अधुरै रह्यो फेरि एसिया कप खेल्ने नेपालको सपना, सेमिफाइनलमा यूएईसँग पराजित

बिजमाण्डू
२०८१ बैशाख ७ गते १५:१६ | Apr 19, 2024
अधुरै रह्यो फेरि एसिया कप खेल्ने नेपालको सपना, सेमिफाइनलमा यूएईसँग पराजित
यूएईविरुद्ध फिल्डिङमा नेपाली क्रिकेट टोली। तस्बिर: एसीसी

काठमाडौं। गतवर्ष एसिया कपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको नेपाली क्रिकेट टोली अर्को संस्करणमा भने नहुने भएको छ। एसियाका शीर्ष एसोसिएट टोलीको एसिया कप पुग्ने एउटै बाटोका रुपमा रहेको एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज पराजित भएसँगै नेपालको लगातार दोस्रो पटक एसिया कप खेल्ने सपना अधुरै रहेको हो।

Tata
GBIME
Nepal Life

ओमनमा जारी प्रिमियर कपको आज सम्पन्न सेमिफाइनल खेलमा यूएईले नेपाललाई ६ विकेटले हरायो। यूएई फाइनलमा प्रवेश गरेको छ। अब यूएईले ओमन र हङकङबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ। अर्कोतर्फ समूह चरणमा अपराजित रहेर सेमिफाइनल पुगेको नेपालको भने एसिया कप खेल्ने सम्भावना सकिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै १२० रनको सामान्य स्कोर खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो।

विकेट सेलिब्रेट गर्दै ललितनारायण राजवंशी। तस्बीर: एसीसी

नेपालले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा यूएईका ओपनर अलिसान सरिफूले सर्वाधिक अविजित ५५ रन बनाए। त्यस्तै विष्णु सुकुरमणले २८, सइद हैदरले १४ तथा मोहम्मद वसीमले ११ रन बनाए।

बलिङतर्फ नेपालका गुल्सन झाले २ तथा सोमपाल कामी र ललित राजवंशीले समान १ विकेट लिए पनि यूएईलाई लक्ष्यमा पुग्न रोक्न सकेनन्।

नेपालको इनिङ्स

पहिलो सेमिफाइनल खेलमा नेपालले यूएईलाई १ सय २० रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालको ब्याटिङ सन्दीप जोरामा पूर्णतय निर्भर बन्यो।

ओमनस्थित अल अमेरत स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले यूएईको कसिलो बलिङ सामू निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रनमा समेटियो।

यूएईविरुद्ध ब्याटिङ गर्दै सुन्दिप जोरा। तस्बिर: एसीसी

सुरुवाती ब्याटिङमा उत्रिएको नेपालले सुरुबाटै संघर्ष गर्‍यो। ओपनर कुशल भुर्तेल रोयल डकआउट हुँदा दबाबमा आएको नेपालले आफ्नो पक्षमा मोमेन्टमा ल्याउन सकेन।

अर्का ओपनर आशिफ शेख पनि ३.३ ओभरमा ८ रन बनाएर ओमिद साफी रहमानको बलमा आउट भए। त्यस्तै, १८ बलमा मात्र ५ रन बनाएर कप्तान रोहित पौडेल आउट हुँदा नेपाल ६.६ ओभरमा ३८.३ को अवस्थामा थियो।

लगत्तै आएका कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पनि दोहोरो अंकको रन जोड्न सकेनन्। मल्लले ३ र ऐरीले ५ रन बनाए।

सुरुबाटै संकटमा परेको नेपालको इनिङ्सलाई माथि लग्न सुन्दीप जोराको एकल प्रयास रहँदा उनलाई सहयोग गर्न अन्य ब्याटरले ठूलो योगदान गर्न सकेनन्।

जोरा ४० बलमा सर्वाधिक ५० रन बनाएर १४.४ ओभरमा मोहम्मद फारुकको बलमा कप्तान मोहम्मद वसीमबाट क्याचआउट भए। लगत्तै आएका सोमपाल कामी पनि दुई रन बनाएर पेभेलियन फर्किए।

नेपाली ब्याटरलाई सामान्य स्कोरमै समेटेका यूएईका बलर। तस्बिर: एसीसी

नेपालको स्कोर उकास्न जोरा पछि गुल्सन झा र करण केसीको योगदान रह्यो। झाले १६ बलमा २० रन बनाउँदा करण केसीले १२ बलमा १७ रन बनाए।

नेपालको ब्याटिङ धराशायी बनाउन यूएईका जुनैद सिद्धिकी, अली नासर र बसील हमीदले समान २ विकेट लिँदा ओमिद सफी रहमान, आयन अफ्जल खान र मोहम्मद फारुकले समान १ विकेट लिए।