सहकारी ठग र गृहमन्त्री एउटै हुन् भनेर जाँच्ने क्षमता प्रहरीमा देखिएन : गगन थापा

बिजमाण्डू
२०८१ बैशाख ४ गते १५:३९ | Apr 16, 2024
सहकारी ठग र गृहमन्त्री एउटै हुन् भनेर जाँच्ने क्षमता प्रहरीमा देखिएन : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रहरीको अनुसन्धान विश्वसनीय नभएकै कारण सहकारी ठगी प्रकरणमा संसदीय समिति माग गरिएको बताएका छन्। संवादयात्राको क्रममा कञ्चनपुरको पुनर्वास पुगेका थापाले सोमबार रुपन्देही जिल्ला अदालतमा दायर भएको मुद्दाबाट यसको पुष्टि भएको बताएका हुन्।

Tata
GBIME
Nepal Life

‘सहकारीको रकम अपचलन भएको छ। यो विषयमा प्रहरीले गरेको अनुसन्धान विश्वसनीय छैन। यसैले यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ भनेर हामीले भनेका हौ,’ थापाले भने, ‘हामीले भनेको कुरा हिजो प्रमाणित भयो। सरकारी वकिलले अदालतमा प्रहरीको अनुसन्धानको आधारमा मुद्दा दायर गर्‍यो।’

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन। यद्यपि प्रतिवेदनमा लामिछानेले २ करोड रुपैयाँ अपचलन गरेको उल्लेख छ।

कानुनको शासन स्थापना गर्नका लागि संसदीय समिति आवश्यक भएको गगनको तर्क रह्यो। ‘सर्वसाधारणले कुनै कुरा गर्दा गल्ती वा अपराध मानेर सजाय पाउँछ भने शक्तिशालीले पनि पाउनैपर्छ,’ थापाले भने, ‘कानुनको शासन स्थापनाका लागि हामीले संघर्ष गर्नैपर्छ।’

प्रहरीले तयार पारेको प्रतिवेदनमा सुप्रिम सहकारीबाट करोडौं लिए पनि प्रतिवादी नबनाएकोले समिति बनाउनै पर्ने गगनले बताए। ‘सहकारीमा ठगी गर्ने रवि लामिछाने र गृहमन्त्री रवि लामिछाने एउटै हो कि हैनन् भनेर जाँच्ने क्षमता छैन भनेर प्रहरीले भनेपछि हामीले खोज्नुपर्‍यो कि परेन?’ गगनले भने, ‘त्यसैले हामीले संसदीय छानबिन समिति खोजेको हो। कानुनभन्दा माथि कोही हुँदैन।’