भारतमा आजदेखि लोकसभा निर्वाचन, ९६ करोड बढी मतदाता, ५५ लाख विद्युतीय भोटिङ मेसिन

बिजमाण्डू
२०८१ बैशाख ७ गते ०८:४९ | Apr 19, 2024
भारतमा आजदेखि लोकसभा निर्वाचन, ९६ करोड बढी मतदाता, ५५ लाख विद्युतीय भोटिङ मेसिन
Photo : Getty Images

भारतमा आज देखि लोकसभा निर्वाचन सुरु भएको छ। २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान हुँदैछ।

Tata
GBIME
Nepal Life

सात चरणमा हुने निर्वाचनलाई विश्वकै सबैभन्दा ठूलो चुनावी महाकुम्भका रुपमा अर्थ्याइएको छ। पहिलो चरणमा आज अरुणाचल, असम, बिहार, महाराष्ट्र, मेघालय, उत्तरप्रदेश, उत्तराखण्ड लगायतका राज्यको १०२ सिटमा निर्वाचन भइरहेको छ। तमिलनाडूको सबै ३९ सिटमा पहिलो चरणमा नै मतदान हुँदैछ।

निर्वाचनमा सुरक्षा सतर्कतालाई ध्यान राख्दै मतदान हुने राज्यसँग जोडिएको नेपाली सीमा बन्द गरिएको छ।

२६ अप्रिलमा ८८ सिट, ७ मेमा ९५ सिट, १३ मेमा ९६ सिट, २० मेमा ४९ सिट, २५ मेमा ५७ सिट र १ जुनमा ५७ सिटका लागि मतदान हुनेछ। विद्युतीय मेसिनबाट हुने मतदानको नतिजा जुन ४ मा घोषणा हुनेछ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउका साथ चुनावी प्रतिस्पर्धामा छन्। उनी फिर एक बार मोदी सरकार नाराका साथ ४०० बढी सिट ल्याउने दाबी गरिरहेका छन्।

विपक्षी गठबन्धनसँग प्रधानमन्त्रीका लागि उम्मेदवार नहुँदा त्यसको फाइदा भारतीय जनता पार्टीले उठाइरहेको छ। यद्यपि, भाजपाले भने जस्तै ४०० सिट जनताले नदिने इन्डिया गठबन्धनको दाबी छ।

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारतमा यो निर्वाचनमा मतदानका लागि ९६ करोड ८८ लाख २१ हजार ९२६ जना योग्य छन्। १ करोड ८० लाखले पहिलोपटक मतदान गर्दैछन्।

मतदानका लागि करिब १५ लाख मतदान बुथहरु स्थापना गरिएको छ। देशभर ५५ लाख विद्युतीय भोटिङ मेसिनबाट मतदानका लागि व्यवस्था गरिएको छ।

निर्वाचनकै लागि भारतको निर्वाचन आयोगले १ करोड ५० लाख जनशक्ति खटाएको छ। निर्वाचन सम्पन्न गराउन खटिएका कमर्चारीका लागि करिब ४ लाख गाडी प्रयोग हुनेछन्।