एमाले अध्यक्ष ओली माधव नेपालसँग किन पटक पटक झुक्न बाध्य बनिरहेका छन्?

नेत्र तामाङ
२०८१ बैशाख ७ गते १५:०८ | Apr 19, 2024
एमाले अध्यक्ष ओली माधव नेपालसँग किन पटक पटक झुक्न बाध्य बनिरहेका छन्?
एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको संसदीय दलको बैठकमा

काठमाडौं। पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादी गठन गरेपछि माधव नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीको तारो बने। उनले नेपालको नाम लिनै चाहँदैनथे। नाम लिइहाले मुख कुल्ला गर्छु भन्थे।

Tata
GBIME
Nepal Life

उनै ओलीले सत्ता समीकरणका कारण नेपालसँग पटकपटक झुक्न थालेका छन्।

फागुन २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस छाडेर एमाले रोजेपछि सत्ता जोगाउन ओली नेपाल निवास कोटेश्वर पुगे।

त्यतिबेला एकीकृत समाजवादीले साथ नदिए सरकारको निरन्तरता हुने निश्चित थिएन। किनभने जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव एकीकृत समाजवादीको निर्णय पर्खेर बसेका थिए।

प्रतिनिधि सभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन्। जसपाले एकीकृत समाजवादीको निर्णय कुर्नुको मुख्य कारण मधेश प्रदेश सरकार जोगाउनु थियो। मधेशमा एकीकृत समाजवादीले साथ छाड्नसाथ जसपा नेतृत्वको सरकार संकटमा पर्छ।

प्रचण्डले फेरेको समीकरण जोगाउन ओली जसरी कोटेश्वर पुगेर नेपालसामु झुकेका थिए, उनले अहिले सुदूरपश्चिम सरकार निर्माणका क्रममा पनि आफ्नो अडान छोड्नु परेको छ। नेपालको प्रस्ताव अनुसार मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारीलाई स्वीकार गर्न ओली बाध्य भएका छन्।

ओलीको दबाबमा वैशाख २ गते सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्तिलाई दिने सहमति सत्ता गठबन्धनमा भएको थियो। नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता चौधरीले कैलाश चौधरीलाई अगाडि सारि्न। तर एकीकृत समाजवादीले कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिका रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्‍यो।

भोलिपल्टै संसदीय दलको बैठक डाकेर ओलीले नेपालमाथि रोष पोखे। ‘अराजनीतिक प्रवृत्ति बहुतै हावी भएको छ। एस भन्ने पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने। कांग्रेसलाई जिताउने हिसाबले जाने हो, यो समीकरणलाई कमजोर बनाउने हो भने नागरिक उन्मुक्तिलाई पनि दिन सक्ने,’ ओलीले बैठकमा भने, ‘मुख्यमन्त्रीको दाबी गर्ने कुरामा एस नामको पार्टीले अराजनीतिक काम गरिदियो।’

एकीकृत समाजवादीले सुदूरपश्चिममा संघीय गठनबन्धनविपरीत कांग्रेससँग मोर्चा कसेर लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको थियो।

यही विषयलाई लिए नेपालमाथि ओली खनिएका हुन्। नेपालले हरेक विषयमा किचकिच गर्न थालेको ओलीको भनाइ थियो। ‘जुन सही दिशामा राजनीति फर्किंदै थियो। त्यसमा आन्तरिक रुपमा विपक्षीहरुमा आशा पलाउने गरी जनतामा आशंका, निराशा पैदा हुने गरी कदम चाल्यो। आन्तरिक रुपमा त्यसका बोली व्यवहार र बार्गेनिङ त्यस्तो छँदै थियो,’ ओलीले भने, ‘एस पार्टीको दक्षिणपन्थी चरित्र नाँगो ढंगले प्रकट भयो। कम्युनिस्ट साइनबोर्ड राख्ने, अगाडि नेकपा राख्ने, काम चाहिं दक्षिणपन्थीको पक्षमा गर्ने।’

एकिकृत समाजवादी मुख्यमन्त्री आफूले पाउने सर्तमा कांग्रेसँगको गठबन्धनबाट बाहिरिन सहमत भयो। उसले सोडारीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सार्‍यो। तर ओलीले सोडारीको नाममा सहमति जनाउन सहजै मानेनन्।

ओलीको आनाकानीपछि नेपाल बुधबार राति कोटश्वबाट बुढानिलकण्ठ पुगे। कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले नमानेको खण्डमा सोडारीलाई मुख्यमन्त्री बनाउन आफ्नो पार्टीले सघाउने बचन दिए।

सुदूरपश्चिममा एकीकृत समाजवादी कांग्रेससँग मिले संघीय गठबन्धन धरापमा पर्ने निष्कर्षमा अन्तत: ओली नेपालसामू झुक्न बाध्य भए, एकीकृत समाजवादीका सोडारीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाए।

किन पटकपटक झुक्न बाध्य भए?

एकीकृत समाजवादी अहिले केन्द्रदेखि प्रदेश सरकार निर्माणमा ‘कि फ्याक्टर’ बनेको छ। एकीकृत समाजवादीसँग कोशीमा ४, मधेशमा ७, बागमतीमा ७, गण्डकीमा १, लुम्बिनीमा १, कर्णालीमा १ र सुदूरपश्चिममा ४ सांसद छन्।

सांसद संख्या कम भए पनि एकीकृत समाजवादी मधेश, बागमती, गण्डकी र सुदूरपश्चिममा सरकार गठनका लागि ‘कि फ्याक्टर’ हो।

गण्डकीमा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन एकीकृत समाजवादीका दीपक मनाङे नभइ भएन। ओलीको स्वास्थ्य अवस्थामाथि टिप्पणी गरेर एकीकृत समाजवादी पसेका मनाङेलाई एमालेले मन्त्री पद दिइसकेको छ। सभामुखलाई समेत जोडेर बहुमत पुर्‍याइ अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेको विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रदेश सभामा पार्टीहरुको अवस्था

प्रदेशकुलनेपाली कांग्रेसनेकपा एमालेमाओवादी केन्द्रराप्रपाएकीकृत समाजवादीजसपाजनमतलोसपानागरिक उन्मुक्तिनेमकिपाहानेपानेसपाजनमोर्चास्वतन्त्र
कोशी९३२९४०१३        
मधेश१०७२२२५१९१३    
बागमती११०३७२७२११३       
गण्डकी६०२७२२       
लुम्बिनी८७२९२७११    
कर्णाली४०१४१०१३        
सुदूरपश्चिम५३१८१०११       
कुल५५०१७६१६१८५२८२५२३१६१२१२

गठबन्धन जोगाउन नसके संघदेखि प्रदेशसम्म फेरि पनि सरकार बाहिर रहनुपर्ने अवस्थाका कारण ओलीसँग झुक्न बाध्य भएको एकीकृत समाजवादीका नेताहरुको बुझाइ छ। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पटकपटक अवमूल्यन गरेपनि सत्ताबाट पार्टी बाहिरिने भय टार्न ओली फेरि नेपालसँग झुकेको बताउँछन्।

नागरिक उन्मुक्ति पार्टीले पनि खतिवडाकै भनाईलाई सदर गरेको छ। ‘गठबन्धन जोगाउनकै लागि हामीले मुख्यमन्त्री छाड्यौं, उहाँहरुले पनि एकीकृत समाजवादीलाई रोज्नुभयो,’ नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले भनिन्।

राजनीतिक विश्लेषक प्राडा लोकराज बराल दाहालपछि प्रधानमन्त्री हुने लाइनमा रहेकोले ओली नेपालसामु झुक्न बाध्य भएको बताउँछन्। ‘ओली फेरि प्रधानमन्त्री बन्न चाहन्छन्। यसका लागि उनलाई नेपालको साथ नभइ हुँदैन,’ बराल भन्छन्, ‘बाहिर जेजति भने पनि सुदूरपश्चिममा नमिले गठबन्धन भताभुङ्ग हुन्छ।’