुपैयाँ गोर्खा मिडिया प्रालिको नाममा प्रक्रिया पूरा नगरी ऋण लिएको खुलेको छ। तर उनीमाथि कुनै पनि अनुसन्धान भएको छैन। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले लामिछानेमाथि अनुसन्धान हुनुपर्ने भन्दै सदनदेखि सडकसम्म आन्दोलन गरिरहेको छ।