इण्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ। कोलकातास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीलाई २ विकेटको झिनो अन्तरले हराउँदै राजस्थान विजयी भएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले अन्तिम बलसम्म संघर्ष गर्दै लक्ष्य भेट्टाएको हो।
सुरुवाती ब्याटिङमा उत्रिएको कोलकाताका लागि ओपनर सुनिल नारायणले शतकीय इनिङ्स खेल्दै सर्वाधिक १०९ रन बनाए। त्यसबाहेक अङक्रिस रघुवंशीले ३० तथा रिंकु सिंहले अविजित २० रन बनाए।
बलिङतर्फ राजस्थानका आभेस खान र कुलदीप सेनले समान २ विकेट लिँदा ट्रेन्ट बोल्ट र युजवेन्द्र चहलले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थानलाई लक्ष्यसम्म पुर्याउन जोसबट्लरले शतकीय इनिङ्स खेले। उनले अविजित १०७ रन बनाउँदा रियान परागले ३४ तथा रोभमन पवेलले २६ रन बनाए।
बलिङतर्फ कोलकाताका वरुण चक्रवर्ती, सुनिल नारायण र हर्षित रानाले समान २ तथा वैभव अरोराले १ विकेट लिए पनि टोलीलाई लक्ष्यसम्म पुग्न रोक्न सकेनन्।
जितसँगै राजस्थानले अंकतालिकामा ४ अंकको अग्रता बनाएको छ। ७ खेलमा राजस्थानले १२ अंक जोड्दै शीर्ष स्थानमा रहँदा दोस्रो, तेस्रो र चौथो स्थानका कोलकाता, चेन्नाइ र हैदराबादको समान ८ अंक छ।
आईपीएलमा आजराति दिल्ली क्यापिटल्स र गुजरात टाइटन्स अहमदाबादमा साँझ पौने ८ बजे भिड्नेछन्।