सुदूरपश्चिममा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बन्न माओवादीको प्रस्ताव, विकल्पमा दीर्घ

नेत्र तामाङ
२०८० चैत्र २९ गते १५:१७ | Apr 11, 2024
सुदूरपश्चिममा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बन्न माओवादीको प्रस्ताव, विकल्पमा दीर्घ

काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको छ। भौतिक मन्त्रालसहित नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति संघीय स्तरमा भइसकेको अध्यक्ष रञ्जिता श्रेष्ठ निकट नेता श्याम बमले बताए।

Tata
GBIME
Nepal Life

‘मुख्यमन्त्री र भौतिक मन्त्री लिएर हामी सरकारमा जाने सहमति भइसकेको छ,’ सूदुरपश्चिम प्रदेशका पार्टी सचिवसमेत रहेका नेता बमले भने। घनश्याम चौधरीलाई कारबाही गरी रञ्जिताले हालै कैलाशलाई संसदीय दलको नेता बनाएका हुन्।

नागरिक उन्मुक्तिमा अहिले ६ सांसद् छन्। कारबाही गरिएका इन्दिरा गिरीको ठाउँमा पार्टीले नयाँ सांसद चयन गरेका छैनन्।

अल्पमतमा पर्ने देखिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएसँगै चैत २३ गते प्रदेश प्रमुख नजिर मियाँले १० दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

सरकार गठन कहिले हुन्छ त? ‘शुक्रबार फाइनल हुने कुरा छ,’ बमले भने।

मुख्यमन्त्री नियुक्तिका लागि २७ सदस्यको समर्थन चाहिन्छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन्।

नयाँ सरकार निर्माणमा लागि परेको माओवादी केन्द्रले भने नागरिक उन्मुक्तिकै कारण ढिलाई भइरहेको आरोप लगाएको छ। ‘नागरिक उन्मुक्तिमा विवाद हुँदा अन्योल छ सरकार कसको नेतृत्वमा बन्नेबारे,’ माओवादी केन्द्रका संसदीय दलका नेता मनबहादुर धामीले भने।

रेशम चौधरी र रञ्जिताको विवादका कारण नागरिक उन्मुक्तिले नयाँ सरकारमा जाने या पुरानै सरकारमा बस्ने निर्णय गर्न सकेको छैन। यसबारे निर्णय लिन रञ्जिता सुदूरपश्चिम पुगेकी थिइन्। संघीय गठबन्धनमा माओवादी एमाले गठबन्धनलाई सहयोग गरेकाले सुदूरपश्चिममा पनि यही गठबन्धनलाई साथ दिनुपर्ने अडानमा रञ्जिता छिन्। रेशम भने कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिनुपर्ने अडानबाट पछि हटेका छैनन्।

यही ‘टसल’का कारण अध्यक्ष श्रेष्ठले रेशम पक्षका संसदीय दलका नेता घनश्यामलाई जिम्मेवारी खोसेकी थिइन् भने समानुपातिक सांसद गिरीलाई पदमुक्त नै गरिदिएकी थिइन्। रेशमले रञ्जिताको पछिल्लो कदमबारे मुख खोलेका छैनन्।

कारबाही गरिएका सांसदहरुले साथ नदिएमा नागरिक उन्मुक्तिसहितको गठबन्धनलाई नयाँ सरकार बनाउन मुश्किल पर्ने देखिएको छ।

आफूहरुले मुख्यमन्त्री यसअघि नै ‘अफर’ गरिसकेको तर निर्णय आइनसकेको धामीले बताए। ‘नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिइसकेको हो। तर निर्णय आइसकेको छैन,’ धामीले भने। शुक्रबारसम्म आफूहरुले पर्खने उनले बताए। नभए एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिने तयारी गठबन्धनले गरेको छ। एकीकृत समाजवादीले दीर्घा सोडारीलाई नेतृत्वमा अगाडि बढाउने तयारी गरेको छ।

‘सरकार हाम्रै नेतृत्वमा बन्नुपर्छ भन्ने हाम्रो माग हो, हाम्रो नेतृत्वमा सरकार बने दलका नेता दीर्घा सोडारी मुख्यमन्त्री बन्नुहुन्छ,’ एकीकृत समाजवादी सुदूरपश्चिमका संसदीय दलका उपनेता प्रकाश रावलले भने।