भारतले एक वर्षमा निर्यात गर्‍यो ४५ लाख सवारीसाधन, खस्कियो कमर्सियल र दुई पाङ्ग्रेको व्यापार

बिजमाण्डू
२०८१ बैशाख ३ गते ११:५३ | Apr 15, 2024
भारतले एक वर्षमा निर्यात गर्‍यो ४५ लाख सवारीसाधन, खस्कियो कमर्सियल र दुई पाङ्ग्रेको व्यापार

काठमाडौं। गत आर्थिक वर्ष २०२३-२४ मा भारतमा सवारीसाधनको निर्यात ५.५ प्रतिशतले घटेको छ। एक वर्षमा ४५ लाख ४९२ वटा सवारीसाधन निर्यात भएको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष ४७ लाख ६१ हजार २९९ थियो।

Tata
GBIME
Nepal Life

दुईपाङ्ग्रे सवारीसाधनको निर्यात भने ५.३ प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष दुईपाङ्ग्रे सवारीसाधन ३४ लाख ५८ हजार ४१६ वटा निर्यात भएको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष ३६ लाख ५२ हजार १२२ थियो।

त्यसैगरी, कमर्सियल सवारीसाधनको निर्यात १६ प्रतिशतले घटेको छ। यस्ता सवारीसाधन अघिल्लो आर्थिक वर्ष ७८ हजार ६४५ वटा निर्यात भएकामा गत वर्ष ६५ हजार ८१६ वटामा सीमित भएको तथ्यांक छ।

तीनपाङ्ग्रे सवारीसाधनको निर्यात १८ प्रतिशतले घटेको छ। यस्ता सवारीसाधन २ लाख ९९ हजार ९७७ युनिट निर्यात भएको छ।

अटोमोबाइल उत्पादकहरूको संस्था सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्स (सियाम)ले विदेशी बजारमा मौद्रिक सङ्कटका कारण सवारीसाधनको निर्यातमा कमी आएको बताएको छ।

सियामका अध्यक्ष विनोद अग्रवालले कमर्सियल सवारीसाधन र दुईपाङ्ग्रे सवारी खपत हुने केही देशले विदेशी मुद्राको समस्या झेलिरहेको बताए। नेपालमा पनि दुई पाङ्ग्रे र कमर्सियल गाडीको व्यापार ७० प्रतिशतले घटेको छ।

भारतमा गत आर्थिक वर्ष प्यासेन्जर सवारीसाधनको निर्यात १.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ६ लाख ६२ हजार ७०३ वटा प्यासेन्जर सवारीसाधन निर्यात भएकामा भारतले गत वर्ष ६ लाख ७२ हजार १०५ वटा अन्य देशमा पठाएको छ।

मारुती सुजुकीले समीक्षा अवधिमा २ लाख ८० हजार ७१२ वटा सवारीसाधन निर्यात गरेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षमा २ लाख ५५ हजार ४३९ थियो।

हुन्डाई मोटर इन्डियाले गत आर्थिक वर्ष १ लाख ६३ हजार १५५ युनिट सवारीसाधन निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष उसले १ लाख ५३ हजार १९ सवारीसाधन निर्यात गरेको थियो। किया मोटर्सले गत वर्ष ५२ हजार १०५ सवारी साधन निर्यात गरेको छ।

गत आर्थिक वर्ष भारतबाट फक्सवागन ४४ हजार १८०, निसान ४२ हजार ९८९ र होन्डा कार ३७ हजार ५८९ वटा निर्यात भएको तथ्यांक छ।