पूर्वका राजस्व कार्यालय लक्ष्यमा असफल, भद्रपुरले अन्तःशुल्क ५८% भन्दा उठाउन सकेन

अनन्तराज न्यौपाने
२०८१ बैशाख ७ गते १५:३९ | Apr 19, 2024
पूर्वका राजस्व कार्यालय लक्ष्यमा असफल, भद्रपुरले अन्तःशुल्क ५८% भन्दा उठाउन सकेन

विराटनगर। पूर्वका ३ मुख्य राजस्व कार्यालय चालु आर्थिक वर्ष ९ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएका छन्। आर्थिक शिथिलताले औद्योगिक उत्पादनमा ह्रास र आयातमा कमीले लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको हो।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष चैत मसान्तसम्म विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्यको ८७, सुनसरीको इटहरीस्थित कार्यालयले ८५ र झापाको भद्रपुर कार्यालयले ८३ प्रतिशत असुली गरेका छन्।

विराटनगर कार्यालयले ६ अर्ब ५३ करोड ६३ लाखको लक्ष्यमा ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ संकलन गरेको छ। अन्तःशुल्कमा १०१ प्रतिशत प्रगति भएको छ। अन्तःशुल्कको १ अर्ब ७३ करोड १ लाखको लक्ष्यमा १ अर्ब ७५ करोड ४१ लाख संकलन भएको छ।

कार्यालयले २ अर्ब ४० करोड ६८ लाख आयकरको लक्ष्यमा २ अर्ब ३ करोड ७ लाख संकलन गरेको छ। मूअकरतर्फ २ अर्ब २२ करोड २३ लाखको लक्ष्यमा १ अर्ब ६६ करोड ७ लाख संकलन भएको छ।

विराटनगर कार्यालयका प्रमुख डा. डीबी क्षत्रीले होजियारी लगायत उद्योगले प्रयोग गर्ने कटन फेब्रिकमा चालु आर्थिक वर्षदेखि भन्सार कार्यालयले नै मूअकर असुल गर्न थालेकाले कार्यालयको लक्ष्य प्रभावित भएको बताए।

कटन फेब्रिकबाट होजियारी लगायत कपडा उत्पादन भएपछि ती उत्पादनको विक्रीमा मूअकर लाग्दै आएको थियो। कटन फेब्रिकको आयातमा भन्सार कार्यालयले मूअकर संकलन गर्ने प्रावधान गत आर्थिक वर्षसम्म थिएन।

चालु आवदेखि भने होजियारी उद्योगले कटन फेब्रिकको आयातमै भन्सार कार्यालयमा मूअकर तिर्नुपर्छ। यसरी आयात गरिएको कटन फेब्रिकबाट तयारी कपडाको उत्पादन भएपछि उद्योगले त्यसमा लाग्ने मूअकरमा पहिले तिरेको मूअकरबाट क्रेडिट पाउँछ। यसकारण राजस्व कार्यालयले होजियारी उद्योगबाट क्रेडिट भई आएको थोरै मूअकर मात्र संकलन गर्छ।

इटहरीस्थित राजस्व कार्यालयले ९ महिनामा ३ अर्ब ८६ करोड १३ लाखको लक्ष्यमा ३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ संकलन गरेको छ।

कार्यालय प्रमुख अर्जुन न्यौपानेले आयकरतर्फ १ अर्ब ९८ लाखको लक्ष्यमा १ अर्ब ८१ लाख, मूअकरतर्फ १ अर्ब १३ करोड ३९ लाखको लक्ष्यमा ८९ करोड ४ लाख र अन्तःशुल्कतर्फ १ अर्ब ६४ करोड ६७ लाखको लक्ष्यमा १ अर्ब ३७ करोड २२ लाख संकलन गरेको जानकारी दिए।

यस्तै भद्रपुरस्थित आन्तरिक राजस्वले चैतसम्म २ अर्ब ६१ करोड ६४ लाखको लक्ष्यमा २ अर्ब १६ करोड ३० लाख मात्र संकलन गर्न सकेको छ। ९० करोड ८२ लाख मूअकरको लक्ष्यमा ७५ करोड ७८ लाख र १ अर्ब २३ करोड ७० लाख आयकरको लक्ष्यमा १ अर्ब १३ करोड संकलन गरेको तथ्यांक छ।

भद्रपुर कार्यालयले अन्तःशुल्क असुलीमा सबैभन्दा बढी चोट खाएको छ। चैत महिनासम्म ४७ करोड १० लाख अन्तःशुल्क उठाउने लक्ष्य रहेकामा ५८ प्रतिशत अर्थात २७ करोड ५२ लाख मात्र संकलन भएको छ।

कार्यालय प्रमुख कृष्णचन्द्र काफ्लेका अनुसार यस क्षेत्रका माछापुच्छ्रे डिस्टिलरी र किंग्स लिकर्स गरी २ मदिरा उद्योग यसै वर्षदेखि बन्द छन्। त्यस्तै प्रति किलो ५० पैसा अन्तःशुल्क तिर्दै आएका सनराइज, काबेली, मित्तल र मनसा सिमेन्ट उद्योग पनि बन्द छन्। यसको असर अन्तःशुल्क संकलनमा परेको हो ।